२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ बाट

काठमाडौं- चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत १४ देखि १८ गतेसम्म व्यापार मेला गर्न लागेको हो।

मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, निर्यातकर्ताका र विदेशी मुलुकका उद्यमी महिलाको सहभागिता रहने महासंघकी अध्यक्ष शारदा रिजालले जानकारी दिइन्। आइतबार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रिजालले नेपालमा उत्पादन भएका वस्तु, हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले चौथोपटक भव्य रुपमा अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्न लागको बताइन्।

महासंघकी तृतीय उपाध्यक्ष शोभा ज्ञवालीले यो मेलाबाट नेपालका स्थानीय साधन र स्रोत प्रयोग गरी उत्पादन गरिएका वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणको समन्वय हुने बताइन्। उनका अनुसार ग्रामीण क्षेत्रका महिला उद्यमीलाई प्रोत्साहनस्वरुप विभिन्न विधामा सम्मान समेत गर्ने कार्यक्रम छ।

यो मेलाले महिला उद्यमीको श्रम र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उनीहरुको पहिचान बनाउन सघाउ पुग्ने महासंघले जनाएको छ। साथै उद्यमी महिलालाई अघि बढ्न प्रोत्साहित गर्ने विश्वास महासंघको छ।

मेला सफल बनाउन नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कोष, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, नेपाल इन्भेस्टमेन्ट बैंक, युरोपियन युनियन, एफसिए आदि लगायत अन्य संस्थाको सहयोग रहेको महासंघले जनाएको छ।

मेलामा हस्तकलका सामान, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका कपडा, हाते कागजका वस्तु, काठजन्य वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामान, विभिन्न सेवा प्रदायक संस्थाका स्टल मेलाका आकर्षण हुनेछन्।

यस मेलामा जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीको उत्पादनको एक सय सातवटा स्टल रहनेछन्। मेलामा बंगलादेश, भारत, कम्बोडिया, थाइल्यान्ड, पाकिस्तान लगायत मुलुकका महिला उद्यमीसमेत सहभागी हुनेछन्। मेलामा सिन्धुली जिल्लाको महिला उद्यमी सुकुमाया तामाङ विशेष आकर्षणको रुपमा रहने महासचिव दर्शना श्रेष्ठले जानकारी दिइन्। कम्बोडिया महिला उद्यमी संघबाट १० जनाको टोली मेलामा सहभागी हुने श्रेष्ठको भनाइ छ।

मेलामा सार्क राष्ट्र, युरोप लगायत देशहरुबाट ५० जनाभन्दा बढी विदेशी आयातकर्ता आउने महासंघको अपेक्षा छ। आयोजकका अनुसार ५० हजारले अवलोकन गर्ने मेलामा पाँच करोडको कारोबार हुने अपेक्षा छ।

 

 

प्रकाशित: ११ चैत्र २०७५ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App