१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

रानीपोखरीको पुनर्निर्माण तीन चरणमा

उपत्यकाको मुख्य सम्पदाभित्र अटेको रानीपोखरीको पुनर्निर्माण तीन चरणमा हुने भएको छ। गएको १४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि नयाँ मोडालिटीमा पुनर्निर्माण थालिएको हो। यसअघि विवादका कारण पुनर्निर्माण अल्झिएको थियो। 

अब बन्ने रानीपोखरी ग्रन्थकुट शैलीमा निर्माण गरिने बालगोपालेश्वर मन्दिर, रानीपोखरी र रानीपोखरी परिसर छुट्टाछुट्टै प्याकेजमा निर्माण गरिने प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए। उनले ‘कालीगढ’मार्फत् बनाउने योजनामा रहेको बताए। उनका  अनुसार रानीपोखरी परिसरमा सौन्दर्यकरण गर्नुपर्ने भएकाले त्यसका लागि टेन्डर हुनेछ। निर्माण गर्न लागिएको ‘ग्रन्थकुट’ शैली अनुसार मन्दिरमा एक वा चारवटा प्रवेशद्वार रहनेछ। प्रवेशद्वार अगाडि दुईवटा खम्बा राखिनेछ। निर्णय अनुसार पोखरीमा पानी अड्याउन कालीमाटी र बालुवाको प्रयोग गरिने छ। पुनर्निर्माणको क्रममा काठमाडौं महानगरपालिकाले बनाएको आरसिसी वाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तह अनुसार बनाइने छ। पोखरीको डिलको माथिल्लो भागमा पेटी लगाइने छ। पोखरीमा पानी संचितीकरणका लागि मेलम्ची पाइपलाइनसँग जोड्न मिल्ने गरी संरचना बनाइने जनाइएको छ। 

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा एक सय वर्षभन्दा पुराना पुरातात्विक सम्पदाको संरक्षण तथा जीर्णोद्धार गर्दा पुरानै सामग्रीबाट पुरानै अवस्थामा गरिनुपर्ने उल्लेख छ।
यसअघि महानगरपालिकाले ३ सय ५० वर्ष पुरानो रानीपोखरीको पुनर्निर्माणमा आधुनिक सामग्री (क्रंकिट)को प्रयोग गर्नेगरी ठेक्का लगाउँदा दुई करोड ५० लाख रूपैयाँभन्दा बढी स्वाहा भइसकेको छ। प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा वि.सं. १७२५ सालमा बनेको रानीपोखरीको पुनर्निर्माण गर्दा स्थानीयको सुझाव नलिएको र कानुनविपरित काम गरिएकाले अनेकन अल्झन आएका थिए। २०७३ वैशाखमा महानगरपालिकाले  ‘वल्र्ड वाइड कँडेल केएन केजी जेभी’लाई ६ करोड २९ लाख रूपैयाँमा रानीपोखरी पुनर्निर्माणको ठेक्का लगाएर काम थालेको थियो। 

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App