४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटनमा आफूखुसी व्यवस्था

पोखराभित्रका गन्तव्यमा ताला, बाहिरका गन्तव्यमा पिसिआर रिपोर्ट अनिवार्य

पोखरास्थित फेवाताल र लेकसाइड क्षेत्र। फाइल तस्बिर: नागरिक

अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङले कोरोनाको पिसिआर परीक्षण गराएर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई मात्र पदयात्रामा अनुमति दिन्छ। पिसिआरको नेगेटिभ रिपोर्ट देखाउन नसक्नेलाई मनाङमा प्रवेश अनुमति छैन। चामे र मनाङ ङिस्याङ गाउँपालिकाले पिसिआर नेगेटिभ रिपोर्ट पेस गर्ने जो कोही आन्तरिक पाहुनालाई मात्र अन्नपूर्ण फेरोको पदमार्गमा जान पाउने निर्णय कात्तिक पहिलो साता गरेको थिए।  

कास्कीमा पर्ने मर्दी हिमाल पदयात्रामा जाँदा पनि आन्तरिक पाहुनाले पिसिआर परीक्षण गराई नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरिएको छ। नेगेटिभ रिपोर्ट देखाउन नसक्ने पाहुना धम्पुसबाट अगाडि बढ्न नपाउने गरी स्थानीय तह र पर्यटन व्यवसायीले रोक लगाउने निर्णय गरेका छन्। दसैं बिदामा मर्दी पदयात्रामा जाने आन्तरिक पाहुना बढेपछि संक्रमणको डर भन्दै व्यवसायी र स्थानीय तहका पदाधिकारीले पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य गर्दै कडाइ गरेका थिए।  

अन्नपूर्ण क्षेत्रभित्रको घान्द्रुक र अन्नपूर्ण  आधारशिविर (एबिसी) क्षेत्रका व्यवसायीले कोरोना संक्रमण बढेको भन्दै अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। व्यवसायीको त्यही निर्णयपछि घान्द्रुकसहित आसपास र एबिसी क्षेत्रका होटल अझै खुलेका छैनन्। व्यवसायीले होटल नखोल्दा केही गरी पाहुना पुगिहाले पनि खानपिन र बसोबासमा ठाउँ पाउने छैनन्।  

पोखरा बाहिर मात्र नभइ भित्रैका पर्यटकीय गन्तव्यमा पनि यो बेला घुमघाम बन्देज छन्। यहाँका मठमन्दिर अझै खुलेका छैनन् भने महेन्द्र, चमेरे गुफामा पनि ताला लगाइएको छ। त्यत्ति मात्र नभइ आन्तरिक पर्यटकले अधिक रुचाएको शान्ति स्तुपमा घुमघाममा जान अवरोध छ। डेभिजफल्स, गुप्तेश्वर गुफा लगायत आकर्षक गन्तव्य पनि अहिले बन्द छन्। फेवातालमा डुंगा सयर गर्न पाइए पनि तालको बीचभागमा रहेको बाराही मन्दिरमा दर्शनार्थ जान रोकावट छ।  

कोरोना महामारीबीच सरकारले असोज १ देखि लामो दूरीका सार्वजनिक र हवाई यातायात खुलाएको थियो। यातायातसँगै पर्यटन पूर्वाधारका रुपमा होटल, रेस्टुरेन्ट पनि खोल्न सरकारले स्वीकृति दिएको थियो। सरकारले अनुमति दिएपनि अहिले पर्यटकीय गन्तव्यमा पाहुना आउजाउमा रोक लगाइएको छ। सरकारी निर्णय नमान्दै पर्यटकीय गन्तव्य बन्द गर्दा वा सुविधा नदिँदा घुम्न चाहने पर्यटक पनि घरबाहिर निस्कन पाएका छैनन्। मुख्य गन्तव्य घुम्न नपाउँदा आन्तरिक पर्यटक पोखरा आउन नसकेको व्यवसायीको भनाइ छ। पर्यटकीय गतिविधिमा रोक लगाएका गन्तव्यमा अवरोध खुलाउनेतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले कुनै चाँसो नदिएको पोखराका व्यवसायी बताउँछन्।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकार आफैंले गरेको निर्णय लागू गर्न नसकेर कमजोर बनेको बताए। ‘सीमित व्यावसायिक समूह, स्थानीय तहले आफ्नो क्षेत्रभित्र घुमघामका लागि प्रवेश रोक लगाइरहँदा घुम्न जाने अधिकार पनि हनन भएको छ,’ पोखरेलले भने, ‘कोही व्यवासायीले सधैंका लागि व्यवसाय बन्द गर्छु भन्छ भने फरक कुरा हो। नत्र अरुको अधिकार हनन हुनेगरी घुमघाममा अवरोध गर्न पाइँदैन।’  

