१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘अझै दुई वर्ष साँवाब्याज तिर्न सक्दैनौं’

पर्यटन क्षेत्रले कोरोनाको मार खेप्न थालेको झन्डै वर्ष दिन पुग्न थाल्यो। विश्वभर कोरोनाको त्रास फैलिन सुरु गर्दा पोखरेली व्यवसायीले संक्रमणको असर बढीमा एक वर्ष रहने अनुमान गरेका थिए। त्यही अनुसार व्यवसाय धान्ने उनीहरूको योजना थियो। 

भाइरस संक्रमणका कारण आर्थिक रूपमा धराशयी बनेको पर्यटन व्यवसाय टिकाइराख्न सकस भएको भन्दै व्यवसायीले कर्जाको साँवा र ब्याज तिर्ने अवधि बढाइदिन सरकारसँग सुरुमै आग्रह गरे। पर्यटन व्यवसायीले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिमार्फत ऋणको साँवा र ब्याज तिर्ने समय कम्तीमा ६ महिना बढाइदिनुपर्ने माग त्यो बेला गरेका थिए। तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै किस्ताको अवधि एक वर्षका लागि थपिदिएको थियो।  

कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो– पुनर्कर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण। आफ्ना यी मागसम्बोधन हुने गरी मौद्रिक नीति आउँदा व्यवसायी हौसिएका पनि थिए। तर मौद्रिक नीतिले थपिदिएको समयमा पनि ऋणको साँवाब्याज तिर्न सक्ने अवस्था नभएको भन्दै समय थपि दिन व्यवसायीले पुनः आग्रह गरेका छन्।

व्यवसाय पहिलेकै आकारमा फर्किन नसक्दा अझै पनि ऋणको किस्ता तिर्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ। कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकोले दुई वर्ष थपिदिन व्यवसायीले राष्ट्र बैंकसमक्ष आग्रह गरेका छन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘कोरोनाको मार बढीमा एक वर्ष पर्ने हाम्रो सुरुको अनुमान थियो। त्यही अनुसार ६ महिना दिएर कर्जा पुनर्तालिकीकरण गरिदिन आग्रह गरेका हौं। राष्ट्र बैंकले एक वर्षकै लागि व्यवस्था गरिदियो। तैपनि किस्ता तिर्न सक्ने अवस्था छैन। यसैले समय थपिदिन माग गरेका हौं ।’

पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिएको कर्जाको किस्ता आगामी दुईवर्षका लागि स्थगन गरिदिन माग गरेको उनले बताए। ‘पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सकेको छैन। पाहुना आउन नसक्दा आम्दानी छैन,’ तुलाचनले भने, ‘व्यवसायी झनै अप्ठेरो अवस्थामा पर्दै गएका छन्। आम्दानी नै नभएपछि किस्ता तिर्न सकिने अवस्था छैन ।’  

तुलाचनका अनुसार मौद्रिक नीतिले आगामी असारसम्म ऋणको किस्ता तिर्न नपर्ने गरी छुट दिएको तर त्यसपछि तिर्न सक्ने अवस्था नरहेको उनले बताए। ‘आम्दानी अझै भएको छैन। तत्कालै पाहुना आउने अवस्था पनि देखिन्न। पाहुना नआएसम्म हाम्रो आम्दानी हुँदैन,’ उनले भने, ‘असारपछि पनि तिर्न सक्ने अवस्था नभएकोले अवधि थप दुई वर्ष बढाई दिन आग्रह गरेका हौ ।’  

ऋणको ब्याजमै छुट नभए पनि मौद्रिक नीतिमार्फत तिर्ने समय मात्र पछाडि धकेलिदिएको अवस्थामा अझै व्यवसाय सुचारु नहुँदा व्यवसायी झनै अप्ठेरोमा परेको उनले बताए। ‘समय नथपिएको खण्डमा आगामी असारपछि किस्ता तिर्न थाल्नुपर्छ,’ उनले भने, ‘पाहुना आउन नथालेसम्म त तिर्न सक्ने अवस्था नै छैन ।

’ उनका अनुसार बैंकले अहिले व्यवसायीलाई कर्जाको ब्याज तिर्न आग्रह गरिरहेका छन्। व्यवसायी भने ब्याज पनि तिर्न सक्ने अवस्थामा नरहेको उनले बताए। ‘आम्दानी केही छैन। कर्जाको ब्याज पनि तिर्न सक्ने अवस्था भएन,’ उनले भने। व्यवसाय पुरानै अवस्थामा नपर्केकोले गाह्रो भएको अध्यक्ष तुलाचनले बताए।

 सुरुमा एक वर्षका लागि समय थपिदिँदा त्यो बेलासम्म पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किने अनुमान भए पनि अवस्था सुध्रिनुको साटो झनै नाजुक हुँदै गएको उनले बताए। संघले गत बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई ६ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै समय थपिदिन आग्रह गरेको उनले बताए। यसैगरी  मौद्रिक नीतिमा व्यवस्था गरिएको राहत सम्बन्धी २० करोड रूपैयाँको दायरा बढाउन पनि व्यवसायीले माग गरेका छन्। साना व्यवसायीलाई पाँच र ठूलालाई २० करोड रूपैयाँसम्म पुनर्कर्जाको सीमा भएकामा ठूलालाई अपुग भएको उनले बताए ।

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App