८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

स्याउ चाना जुम्लाको ब्रान्ड

जुम्ला - जुम्लामा स्याउका चानाबाट मात्र दुई करोड ५० लाख रूपैयाँ भित्रिने गरेको छ। खेर गइरहेको स्याउबाट चाना बनाइन्छ। चाना बाह्रै महिना पाइन्छ। जुम्लामा उत्पादित ‘सी’ र ‘डी’ ग्रेडको स्याउबाट चाना बनाउने गरेको कृषि प्राविधिक बताउँछन्। यहाँ उत्पादित स्याउको १० प्रतिशत चाना बनाउन प्रयोग हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन्।

उनका अनुसार वर्षेनि २५ टनसम्म स्याउका चाना उत्पादन हुने गर्छ। प्रतिकेजी स्याउ चानाको आठ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। ‘प्रत्येक स्याउ किसानलाई स्याउ चाना बनाउने मेसिन र प्रविधिप्रयोगबारे तालिम दिइएको छ,’ प्रमुख देवकोटाले भने, ‘स्याउ चाना बनाउने भएकाले उत्पादित स्याउ खेर जाँदैन। यसले राम्रोसँग उपयोग भइरहेको छ।’

८० ग्रामको प्याकेटमा प्याक गरिएको स्याउ चाना एक सय रूपैयाँमा बिक्री हुन्छ। स्याउ चाना बनाउन थालेपछि किसानलाई खेर जाने स्याउ गाईबस्तुलाई दानाका रूपमा दिनु परेको छैन। चाना बनाउँछन्। जुस, जाम, जेली बनाउँछन्। यो किसानको राम्रो आम्दानीको स्रोत बनेको छ। यो शुद्ध स्याउको अर्गानिक परिकार हो।

चाना बनाउँदा रासायनिक पदार्थ प्रयोग हुँदैन। यहाँ अनुदानका सोलार ड्रायर उपलब्ध गराइएकाले स्याउका चाना सुकाउन निकै राम्रो छ। असोज महिनामा स्याउ चाना बनाउँदा राम्रो हुने कृषि प्राविधिक बताउँछन्। वर्षा हुँदा कुहिने डर हुन्छ। असोज महिनामा प्रायः खडेरी हुने भएकाले असोजमै स्याउका चाना बनाउन किसान उत्साहित छन्।

जुम्लामा १४ हजार स्याउबगैंचा छन्। आगामी पाँच वर्षमा १९ हजार स्याउबगैंचा बनाउने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। स्याउ बगैंचा स्थापनाका कोही नछुटून्, तर दोहोरिऊन भन्ने मान्यता स्थापित गर्न थालिएको छ। स्याउ चाना बेच्ने किसान अहिले सदरमुकाम खलंगाका कोसेली घरमा भेटिने गरेका छन्। उनीहरू स्याउ चानाका बोरा ल्याएर होलसेलमा बेचिरहेका छन्।

कोसेली घर जुम्लाका सञ्चालक गोविन्द आचार्य पछिल्लो समयमा गुणस्तरीय स्याउ चाना किसानले ल्याउने गरेको बताउँछन्। उनले हालसम्म तीन क्विन्टल स्याउ चाना बेचिसकेका छन्। मुगुको रारा हुँदै जुम्ला आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ नै स्याउ चाना हुने गरेको उनी बताउँछन्। उनले भने,‘जुम्ली स्याउको चाना पहिचानका रूपमा स्थापित भइसकेको छ। स्याउको स्वाद लिनकै लागि भएपनि कोसेली घरमा स्याउ चाना किन्नेको घुइँचो हुन्छ।’ यो बोक्न पनि सजिलो र सस्तो मूल्य पाउने भएकाले खासै समस्या छैन। गत वर्ष १५ क्विन्टल स्याउ चाना बेचेका आचार्य यो वर्ष ३० क्विन्टल बेच्ने दाउमा छन्। गोल्डेन स्याउको चाना बनाउँदा आकर्षक हुने किसान बताउँछन्।

‘पहिले निर्यात गर्ने साधन नहुँदा स्याउ कुहिन्थ्यो। अहिले सडक छ। प्रविधि पनि छ। स्याउ कुहिने सम्भावना नै छैन,’ स्थानीय किसान प्रेमबहादुर बस्नेत भन्छन्, ‘जुम्लाको स्याउ चाना देशका ठूला सहरसम्म पुग्छ। यो ब्रान्डका रूपमा स्थापित भइसकेको छ।

आगामी दिनमा स्याउमा किसानको ध्यान केन्द्रित गरेर चाना उत्पादन गर्ने लक्ष्य रहेको कृषि कार्यालय बताउँछ। जुम्लामा स्याउ चाना उद्योग स्थापना गर्नुपर्ने किसानको माग छ। पछिल्लो समयमा इटालियन स्याउ लगाउने चलन बढेको छ। इटालियन जातको फुजी स्याउको पनि चाना बनाउने गरिएको छ। पर्यटकले स्याउको चाना मिठो मानेर खाने गरेको कोसेली घरका सञ्चालक बताउँछन्। स्याउचाना जुम्ला सदरमुकाम खलंगाको दर्जनभन्दा बढी ठाउँबाट बिक्री भइरहेको छ।

प्रकाशित: २० मंसिर २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App