१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायी आन्दोलनमा जाने

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले माग पूरा नगरेसम्म दबाबमूलक आन्दोलन गर्नुपर्ने निर्णय गरेको छ। भेलाले बैंक क्रेडिटलाइन र ठेक्काको म्याद थप लगायत माग पूरा नहुँदासम्म सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष रवि सिंहले देशभरबाट आएका व्यवसायीको भेलाले सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको बताए। ‘भेलाका सहभागीले आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै सोही अनुरुप अघि बढ्न अनुरोध गरेका छन्। अब आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,’ अध्यक्ष सिंहले भने।

अध्यक्ष सिंहले आन्दोलन कार्यक्रम तय गर्न बिहीबारै आन्दोलन मस्यौदा समितिको बैठक बस्ने बताए। महासंघका मानार्थ सदस्य तथा संघीय सांसद जिपछिरिङ लामा शेर्पाले राज्यको विभेदकारी नीतिका कारण व्यवसायीलाई ठूलो समस्या परेको बताए। महासचिव रोशन दाहालले राष्ट्रिय भेलाले बैंक क्रेडिलाइन तत्कालै हटाउन दबाब दिनुपर्ने निष्कर्ष निकालेको बताए। ‘बैंक क्रेडिटलाइनले निर्माण व्यवसायीलाई धराशयी बनाउने काम गरेको छ,’ उनले भने।

निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङले केही ठेकेदार कम्पनीका कारणले सबै व्यवसायीले शीर ठाडो पारेर हिँड्न नसक्ने अवस्था आएको बताए। उनले भने, ‘अब महासंघले ठूला ठेक्का के कारणले समयमै सम्पन्न भएन भनेर अध्ययन गरी आवश्यक कदम चाल्नुपर्ने बेला भइसक्यो।’ समयमै काम नगर्दा समग्र निर्माण व्यवसायीको बेइज्जत भएकाले पनि महासंघ गम्भीर भएर समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बेला आएको महासंघका सल्लाहकार जयराम लामिछानेले बताए।

प्रकाशित: ५ मंसिर २०७६ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App