१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रूपन्देहीको रूप फेर्दै १० आयोजना

विकासले रूपान्तरण

विकासको गति समयसँगै हुनुपर्ने हो। विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन। तर समयसँगै विकासका कामहरू अघि बढ्ने प्रयत्न हुँदै गएका छन्। नेपालका विभिन्न खण्डहरूमा नमुना विकासे कामहरू भइरहेका छन्। त्यसमध्ये रूपेन्देही जिल्लाको विकासे रूपान्तरण लोभलाग्दो छ। रूपन्देहीको मुख्य सहर बुटवल र भैरहवाका विभिन्न स्थानमा सञ्चालनमा आएका बहुवर्षीय परियोजनालाई हेर्ने हो भने अबको पाँच वर्षपछि मुलुककै विकासका लागि नमुना जिल्ला बन्ने अवस्था देखिएको छ।

बुटवलमा चलिरहेको बेलवास–बेथरी सडकलाई हेर्ने हो भने यो देशकै नमुना सडक हुनेछ। सडकको बीच भागमा रहेको नहरमा पानी बगिरहने, सडकको दुवै साइडमा हरियाली हुने र दुवै साइडबाट सडक निर्माण हुने तथा नहरको पानीमा माछापालन वा बोटिङमध्ये एउटा काम गर्ने परिकल्पनाअनुसार यो सडक निर्माण हुँदैछ। बेलवासदेखि बेथरीसम्मको साढे २१ किलोमिटर लामो सडकको लागत १ अर्ब ६७ करोड छ। नहरको दुवैतिर हरियाली बनाउन हरित पेटी छ। त्यसको बाहिर सात–सात मिटर फराकिला सडक, त्यसबाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फुटपाथसमेत बन्नेछ। यसको काम करब ५० प्रतिशत सकिएको छ।

बुटवलमै अर्को परियोजना भर्खरै उद्घाटन भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको तिनाउ–दानव करिडोर ६ लेनको सडक हो। अघिल्लो पटक अर्थमन्त्री हुँदा बजेट पारेका पौडेलले अहिले अर्थमन्त्री भएपछि सो सडक निर्माणको सुरुवाती उद्घाटन गरेका छन्। यो निकै महत्वाकांक्षी परियोजना भएकाले सयौं नागरिकको संरचनालाई मुआब्जा वितरण गर्नुपर्ने छ। मुआब्जा वितरण गरेर भए पनि परियोजना सम्पन्न गर्ने योजना छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ८ अर्ब लागतको कृषि परियोजना पनि बुटवलमा सञ्चालन हुनेछ। नेपाल सरकारको ४ अर्ब र विदेशी दातृ निकायको चार अर्ब लगानीमा सञ्चालन हुने यो अर्को महत्वाकांक्षी परियोजना हो। यो परियोजनाका लागि तीन महिनाभित्रमा डिपिआर गरिसक्ने र बहुवर्षीय ठेक्का प्रणालीमा जाने तयारी थालिएको छ। यो परियोजनाका लागि बुटवल नगरपालिकाको ६ नं. वडा र सैनामैना नगरपालिकाको एउटा वडामा गरी ४० बिघा जमिनमा छुट्याइएको छ। बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले संघीय सरकारले बजेट विनियोजन गरेकाले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सहज भएको बताए। ‘संघीय सरकारको सहयोगबिना बुटवलमा यी परियोजना सञ्चालनमा आउने सम्भावना कम थियो।  

अहिले सञ्चालनमा रहेका परियोजनाका कारण बुटवललाई मुलुककै आर्थिक केन्द्रको रूपमा विकास गर्न सहज भएको छ’, मेयर सुवेदीले भने।

बुटवलमै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सभाहल) र अन्तर्राष्ट्रिय स्तरकै प्रर्दशनी केन्द्र पनि धमाधम निर्माण हुँदैछ। ११ सय सिट क्षमताको सो सभाहलको करिब ५० प्रतिशत कार्य सकिएको आयोजना प्रमुख शिखर लामाले बताए। उनका अनुसार नेपालको राष्ट्रिय झण्डा आकारको सो सभाहलमा साना अन्य पाँचवटा हल पनि निर्माण हुँदैछन्। १ अर्ब २ करोडको लागतमा बन्ने सो हल आगामी साउनसम्म सम्पन्न हुनेछ। त्यसकै आडमा १० हजार मानिसले अवलोकन गर्न मिल्नेगरी ८ सय वटा प्रदर्शनी स्टल पनि निर्माण भइरहेका छन्।

रूपन्देही र कपिलवस्तु जिल्लाको सिँचाइ र अन्य कामका लागि कालीगण्डकी तिनाउ बहुउदेश्यीय डाइभर्सन परियोजना मुलुककै महत्वाकांक्षी परियोजना हो। यसका लागि रूपन्देहीका राजनीतिक दलका नेताहरूले राष्ट्रियस्तरमै पहल गरिरहेका छन्। आयोजनाका लागि अनुमानित लागत ४० अर्बमध्ये सिँचाइ आयोजनाका लागि १८ अर्ब ४८ करोड लाग्ने अनुमान गरिएको छ। त्यसबाहेक जलविद्युत्का लागि २१ अर्ब ६२ करोड लाग्ने छ। डाइभर्सन भएर आउने ८१.६ क्युसेक पानीमध्ये ७५.९६ क्युसेक सिँचाइका लागि र ६ क्युसेक खानेपानीका लागि प्रयोग गरिनेछ। यो योजना हालका अर्थमन्त्री पौडेलले जलस्रोत मन्त्री हुँदा बनाएका थिए।

हाल बनिरहेको भैरहवा अन्र्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाभित्र पर्छ। यो विमानस्थल केही महिनामै सञ्चालनमा आउने बताइएको छ। यसैगरी दाउन्नेमा सुरुङ मार्ग बनाउने गरी अध्ययन कार्य सुरु गरिएको छ। जसले गर्दा बुटवलबाट नारायणघाट १ घण्टा समयमा पुग्न सकिनेछ। बेलहिया–बुटवल–पोखरा डबल लेन सडम तथा बुटवल–कोहलपुर डबल लेन सडकको काम भइरहेको छ। बुटवल–पाल्पा–सिद्धबाबा सुरुङ मार्ग निर्माण प्रकृया पनि अघि बढ्न थालेको छ। गत वर्ष नै सरकारले सो सुरुङमार्ग बनाउन १० अर्ब १५ करोडको बजेट सीमा तोकेको थियो। सो सडक खण्डमा अत्याधिक दुर्घटना हुन थालेपछि सरकारले बुटवल–पाल्पा–सिद्धबाबा सुरुङमार्गका लागि बजेटको सीमा तोकेर प्रकृया अघि बढाएको थियो।

प्रकाशित: २१ माघ २०७७ ००:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App