विभिन्न ठाउँमा पर्यटकलाई ढोका र तगारो लगाएर गैरजिम्मेवार काम भएको उनले बताए। ‘सुरक्षित भएर व्यवसाय सञ्चालन गर्नुपर्छ। प्रशासनले सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्न पनि दवाव दिनुपर्छ,’ पोखरेलले भने, ‘यो बेला स्थानीय तह र प्रदेश सरकारको भूमिका बलियो हुनुपर्ने हो। तर, त्यो अनुरुप हुन सकेको छैन।’  

चल्तीका गन्तव्यमा पाहुना जान नपाउँदा पर्यटन क्षेत्र खुलेर पनि नखुले झै भएको उनले बताए। ‘यो बेला केही आन्तरिक पर्यटक घुम्न निस्कन चाहेका थिए। एकान्त र भीडभाड कम भएको ठाउँमा जाने चाहना धेरैमा थियो,’ उनले भने, ‘तर अवरोध गरियो, चल्तीका ठाउँ रोजेरै अवरोध गरिएको छ। त्यसले पोखराको मात्र नभई ती ठाउँको पर्यटन पनि धराशायी बनाउनेछ।’ अहिले पर्यटकलाई प्रवेशमा रोक्ने हो भने घुमघामका ती पर्यटक अन्यत्र जाँदा नोक्सान व्यवसायीलाई नै हुने उनले बताए। ‘अन्नपूर्ण क्षेत्र र पोखराभित्रैको अवरोधले पर्यटनलाई असर पा¥यो,’ उनले भने।  

पर्यटनलाई सेवा नदिने भनेर होटल बन्द गरेका घान्द्रुक क्षेत्रका व्यवसायीले पर्यटनमा पोखराको जस्तै महत्व अरु गन्तव्यको पनि रहेछ भन्ने बल्ल पुष्टि भएको बताए। ‘पोखराले सकेसम्म पाहुनालाई बाहिर पठाउन चाहँदैन। त्यसको प्रभाव के रहेछ भन्ने बल्ल बुझ्यो,’ घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङ भन्छन्, ‘हामीले त गाउँलाई सुरक्षित बनाउन आउजाउ रोकेका हांै। तर, हामीले रोक्दा पोखराले पनि पाहुना पाएन। घान्द्रुक खुलेमा मात्र घुम्न आउँछौ भन्ने पाहुना पर्याप्त भए।’  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेल पर्यटनमा गरिएको अवरोधले भद्रगोल अवस्था देखाउने बताउँछन्। ‘सांकेतिक रुपमा मात्र सरकारले देखाउनका लागि पर्यटन क्षेत्र खुलायो, तर, कार्यान्वयन गर्न सकेन,’ पौडेलले भने, ‘पर्यटनमा बेथिति भयो। संघीय सरकारले लागू गरेको निर्णय नै कार्यान्वयन हुन सकेन। केन्द्रले खुलाउने, तर स्थानीय तह र व्यवसायीले रोक लगाउँदा मनपरी भएको छ।’ मानव आवतजावत हुन नसक्दा पर्यटन चल्नै नसक्ने उनले बताए। ‘मानवीय गतिविधि हुने ठाउँमा अवरोध गर्दा पर्यटन क्षेत्र फस्टाउँदैन। सुरक्षित तरिकाले कोरोनासँग जोगिएर यो बेला पर्यटन चलायमान बनाउनुपर्छ।’  

पोखरा उपत्यकाभित्रका गन्तव्य पनि बन्द छन्। ती गन्तव्य बन्द हुँदा पर्यटक पोखरा आएर पनि घुम्न पाएका छैनन्। महेन्द्र–चमेरे गुफा सचिवालयका अपरेसन म्यानेजर शिशिर पौडेलले सुरक्षाका मापदण्ड अपनाएर पर्यटकीय पूर्वाधार खोल्न सकिने बताए। उनले दुवै गुफामा केही पूर्वाधार बनाउन थालेकाले पनि यो बेला बन्द गरिएको बताए। ‘हुन त हामीले पनि बन्द गरेका छौं। पूर्वाधार बनाउन थालेकाले बन्द गरेका हांै,’ गुफा सचिवालयका पौडेलले भने, ‘तर पर्यटनमा आफूखुसी भइरहेको छ। सबैतिरको अवरोधले पोखरामा पर्यटक आउन सकेनन्। गलत सन्देश गएको छ।’  

शान्ति स्तुप विकास क्षेत्रका पूर्वअध्यक्ष राजु क्षेत्री पनि सरकारको कार्यशैली नमिल्दा भद्रगोल भएको बताउँछन्। ‘पर्यटन क्षेत्र खुलाउन सरकारले निर्णय त ग-यो, तर ती निर्णय तल्लो तहसम्म मानिएन,’ क्षेत्रीले भने, ‘निर्णय लागू गराउन नसक्नु सरकारको असफलता हो। स्थानीय तहले दवाव दिनै सकेनन्। प्रदेश सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य गराएर खुलाउन सक्नुपर्नेमा चाँसो दिएनन्।’ 

प्रकाशित: २७ कार्तिक २०७७ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App