१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तिहारपछि टेकिङ ओभर सर्टिफिकेट दिने

रसुवा – माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले तिहारपछि टेकिङ ओभर सर्टिफिकेट दिने भएको छ। दसैंअघि नै सर्टिफिकेट दिने योजना बनाएको आयोजनाले निर्माणका केही काम बाँकी रहेपछि दिएको थिएन।

आयोजनाको परीक्षणको काम सकिएको र उत्पादनमा पनि कुनै पनि समस्या नआएका कारण तिहार सकिएलगत्तै सर्टिफिकेट दिन लागिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘परफरमेन्स टेस्टको प्रतिवेदन आएसँगै सर्टिफिकेट दिनका लागि सबै चरण पूरा भएको छ,’ उनले भने, ‘ तिहार सकिएलगत्तै हामी व्यावसायिक उत्पादनमा जान्छौं।’

उनका अनुसार अहिले उत्पादन भइरहेको भए पनि सर्टिफिकेट दिएपछि मात्रै व्यावसायिक उत्पादनमा गणना हुन्छ। निर्माण सु्रु भएको साढे आठ वर्षपछि आयोजनाले उत्पादन सुरु गरेको हो। आयोजनाले तीन महिना अघिदेखि उत्पादन सुरु गरेको थियो।

निरीक्षणको काम सकिएपछि आयोजनाले सर्टिफिकेट प्रदान गर्ने छ। व्यावसायिक उत्पादन सुरु भएपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि हुन्छ। ६० मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् गत जेठ ३ गते र दोस्रो युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् साउन १७ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।

आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने छ। दुवै युनिटबाट ३०–३० मेगावाट विद्युत् उत्पादन हुन्छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजनाको निर्माण ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न सिजिजिसीसँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ।

आयोजनाबाट उत्पादन भएको विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको प्रसारण लाइनमार्फत लगिएको छ। जसमा पावर हाउस (सिम्ले)देखि थ्री बी हबसम्म १३२ केभी, थ्री बी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

प्रकाशित: १ कार्तिक २०७६ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App