१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मोर र लुपेङक्वीबीच लगानीबारे छलफल

काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडका उपाध्यक्ष लुपेङक्वीबीच लगानी एवं उद्योग प्रवद्र्धनका विषयमा छलफल भएको छ।

चीन भ्रमणमा रहेका मोरले चीनको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका उपाध्यक्षसँग बेइजिङमा भेट गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने र दुईपक्षीय व्यापार प्रवर्धनबारे छलफल गरेका हुन्।

परिसंघका अनुसार त्यस अवसरमा लुपेङक्वीले नेपालमा पर्यटन प्रवर्धन एवं कनेक्टिभिटीको लागि बुद्धिस्ट सर्किटको विशेषतः लुम्बिनी क्षेत्रको विकास अवधारणा साकार पार्न आफू र आफ्नो संस्था तयार रहेको जानकारी गराएका थिए। उनले नेपाल चीन दुई छिमेकी मुलुक भए पनि नेपालले उल्लेख्य मात्रामा चीनमा निकासी अभिवृद्धि गर्न नसकेको भन्दै चीनले दिएको भन्सार छुटको सूचीमा समेत पुनरावलोकन गरी व्यावहारिक बनाउनेमा जोड दिने बताए।

लुपेङक्वीले दुई मुलुकबीच व्यापार सहजीकरणको लागि आफू र आफ्नो संस्थाले ‘नेपाल–चीन व्यापार फोरम’को माध्यमबाट सहजीकरण गर्ने र कनेक्टिभिटीमा जोडिएपछि नेपालले पूर्वाधारको क्षेत्रबाट  फाइदा लिने जनाए।

परिसंघ अध्यक्ष मोरले हालै नेपालमा भएको ‘नेपाल लगानी सम्मेलन २०१९’ र त्यसपूर्व चीनमा भएको पूर्वलगानी सम्मेलनमा सिसिपिआइटीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा नेपालमा चीनको लगानी वृद्धि हुने आशा व्यक्त गरे। लगानी र उद्योगसँग सम्बन्धित विदेशी लगानी ऐन, औद्योगिक, व्यवसाय ऐन लगायत अन्य समसामयिक ऐनहरुमा समयसापेक्ष परिवर्तन भई नेपाल लगानीको लागि उपयुक्त देश भएको जानकारी पनि अध्यक्ष मोरले दिए।

दुई मुलुकबीच व्यापार अभिवृद्धि गर्न गैरभन्सार अवरोध हटाउने लगायत मेला/प्रदर्शनीको आयोजना जस्ता प्रवर्धनात्मक कार्य दुवै मुलुकमा बढीभन्दा बढी हुनुपर्ने र यसमा परिसंघ र सिसिपिआइटीबीच बढी सहकार्य हुनुपर्नेमा अध्यक्ष मोरले जोड दिए। यस्तै, अध्यक्ष मोरले चीन भ्रमणमा सान्सी प्रान्तका गभर्नरलाई भेटी द्विपक्षीय आर्थिक एवं व्यापारिक विषयमा छलफल गरेका थिए।
 

प्रकाशित: १६ वैशाख २०७६ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App