१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पाँच महिनामा पाँच सय ९३ शाखा थपिए

काठमाडाैँ - बैँक तथा वित्तीय संस्थाबीच सर्वसाधारणलाई वित्तीय पहुँच दिन प्रतिस्पर्धा हुने गरेको छ। ग्राहकलाई आकर्षण गर्न नयाँ नयाँ योजना सार्वजनिक गर्दै आएका वित्तीय संस्थाहरु शाखा कार्यालय विस्तारमा पनि आक्रामक हुँदै गएका छन्।

बैँक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैँकका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पाँच महिनाको अवधिमा पाँच सय ९३ शाखा कार्यालय थप भएका छन्। चालु आवको मंसिर मसान्तसम्म मुलुकका सात सय ४३ स्थानीय तहमा बैँकिङ पहुँच पुगेकोे राष्ट्र बैँकका प्रवक्ता गुणाकर भट्टले बताए। हाल मुलुकभरी २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक, २५ वटा ‘ख’ वर्गका विकास बैंक, २२ ‘ग’ वर्गका वित्त कम्पनी, ‘घ’ वर्गका ९१ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन्। 

बैँक तथा वित्तीय संस्थाका कुल नौ हजार दुई सय ९७ वटा शाखा कार्यालय सञ्चालनमा रहेको उनले बताए। प्रवक्ता भट्टका अनुसार चालु आवको मंसिर मसान्तसम्म सबैभन्दा बढी वाणिज्य बैँकका तीन सय ६६ शाखा कार्यालय विस्तार भएका छन्। गत आवको असार मसान्तसम्म तीन हजार आठ सय ८५ शाखा कार्यालय रहेकामा चालु आवको मंसिर मसान्तसम्म तीन हजार नौ सय ५१ शाखा कार्यालय पुगेका छन्।

त्यसैगरी, विकास बैँकले सो अवधिमा ९३ शाखा कार्यालय विस्तार गरेका छन्। गत आवको असार मसान्तसम्म एक हजार दुई सय ६७ शाखा कार्यालय रहेकोमा चालु आवको मंसिर मसान्तसम्म एक हजार दुई सय ९० शाखा कार्यालय पुगेको राष्ट्र बैँकले जनाएको छ। सो अवधिमा वित्त कम्पनीका २४ शाखा कार्यालय खुलेका छन्। गत आवको असार मसान्तसम्म दुई सय पाँच शाखा कार्यालय रहेकामा चालु आवको मंसिर मसान्तसम्म दुई सय २९ शाखा कार्यालय पुगेका छन्।

प्रवक्ता भट्टका अनुसार लघुवित्त वित्तीय संस्थाका एक सय ९८ शाखा कार्यालय विस्तार भएका छन्। गत आवको असार मसान्तसम्म तीन हजार ६ सय २९ शाखा कार्यालय रहेकामा चालु आवको पाँच महिनाको अवधिमा शाखा कार्यालयको संख्या तीन हजार आठ सय २७ पुगेको छ। राष्ट्र बैँकका अनुसार चालु आवको मंसिर मसान्तसम्म प्रदेश १ का एक सय ३६ स्थानीय तहमा बैँकिङ पहुँच पुगेको छ। यस प्रदेशमा एक सय ३७ स्थानीय तह रहेका छन्। त्यस्तै प्रदेश २ मा एक सय ३६ स्थानीय तह रहेकामा एक सय ३५ तहमा बैँकिङ पहँच पुगेको राष्ट्र बैँकले जनाएको छ। प्रदेश ३ का एक सय १७ स्थानीय तहमा वाणिज्य बैँकको पहुँच पुगेको छ। कुल एक सय १९ स्थानीय तह रहेकामा अब दुई तहमा वाणिज्य बैँक पुग्न बाँकी छ।

त्यसैगरी, गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकामा ८४ तहमा वाणिज्य बैँक पुगेको प्रवक्ता भट्टले बताए। उनका अनुसार प्रदेश ५ का सबै स्थानीय तहमा बैँकिङ पहुँच पुगिसकेको छ। कूल एक सय नौ स्थानीय तह रहेकामा सबै तहमा वाणिज्य बैँक पुगिसकेको उनले बताए। चालु आवको मंसिर मसान्तसम्म कर्णाली प्रदेशका ७८ स्थानीय तहमा वाणिज्य बैँक पुगेका छन्। यस प्रदेशमा एक ७९ स्थानीय तह रहेकामा अब एउटा तहमा बैँकिङ पहुँच पुग्न बाँकी छ। राष्ट्र बैंकका अनुसार सुदूर पश्चिम प्रदेशका ८४ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। कूल ८८ स्थानीय तह रहेको यस प्रदेशमा हालसम्म चार तह बैँकिङ पहुँच बाहिर छन्।

प्रकाशित: १३ माघ २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App