१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गन्तव्य तोकिए, पूर्वाधार छैन

कणालीको पर्यटकीय गन्तव्य गुठीचौर पुग्ने जीर्ण सडक । तस्बिरः धनबहादुर/नागरिक

जुम्ला - कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि ४० वटा पर्यटकीय गन्तव्य छनोट ग-यो। जसमा जुम्लाका चन्दननाथ मन्दिर, गुठीचौर, पातारासी र सिँजा भ्याली सभ्यता अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय क्षेत्रका रुपमा समेटिए। जुम्लाको त्रिवेणी दानसाँघु, चन्दननाथ मन्दिर, पातारासी हिमाल र गुठीचौर राष्ट्रिय स्तरका पर्यटकीय क्षेत्रका रुपमा समेटिएका छन्।

तर, प्रदेश सरकारले तोकेका ४० पर्यटकीय गन्तव्यभित्र परेका सबै पर्यटकीय क्षेत्रसम्म पुग्न कुनै पूर्वाधार नै छैनन्। ‘हचुवाका भरमा पर्यटकीय गन्तव्य तोकिए, स्थानीय जीवनबहादुर रोकायाले भने, ‘पूर्वाधारका हिसाबमा सबै पर्यटकीय क्षेत्र निकै कमजोर छन्। पर्यटक सहजै पुग्न सक्ने अवस्था छैन।

कर्णाली क्षेत्र पर्यटकीय सम्भावनाका हिसाबले निकै महत्वपूर्ण छ। तर, पर्यटन प्रवद्र्धनका क्षेत्रमा निकै कमजोर। पर्यटकीय गन्तव्य सूचीकृत हचुवाका भरमा गरिएको पर्यटन व्यवसायी बताउँछन्। जहाँ पर्याप्त पूर्वाधार छैनन्। पर्यटक आउजाउ गर्न समस्या छ। त्यो क्षेत्रमा पर्यटकीय गन्तव्य समेटिएका छन्। सडकले छोएको तर हरेक हिसाबले अनुकूल जुम्लाको तातोपानी धारा पर्यटकीय गन्तव्यको सूचीमा पर्न सकेन


जुम्लामा दुईवटा हिमाल छन्। एक पातारासी अर्को काञ्जिरोवा। त्यहाँ हिमाल आरोहण गर्न पर्यटक निकै लालयित छन्। यो क्षेत्रले आर्थिक समृद्धि हासिल पनि गर्न सक्छन्। तर, हिमालको बेस क्याम्पसम्म जानेबाटो छैन। बीचमा पर्यटक बस्ने ठाउँ छैन। कहीँकतै आइपुगेका पर्यटक ओडारमा बस्छन्। पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोरा पूर्वाधारबिनाका पर्यटकीय गन्तव्यले कुनै अर्थ नदिने बताउँछन्। यहाँको पर्यटकीय दृष्टिकोणलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन्।

उनले भने, ‘गाउँपालिका स्तरमा पर्यटन गुरुयोजना निर्माणमा जुटेका छौं। तर, गुरुयोजना अनुसार आर्थिक स्रोत जुटाउन सकिने अवस्था देखिँदैन। पर्यटकलाई हिमालसम्म पुग्ने पदमार्ग पहिलो प्राथमिकता बनेको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई पातारासी हिमालको बेस क्याम्पसम्म लैजाने व्यवस्था मात्र गर्न सके ह्वात्तै पर्यटक बढ्छन्।

पातारासी, काञ्जिरोवा हुँदै से फोक्सुण्डो जाने बाटो बनाउँदैछौं। अहिले त्यो हिमालमा पर्यटक आउँदैनन्। तैपनि कर्णाली सरकारले पर्यटकीय गन्तव्यभित्र सुचिकृत गरिरहेको छ। अध्यक्ष बोहोराले भने, ‘सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेर सस्तो लोकप्रियता कमाउनु भन्दा, कुन पर्यटकीय गन्तव्यमा कति पर्यटक भित्र्याउने भन्नेबारेमा सोच्न जरुरी छ। त्यसका लागि स्थानीय सरकार जस्तोसुकै साथ दिन तयार छ। ’

