१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

केरामा ढुसी र ब्याक्टेरियाको संक्रमण

रत्ननगर नगरपालिकामा गरिएको केराखेती। तस्बिर: सविता/नागरिक

चितवन - केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने लगायत समस्या देखिएपछि गरिएको परीक्षणमा ढुसी र ब्याक्टेरियाको संक्रमण पाइएको छ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बाली रोग विज्ञान महाशाखाको प्रयोगशालामा गरिएको परीक्षणमा ढुसी र ब्याक्टेरियाको संक्रमण भेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन चितवनका प्रमुख महेश्वर लामिछानेले जानकारी दिए।

नार्क, राष्ट्रिय फलफूल विकास केन्द्र, बाली संरक्षण प्रयोगशाला, केरा जोन र कृषि ज्ञान केन्द्र चितवनको टोलीले स्थलगत निरीक्षण गरेर गत चैतमा रोगको प्रकोप देखिएका बगानबाट नमूना संकलन गरेको थियो। कालिका, रत्ननगर र खैरहनी नगरपालिकाका विभिन्न स्थानबाट रोग, किरा र माटोको नमूना संकलन गरेर प्रयोगशालामा पठाएको थियो। परीक्षणमा केराको बोट ओइलाउने भनेर चिनिने पानामा विल्ट रोग लागेको प्रयोगशालाबाट जानकारी पाएको लामिछानेले बताए। यो रोग ढुसीका कारणले लाग्छ।

परीक्षणका लागि पठाइएको नमूनामध्ये एउटामा ब्याक्टेरियाको संक्रमण भेटिएकाले प्रयोगशालामा थप अनुसन्धान भइरहेको उनले बताए। केराको जरा र माटोमा बरोविङ निनाटोड जुकाको संक्रमण पाइएको छ। पछिल्लो तीन वर्षयता चितवनका केरामा यस्तो रोग देखिन थालेको छ। मालभोग जातका केरा बगैंचामा यस्तो समस्या देखिएकाले नमूना संकलन गरेर परीक्षण गरिएको हो। केराको बगान व्यवस्थापन नहुँदा यस्तो संक्रमण फैलिने लामिछानेले बताए।

संक्रमण नियन्त्रण गर्न पानामा विल्ट रोग लागेको बगानमा सुकेका, मरेका र रोग लागेका बोट नष्ट गरेर बगान सफा गर्नुपर्ने उनी बताउँछन्। साथै कार्बेनड्याजिमयुक्त विषादी दुई ग्राम प्रतिलिटर पानीमा राखेर केराको जरा र वरिपरिको माटो भिज्ने गरी राख्नुपर्छ। रोगको प्रकोप हेरी १० देखि १४ दिनको फरकमा तीनदेखि चारपटकसम्म यो विधि अवलम्बन गर्न सकिने नार्कको बाली रोग विज्ञान महाशाखा, केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।

यस्तै, बरोविङ निनाटोड जुका संक्रमण भएको बारीमा काटर््याप हाइड्रो क्लोराइडयुक्त विषादी एक केजी प्रतिरोपनीका दरले माटोमा प्रयोग गर्नुपर्ने सुझाव महाशाखाले दिएको छ। केराखेती गर्ने किसानले बगानमा रोग लाग्न र फैलिन नदिन बगैंचा व्यवस्थापनमा ध्यान दिनुपर्ने केरा जोनका प्रमुख लामिछानेले बताए। ‘पानी, हातहतियारका कारणले पनि रोग एक बोटबाट अर्कोमा फैलिन्छ,’ उनले भने, ‘केराखेतीको सुरुदेखि अन्त्यसम्म बगैंचा व्यवस्थापनमा ध्यान दिनुपर्छ, थोरै समय हेलचेक्र्याइँ गर्दा पनि रोग लाग्न सक्छ।’

केराका पुराना बगानमा रोग अवरोधक हरियो जातका केरा लगाउनुपर्ने अधिकृत ढुंगाना बताउँछन्। एक पटक केरा रोपेपछि ८–१० वर्षकै लामो अवधिसम्म केराखेतीलाई निरन्तरता दिने र सुरुमा रोपेको बिरुवाबाट निस्केका बिरुवाबाट उत्पादन लिने गर्दा पनि यो संक्रमण बढी हुने उनको भनाइ छ। संक्रमण हुन नदिन उपचार गरिएका बिरुवा रोप्नुपर्छ। लामो समय केराखेती गर्नुभन्दा समय समयमा बाली परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। ‘अहिले रोगले बगान नै सखाप हुनेजस्तो ठूलो समस्या आएको छैन,’ उनी भन्छन्, ‘अब पनि बगान व्यवस्थापनमा ध्यान नदिए ठूलो समस्या बन्न सक्छ।’

केरा जोन चितवनमा जिल्लामा गरिएको करिब ११ सय हेक्टर केराखेती सूचीकृत भएका छन्। भरतपुर महानगरपालिकाको वडा नं. १, रत्ननगर नगरपालिकाका र खैरहनी नगरपालिकाका सबै वडा, कालिका नगरपालिकाको वडा नं. १ देखि ८ सम्मका ६० केरा फार्म केरा जोनमा सूचीकृत छन्। भरतपुर महानगरपालिकाको जगतपुर, शुक्रनगरलगायत क्षेत्रमा गरिएको केराखेती जोनमा सूचीकृत छैनन्। करिब तीन सय हेक्टर केराखेती जोनभन्दा बाहिर रहेको जोनका प्रमुख लामिछानेले बताए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App