१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

किबीलाई स्थानीय प्रविधिको कोल्डस्टोर

इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङस्थित हेस्टी किबी प्रालिले स्थानीय प्रविधि प्रयोग गरेर निर्माण गरेको कोल्डस्टोर । तस्बिर : भीम/नागरिक

सदरमुकाममा आधा दशकअघि ५ करोड रुपैयाँभन्दा बढी खर्चेर निर्माण गरिएको कोल्डस्टोर (शीतभण्डार) अहिलेसम्म प्रयोगविहीन छ। तर, गाउँका किसान आफ्नो कृषिउपज भण्डारण गर्न नपाएर बारीमै कुहाउन बाध्य छन्।  

बिक्री हुन नपाएको कृषिउपज बारीमा कुहिइरहेका बेला सन्दकपुर गाउँपालिका–३, सुलुबुङका अगुवा किसान तारमणि खतिवडाले भने स्थानीय प्रविधिको कोल्डस्टोर बनाएर किबी भण्डारण गरेका छन्। गाउँमै उत्पादित कच्चापदार्थ प्रयोग गरेर निर्माण गरेको कोल्डस्टोर किबी भण्डारण गर्न सफल भएको हेस्टी किबी प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका खतिवडाले बताए। सिमेन्ट ढलान गरिएको पोखरी, पोखरीमाथि काठ र बाँसको चोयाबाट बनेका चित्रा प्रयोग गरेर कोल्डस्टोर बनाइएको छ। ३ वर्ष लगाएर बनाएको कोल्डस्टोर किबी भण्डारण गर्न प्रभावकारी भएको उनको भनाइ छ।  

चीन, जापान, भियतनाम र उत्तर कोरियालगायत देशमा आधुनिक कोल्डस्टोर प्रयोगमा आउनुअघि कृषिउपज कसरी भण्डारण गरिन्थ्यो भन्नेबारे इन्टरनेटमार्फत् अध्ययन गरेर आफूले कोल्डस्टोर निर्माण गरेको खतिवडाले बताए। ‘परार साल कोल्डस्टोर बनाइयो, पोहोरको किबी भण्डारण गर्न सफल भएपछि यो वर्ष पनि केही विस्तार गरेका छौं,’ उनले भने, ‘अहिले यसमा ८ हजार किलोजति किबी भण्डारण गर्न सकिन्छ।’

चैत–वैशाखमा फूल लाग्ने किबी असोजदेखि मंसिरसम्ममा फल टिप्ने हुन्छ। टिपेको किबी ३ सातासम्म त्यत्तिकै राख्न सकिन्छ। तर, त्यसपछि पाकेर कुहिने भएकाले भण्डारण गर्न समस्या हुन्छ। यहाँ निर्माण गरिएको कोल्डस्टोरमा कात्तिकको किबी असारसम्म बचाएर राख्न सफल भएको खतिवडाले जनाए। ‘सुरुमा किबी टिपेका बेला यसको परिमाण धेरै हुने भएकाले मूल्य कम हुन्छ,’ उनले भने, ‘जति ढिलोसम्म किबी बचाएर राख्न सक्यो, उत्तिकै बढी मूल्य पाइन्छ।’ उनले किबीको माग बढी भएका बेला बेच्नेगरी भण्डारण गर्न किसानलाई समस्या हुनेगरेको बताए। ‘देशकै ठूला सहरमा होटलहरूमा बार्‍है महिना किबीको माग छ,’ उनले भने, ‘तर, हामीसँग टिपेका बेलामात्रै हुन्छ, उच्च मूल्य पाउने बेला चाहिँ किबी नै हुँदैन।’