पञ्चायत कालमा एक जना विदेशी मरेपछि त्यो हिमाल पर्यटक चढ्नको लागि आउने गरेका छैनन्।  कहिलेकाही  हिमाल हेर्न आउँछन्। गाउँबाटै सेल्फी खिचेर फर्कन्छन्। बेस सम्म पुग्ने आँट सम्म गदैनन्। यो कर्णालीमा राम्रो पर्यटकीय गन्तव्य हो। अहिले पेरेगाउँसम्म गाडी जान्छन्। त्यहाँबाट हिँड्ने बाटो छैन। बस्ने ठाउँ पनि छैन।

जुम्लाको गुठीचौर निकै राम्रो पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। यो क्षेत्रसम्म पुग्न कच्ची सडकमात्रै छ। हिउँदमा धेरै धुलो र वर्षायममा हिलो धेरै हुने भएकाले आवतजावत गर्न समस्या छ। पर्यटकमैत्री संरचना छैनन्। चौरमा पर्यटकले पाल टागेर बस्नुपर्ने अवस्था छ। पर्यटक आकर्षित गर्ने आवश्यक भौतिक संरचना नहुँदा निकै समस्या हुने गरेको छ। यहाँको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सकेजतिको काम गरिरहेको छ। गुठीचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी भन्छन्, ‘पूर्वाधार अभावले पर्यटकलाई सास्ती भइरहेको छ। यो समस्या कर्णाली प्रदेश सरकारले बुझ्न जरुरी देखिन्छ।’

जुम्लाको चन्दननाथ मन्दिर कर्णालीकै प्रशिद्ध मन्दिर हो। यहाँको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य हो। तर, मन्दिरमा आउने पर्यटकमैत्री सडक छैन। सडक भए पनि व्यवस्थित पार्किङ स्थल छैन। मन्दिरको संरचना पर्यटकमैत्री छैन। सदरमुकाम क्षेत्र जताततै फोहोर बनेकाले पर्यटकलाई समस्या हुने गरेको स्थानीयको भनाइ छ। यसैगरी सिँजा सभ्यता पनि पर्यटन गन्तव्य हो। साँघुरो कच्ची सडक भएकाले पर्यटकलाई आउन निकै कठिन छ। दानसाँघु र त्रिवेणी धाम पनि पछि समेटिएका पर्यटकीय गन्तव्य हुन्। यहाँका संरचना निकै जीर्ण छन्। पर्यटकीय महŒवका हिसाबले कर्णाली क्षेत्र निकै अब्बल छ। तर, राज्यको ध्यान पर्यटन क्षेत्रमा लगानी बढाउने खालको छैन। उल्टै पर्यटकलाई सस्ती दिने प्रकारको छ।

पछिल्लो समयमा जुम्लामा कर्णाली प्रदेश सरकारको सहयोगमा ६ वटा पर्यटन पदमार्ग निर्माण हुँदैछन्। तर, प्रदेश आफैंले छनोट गरेको पर्यटकीय गन्तव्यमा जाने पदमार्ग परेका छैनन्। निकै कम महत्वका र व्यक्ति विशेषका आधारमा पर्यटन पदमार्ग निर्माण हुन थालेको स्थानीय बताउँछन्।

‘पर्यटकीय गन्तव्य छनोटका आधारमा पर्यटकीय क्रियाकलाप हुनुपर्ने हो,’ पर्यटन व्यवसायी ललित महत भन्छन्, ‘यहाँ पर्यटन क्षेत्रको महत्वभन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा योजना छनोट हुनुले निकै चिन्तित तुल्याउँछ।’ पर्यटकीय क्षेत्रबारे निर्णय गर्दा प्रत्येक जिल्लाका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति एकै थलोमा जम्मा भएर छलफलका आधारमा गर्नुपर्नेमा उनले जोड दिए। कर्णालीमा विश्व लोभ्याउने खालका पर्यटकीय स्थल छन्। तर, उचित संरक्षण र प्रचारप्रसार अभावले अघि बढ्न सकिएको छैन। यहाँको पर्यटन क्षेत्र सबैको साझा एजेन्डा बन्नुपर्ने तर्क पर्यटन व्यवसायीको छ। पर्यटकीय क्षेत्रमा पर्यटनमैत्री व्यवहार, पर्यटनमैत्री आवास र पर्यटनमैत्री वातावरणको खाँचो छ। साथै परम्परागत सांस्कृतिक, आर्थिक, सामाजिक संस्कार पनि उत्तिकै जरुरी छ।

प्रकाशित: १९ मंसिर २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App