काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस सेयरको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेसँगै कम्पनीको चुक्तापुँजी दुई अर्ब नाघेको छ।
कम्पनीको विशेष साधारण सभाले हालको चुक्तापुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो। अब कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ।
विशेष साधारण सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको एक करोड १७ लाख ४२ हजार तीन सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ। कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशनअनुसार चुक्तापुँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो।
काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी एक सय ४० भन्दा बढी स्थानबाट सेवा दिइरहेको छ। कम्पनीले विभिन्न १६ किसिमका जीवन बिमालेख प्रचलनमा ल्याएको छ। २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बिमालेख बिक्री गरी १५ अर्ब ३१ करोड बिमाशुल्क संकलन गरेको कम्पनीले जनाएको छ। प्राइम लाइफको जीवन बिमा कोषको आकार आठ अर्ब ९० करोड पुगेको छ।
प्रकाशित: ८ आश्विन २०७६ ०१:५५ बुधबार