१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विवादले हनुमन्ते करिडोरको गति ठप्प

काठमाडाैँ - जडीबुटी–कोटेश्वरको जाम कम गर्ने उद्देश्यले अघि सारिएको नौ किलोमिटर हनुमन्ते करिडोर निर्माणले अपेक्षित गति लिन सकेको छैन। अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हनुमन्ते करिडोरलाई तीन खण्डमा टुक्राएर ठेक्का अघि बढाएको छ। मुआब्जा, स्थानीयको अवरोध, एकीकृत जग्गा विकास कार्यक्रम अघि बढ्न नसक्दा आयोजनाले अपेक्षित गति लिन नसकेको हो। हनुमन्ते करिडोर सञ्चालन गरे २० देखि ५० प्रतिशतसम्म जाम कम हुने अनुमान छ।

बाग्मती सभ्यता विकास समितिका आयोजना प्रमुख लिलाप्रसाद ढकालले हनुमन्ते करिडोरको पहिलो खण्डमा मुआब्जा विवाद, एकीकृत जग्गा विकास कार्यक्रम लगायतको विवाद नटुंगिदा आयोजनाले गति लिन नसकेको बताए। ‘स्थानीयको अवरोधले आयोजनाले सोचे जस्तो गति लिन सकेको छैन,’ उनले भने, ‘पर्याप्त बजेट, मुआब्जा विवाद र एकीकृत जग्गा विकासको विवाद सल्टिएको खण्डमा चालु आवभित्रै सञ्चालन गर्ने योजनामा छौं।’ आयोजना प्रमुख ढकालले मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकालाई जग्गा विवाद र एकीकृत जग्गा विकास कार्यक्रमलाई समन्वय गरेर विवाद टुंग्याइदिन अनुरोध गरे। ‘स्थानीय निकायले विवाद टुंग्याइदिएको खण्डमा आयोजनाले ढुक्क भएर काम गर्न पाउँथ्यो,’ उनले भने। आयोजना प्रमुख ढकालले हनुमन्ते खोलाको धार बारम्बार परिवर्तन भएकाले मुआब्जा वितरणमा समस्या देखिएको बताए।

मुआब्जा, स्थानीयको अवरोध, एकीकृत जग्गा विकास कार्यक्रम अघि बढ्न नसक्दा आयोजनाले अपेक्षित गति लिन नसकेको हो
 

हनुमन्ते करिडोरको दुवैतर्फ १२–१२ मिटर चौडा सडक निर्माण गरिनेछ। त्यहाँ हरियाली र नदीको बहाव भने १३ मिटर कायम गरिएको छ। ‘समिति जग्गा अधिग्रहण गरेर मुआब्जा दिन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘स्थानीय र संघीय सरकारले स्थानीयवासीसँग समन्वय गरेर काम गर्ने वातावरण तयार पारिदिनु प¥यो।’ आयोजना प्रमुख ढकालले सरकारले अवरोध नहटाएको खण्डमा आयोजना निर्माण गर्न अप्ठेरो हुने बताए। समितिले नौ किलोमिटर करिडोर तीन खण्डमा विभाजन गरेर ठेक्का दिएको छ। पहिलो खण्डमा भक्तपुरको राधेराधे पुलदेखि चारदोबाटोसम्म पर्छ। यो खण्डको ठेक्का पिएस गोल्ड–समानान्तर जेभीले २०७५ असार २७ गते पाएको थियो। ३० महिनामा सक्ने गरी जेभीले उक्त खण्डको ठेक्का ६९ करोड ७० लाख पाएको हो।

मुआब्जा र अन्य विवादको कारण यो खण्डले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। चालु आवमा यो खण्डमा १४ करोड बजेट विनियोजन भएकोमा हालसम्म तीन करोड मात्रै खर्च भएको आयोजनाले जनाएको छ।  दोस्रो खण्डमा हनुमन्ते खोला सल्लाघारी पुलदेखि राधेराधे पुल र बालकोट पुल पर्छ। उक्त खण्डको ठेक्का लामा सामानान्तर जेभीले २०७६ कात्तिक २४ गते पाएको थियो। उसले ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। चालु आवमा छुट्ट्याइएको बजेटमध्ये हालसम्म ८० प्रतिशत खर्च भइसकेको आयोजनाले जनायो। तेस्रो खण्डको ठेक्का बालकोट पुलदेखि बालकुमारी पुलसम्म फैलिएको छ। यो खण्डको ठेक्का २०७६ कात्तिक १ गते कालिका कन्सट्रक्सनले ५५ करोड ८९ लाख लागतमा सक्ने गरी पाएको थियो।

आयोजना प्रमुख ढकालले चालु आवमा छुट्ट्याइएको यो खण्डमा शतप्रतिशत बजेट खर्च भइसकेको दाबी गरे। संसदीय विकास तथा प्रविधि समितिले गत फागुन १२ गते हनुमन्ते करिडोर जतिसक्दो चाँडो निर्माण सम्पन्न गरेर सवारी साधन सञ्चालन गर्ने वातावरण मिलाउन निर्देशन दिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App