किबीलाई शून्यदेखि २ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नु आवश्यक भएपनि स्थानीय प्रविधिमै निर्माण गरेको कोल्डस्टोरमा ५ देखि ७ डिग्री सेल्सियससम्म कायम गर्न सफल भएको उनले जनाए। ‘अरू कृषिउपज राख्ने कोल्डस्टोर किबीका लागि चाहिँ उपयुक्त हुँदैन,’ खतिवडाले भने, ‘यो पनि नेचुरल कोल्डस्टोर भएकाले शतप्रतिशत उपयुक्त त होइन तर किबीलाई ५–७ महिनासम्म जोगाउनसक्नु पनि सफलता नै हो।’ विज्ञहरूसमेतसँग सल्लाह लिएर आफूले निर्माण गरेको कोल्डस्टोरमा राख्दा किबीको गुणस्तरसमेत जस्ताको तस्तै रहेकाले थप उत्साहित भएको उनले जनाए।  

खतिवडाले नै १३ वर्षअघि इलाममा किबी खेती भिœयाएका हुन्। अहिले जिल्लाको करिब २ सय हेक्टरमा किबी खेती हुँदैछ। तर, किबी भण्डारणका लागि पटक–पटक ‘हारगुहार’ गर्दा पनि उपयुक्त कोल्डस्टोर बन्न नसकेको किसानले गुनासो गरिरहेका छन्। ‘हामीले बनाएको कोल्डस्टोर पनि अन्तिम विकल्प होइन,’ खतिवडाले भने, ‘यसलाई थप अनुसन्धान गरी एयर कन्डिसनसहितको कोल्डस्टोरका रूपमा विकास गरियो भने अझ प्रभावकारी हुनसक्छ।’ खतिवडाले यो कोल्डस्टोरमा बिजुली प्रयोग नगरिएको बताए। ‘पोखरीमा उपयुक्त मात्रामा पानीको बहाव मिलाइएको छ, ऊर्जाका रूपमा पानीमात्रै प्रयोग गरिएको छ,’ उनले भने।  

प्रालिले ६ सय बोट किबी खेती गरेको छ। यसमध्ये भदौ–असोजतिर पाक्ने रेड किबी करिब २ सय बोट रहेको प्रालि अध्यक्ष पार्वती खतिवडाले बताइन्। ‘वर्षमा १२ हजार किलोसम्म फल र १५ हजारजति बिरुवा उत्पादन हुँदैछ,’ उनले भनिन्, ‘किबी फल प्रतिकिलो अढाई सयदेखि साढे ३ सय रुपैयाँसम्ममा बिक्री हुन्छ।’ यो वर्ष कोभिड–१९ को असरले किबीको मूल्य ज्यादै कम भएको उनले जनाइन्। ‘देशभित्रै पनि किबीको माग धान्न सकिँदैन तर कोभिड–१९ ले चाहिँ यो वर्ष अरू क्षेत्रमा जस्तै यसको बजारमा ज्यादै असर पुगेको छ,’  उनले भनिन्, ‘महामारी अन्त्य भएपछि पुनः किबीको बजार र मूल्य पुरानै अवस्थामा फर्किने आशामा छौं।’ खतिवडाले इलामलगायत १ नम्बर प्रदेशका विभिन्न जिल्लामा उत्पादित किबी बिक्रीका लागि झापाको बिर्तामोडमा पसलसमेत सञ्चालन गरिरहेकी छिन्।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका ४ वटा वडामा किबी खेती प्रवद्र्धनको कार्यक्रम चलिरहेको छ। परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत लटनारायण शाहले अहिले इलामको किबीले माग धान्नै नसकेकाले कोल्डस्टोर आवश्यक नभएको बताए। ‘उत्पादित किबीले नै माग धानेको छैन,’ उनले भने, ‘कोल्डस्टोर त ठूलो परिमाणमा किबी भण्डारण गर्नुपर्ने अवस्थामा मात्र आवश्यक छ।’ उनले जिल्लामा कति किबी उत्पादन हुन्छ भन्ने तथ्यांक संकलन भइरहेको जनाए।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले किबीको कोल्डस्टोर बनाउन अरू कृषिउपजको तुलनामा गाह्रो हुने बताए । ‘तारामणि खतिवडाले बनाउनुभएको कोल्डस्टोर चाहिँ कस्तो छ भनेर अवलोकन गर्न पाइएको छैन,’ उनले भने।

प्रकाशित: २६ कार्तिक २०७७ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App