१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

क्वारेन्टाइन नहुँदा व्यापारी मर्कामा, भन्सार राजस्व घट्दो

कपिलवस्तुकाे यशोधरा गाउँपालिकास्थित सुठौली भन्सार कार्यालय। तस्बिरः नागरिक

कपिलवस्तु – जिल्लाको यशोधरा गाउँपालिकास्थित सुठौली भन्सार कार्यालयमा ८० प्रतिशतभन्दा बढी राजस्व कृषिजन्य सामग्रीबाट उठ्ने गरेको छ। तर, त्यहाँ अहिलेसम्म कृषि र पशु क्वारेन्टाइन भने छैन। सरकारले स्तरोन्नति गरी भन्सार कार्यालय बनाएपछि क्वारेन्टाइन नदिँदा व्यापारी र भन्सारका कर्मचारी समस्यामा परेका छन्।

चालु आर्थिक वर्षको असोजदेखि स्तरोन्नति गरिएको सुठौली भन्सार कार्यालयमा क्वारेन्टाइन कार्यालय नहुँदा व्यापारी समस्यामा परेका हुन्। स्तरोन्नतिको निर्णयसँगै गत असोज ८ गते अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेको सुठौली भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा समस्या परेको हो।

सदरमुकाम तौलिहवा जोडिएको सुठौली छोटी भन्सार कार्यालयको स्तरोन्नति गरिए पनि खाद्य र पशु क्वारेन्टाइनको स्थापना हुन सकको छैन। जसले गर्दा तौलिहवा मर्यादपुर सडकखण्डमा घण्टौंसम्म नेपाल भित्रिने मालबाहक सवारीसाधन लाम लाग्ने गरेका छन्। अहिले खाद्यान्न, पशु र तरकारीलगायत सामग्री भारतबाट आयात गर्ने व्यवसायीले पशुको क्यारेन्टाइन गर्न कृष्णनगर र खाद्यान्नको क्यारेन्टाइनका लागि क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा धाउनुपर्ने बाध्यता छ।

क्वारेन्टाइन अभावमा मालबाहक सवारीसाधन पार्किङका कारण सडक आवागमनमा समस्या भई दुर्घटनाको सम्भावना बढेको स्थानीय बताउँछन्। हाल मकै र सोया डियोसी लगायतको क्वारेन्टाइन कृष्णनगरस्थित क्वारेन्टाइन कार्यालयले र आलु, प्याज र तथा तरकारीको  क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट क्यारेन्टाइन पास दिइँदै आएको भन्सार कार्यालयका प्रमुख तिर्थराज पासवानले बताए।

क्वारेन्टाइन नहुँदा आफूहरु निकै समस्यामा परेको स्थानीय व्यापारी मतिबुल्लाह मुसलमानले गुनासो गरे। क्वारेन्टाइनकै लागि बढी समय लाग्ने भएकाले सवारीसाधन र कामदारका लागि बढी मूल्य तिर्नुपर्ने व्यपारीको गुनासो छ। भन्सार स्तरोन्नतिपछि पनि क्वारेन्टाइन कार्यालय र भन्सारमा पर्याप्त पार्किङस्थल नहुँदा आफूहरुले जाँचपास गराई भन्सार महसुल तिर्न दिनभर लाग्ने गरेको भन्सार प्रतिनिधि कमाल हसन खाँले बताए।

‘भैरहवा र कृष्णनगरबाट क्वारेन्टाइनका कर्मचारी नआई भन्सार नै हुँदैन, हामीलाई निकै गाह्रो भयो,’ उनले भने, ‘भन्सार कार्यालयले दिने तर क्वारेन्टाइनले नदिने यो कस्तो निर्णय हो?’ उनले भने। भन्सार प्रतिनिधि कमल हसनले क्वारेन्टाइन नहुँदा व्यापारीलाई अनावश्यक झन्झट हुने गरेको बताए। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुमीले सुठौली भन्सारमा क्वारेन्टाइन नहुँदा व्यापारीलाई कारोबार गर्न कठिनाइ भएको बताउँछन्। ‘स्तरोन्नति भएको १० महिना भइसक्दा पनि अझैसम्म क्वारेन्टाइन दिइएको छैन,’ उनले भने। उनले सुठौलीमा चाँडै क्वारेन्टाइन कार्यालय स्थापना हुनुपर्ने बताए।

भन्सार प्रमुख पासवानले क्वारेन्टाइन नहुँदा व्यापारी मर्कामा परेको बताए। यसले यो नाकाको राजस्वमा पनि ठूलो प्रभाव परेको उनको भनाइ छ। अर्थ मन्त्रालयमा यस विषयमा पटक पटक ध्यानाकर्षण गराए पनि कुनै निकास नआएको उनले गुनासो गरे। नाकाको प्रमुख आम्दानीको स्रोतकारुपमा रहेको कृषिको आयात नै क्वारेन्टाइन नहुँदा रोकिएको उनले बताए।

भन्सार राजस्व घट्यो
क्वारेन्टाइनकै कारण सुठौली भन्सारमा राजस्व घट्दै गएको छ। चालु आर्थिक वर्षको फागुनमा चार करोड ३५ लाख राजस्व उठेको थियो। चैतमा चार करोड ६० लाख, वैशाखमा तीन करोड ३२ लाख तथा जेठमा दुई करोड २९ लाख राजस्व संकलन भएको थियो। क्वारेन्टाइन नहुँदा दैनिक र मासिक राजस्व संकलनमा कमी आएको भन्सार प्रमुख पासवनाले बताए।

प्रकाशित: २० असार २०७६ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App