१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

चीनले एकपक्षीय रूपमा दुई सातादेखि बन्द राखेको केरुङ नाका खोल्न सरकारले चिनियाँ सरकारलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ल्हासास्थित महावाणिज्य दूतावासमार्फत नाका सुचारु गर्न आग्रह गरेको हो। चीनबाट सामान आयात रोकिएपछि नाका सुचारु गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। ‘केरुङ नारा सुचारु गर्न उच्च सरकारी तहबाट पहल भइरहेको छ,’ लम्सालले भनिन्, ‘छिट्टै नाका खुल्नेमा विश्वस्त छौं।’

विभिन्न बहाना बनाउँदै चिनियाँ पक्षले पटक–पटक बन्द गर्दै आएको केरुङ नाका पछिल्लोपटक तिब्बतर्फ ल्होसार पर्वको कारण देखाउँदै गत माघ २९ गतेदेखि बन्द छ। नाका खोल्ने विषयमा आइतबार पनि सरकारी तहबाट पहल भएको परराष्ट्रले जनाएको छ। ‘चिनियाँ पक्ष सकारात्मक देखिएको छ,’ लम्सालले भनिन्, ‘एक–दुई दिनमा खुल्नेमा आशावादी छौं।’

नाका बन्द भएपछि चीनबाट नेपालका लागि आयात गरेर ल्याएको सामान रोकिएका छन्। कोभिड–१९ पछि करिब एक वर्षसम्म नाका बन्द जस्तै थियो। पछिल्लो समय दैनिक पाँच गाडी आउने गरेकामा दुई सातादेखि त्यो पनि रोकिएको रसुवागढी भन्सारका प्रमुख रामप्रसाद घिमिरेले बताए। ‘कोभिडपछि दैनिक पाँचवटा गाडी आइरहेको थियो,’ घिमिरेले भने, ‘एकतर्फी रूपमा नाका बन्द भएपछि आयात ठप्प छ।’ चीनबाट सानो परिणाममा सामान आयात भए पनि निर्यात भने ठप्प छ। विगतमा चीनबाट आउने धेरै सामान चिनियाँ ठेकदार कम्पनीका रहेको भन्सारले जनाएको छ।

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनले विभिन्न समयमा नाका बन्द गरेर असहयोग गरेको भन्दै व्यापारीले गुनासो गर्दै आएका छन्। चीनसँगका प्रमुख दुई नाका केरुङ र तातोपानी नाका पटक–पटक बन्द हुँदा नेपाली व्यापारीले चीनबाट ल्याएका सामान महिनौंसम्म सीमामा अलपत्र पर्ने गरेका छन्। पछिल्लो समय तातोपानी नाका सञ्चालनमा छ।

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।  

कोभिडको समयमा रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीले अर्बौं रूपैयाँ नोक्सानी बेहोरेका थिए। नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव नवराज तिमल्सिना चीनले सामान आयातमा सधैं दुःख दिएको बताउँछन्।  

अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न दुईपक्षीय सहमति आवश्यक पर्ने भए पनि चीनले एकपक्षीय रूपमा बन्द गर्दै आएको छ। नाका बन्द गर्दा कुनै जानकारी नदिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख घिमिरेले बताए। ‘एकपक्षीय रूपमा नाका बन्द भएको हो,’ उनले भने, ‘कहिलेबाट खुल्छ केही जानकारी छैन।’  

मान्छेको आवतजावत अहिले पनि पूर्ण बन्द छ। दुई साताअघिसम्म मितेरी पुलवारि पाँच कन्टेनर सामान ल्याएर छाड्ने, यताबाट कामदार र ड्राइभर पठाएर सामान लोड गरेर ल्याउने भइरहेको थियो।

नेपाली व्यापारीले लत्ताकपडा, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत चीनबाट आयात गर्छन्। चीनबाट पानी जहाज हुँदै भारत भएर नेपालमा सामान ल्याउँदा ४०–४२ दिन लाग्छ। अवरोध नभए तातोपानी र केरुङबाट ल्याउँदा २०–२२ दिनमै सामान आइपुग्छ। दुई नाकाबाट सामान ल्याउन सजिलो हुने भए पनि पछिल्लो समय चिनियाँ अधिकारीको व्यवहारले धेरै सामान भारत हुँदै आयात गर्न थालेका छन्। चीनियाँ अधिकारीका कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न कठिन भएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।

चीनले सामान आयात गर्न सघाउनुको साटो झन्झटिलो प्रक्रिया अपनाएर व्यापारीलाई दुःख दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समेत असन्तुष्टि व्यक्त गरेका थिए।

नेपालबाट ‘स्वतन्त्र तिब्बत’ गतिविधि हुन सक्ने आशंकामा सकेसम्म नेपालसँगका नाका खोल्ने इच्छा चीनको नभएको नेपाली व्यवसायीको बुझाइ छ। चीनले सीमा नाका बन्द गर्दा त्यहाँ उत्पादित सामान भारत हुँदै ल्याउनुपर्ने बाध्यता छ। चीनसँगको उच्चस्तरको राजनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धमा रूपान्तरण गर्न नसक्नु नेपाल सरकारको कमजोरी भएको वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा बताउँछन्।  

चीनबाट नेपालमा वार्षिक दुई खर्ब रूपैयाँका सामान आयात हुन्छ। कोभिड-­१९ प्रकोपबीच पनि पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रूपैयाँको सामान आयात भएको थियो। एक अर्ब १९ करोड रूपैयाँका सामान चीनतर्फ निर्यात भएको थियो।  

नेपालसँग हुने व्यापार निकै सानो भोलुममा भएकाले चीनले प्राथमिकतामा नराखेको हो। चीनसँग पारवहन सन्धि गरे पनि चीनको बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सकेको छैन। पारबहन सम्झौतासँगै चिनियाँ बन्दरगाह र स्थलमार्ग प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गर्न सकिने बताइए पनि चीनबाट सडकमार्ग हुँदै सामान आयात गर्न पनि नेपाली व्यवसायीलाई कठिन छ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App