२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पूर्वी नेपालमा जुट उत्पादन बढ्दो

पूर्वी तराई क्षेत्रमा उत्पादन हुँदै आएको जुटखेतीमा पछिल्लो वर्ष उत्पादन बढ्न थालेको छ। पछिल्लो चार वर्षयता जुट खेती बढ्न थालेको हो। दुई दसकअघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो।  

पछिल्लो वर्ष जुटको मूल्य बढेको र कृषि प्रविधिको विकासले गर्दा पनि किसान आकर्षित हुन थालेका हुन्। यो वर्ष जुटको प्रतिकेजी ९० रुपैयाँ हाराहारी छ। जुट अनुसन्धान केन्द्र इटहरीका अनुसार पछिल्लो चार वर्षयता यहाँ उत्पादन भएको जुटको बीउ पाँच टन हाराहारी बिक्री हुने गरेको छ। त्यसअघि यहाँ उत्पादन हुने गरेको पाँच सय केजी जुटको वीउ पनि बिक्री हुने हम्मे–हम्मे हुने गरेको थियो।  

‘अहिले हामीले उत्पादन गरेको वीउ सबै बिक्री हुने गरेको छ। थुप्रै किसानले भारतबाट पनि वीउ ल्याएर खेती गर्ने गर्छन्,’ जुट अनुसन्धान केन्द्रका प्रमुख डाक्टर गोविन्द तिम्सिनाले बताए। उनका अनुसार अनुसन्धान केन्द्र र भारतबाट किसानले खरीद गरेर ल्याएको वीउ बाहेक अब दस टनको माग छ।  

अनुसन्धान केन्द्रले अघिल्लो वर्ष सुनसरीमा सर्वे गर्दा पनि ६ हजार हेक्टरमा खेती लगाएको भेटियो। ‘जुट खेतीतर्फ किसानलाई आकर्षित गर्ने योजना राखेरै हामीले सर्वे गरियौं, सर्वे गर्दा किसानले धेरै जग्गामा नलगाएपनि थोरै थोरै जग्गामा पनि धेरैले लगाएको पाइयो,’ उनले भने, ‘यस वर्ष मोरङमा सर्वे गर्ने योजना छ।’  

पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुट खेती हुने गर्छ। यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुट खेती हुने गर्छ। ‘पूर्वका सबै जिल्लामा गरि अहिले बीस हजार हेक्टरमा जुट खेती भएको अनुमान छ,’ केन्द्रका प्रमुख तिम्सिनाले भने, ‘किसानलाई आकर्षित गर्ने योजनाकै साथ यो वर्ष सिरहाको एउटा बस्तीमा किसानको समूह बनाएर काम थाल्ने र पूर्वका जिल्लाको चुरेको फेदीमा पनि जुटलाई प्रवद्र्धन गर्ने योजना छ।’ केन्द्रसँग पछिल्ला वर्षमा कुल क्षेत्रफलमा लगाएको जुट खेती र उत्पादनको भने यकिन तथ्याङ्क छैन।  

पछिल्लो समय किसानले जुटको सट्टा मकै लगाउने गरेका थिए। तर, मकैमा अहिले आएर किराले नोक्सानी गर्ने र उत्पादन भएको मकैले राम्रो भाउँ नपाउने भएकाले गर्दा पनि जुट नै किसानले लगाउन थालेका छन्।  

सुनसरी सोनापुरको अरिहन्त मल्टिफाइवर्सका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बजगाईंका अनुसार स्वदेशी उत्पादनले नेपाली जुट उद्योगमा ३० प्रतिशत मात्र भ्याउने गर्छ। उनका अनुसार पछिल्ला वर्ष जुट उत्पादनमा सुधार आएतापनि नेपाली उद्योगका लागि पर्यापत भने छैन। नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट जुट आयत गर्ने गरेका छन्। नेपालबाट उत्पादित जुट सामग्रीको सबैभन्दा ठूलो बजार पनि भारत नै हो। सुनसरी–मोरङ्मा सञ्चालित ११ उद्योगमध्ये अहिले छवटा बन्द छन्।

प्रकाशित: २ कार्तिक २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App