१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मासिँदै खेतीयोग्य जमिन

सानीभेरी गाउँपालिकामा निर्माण भइरहेका घर। तस्बिर : लोकेन्द्र/नागरिक

रुकुम - रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–४ छिन्खेतमा एक वर्ष पहिले २५ वटा कच्ची घर थिए। दुई–चारवटा पसल रहेको छिन्खेतमा अहिले भने गाउँपालिकाको प्रमुख बजार केन्द्र भएको छ। देश संघीय संरचनामा गएसँगै जिल्ला सदरमुकामबाट पाइने सेवाहरु गाउँमै पाइन थालेपछि यहाँ चहलपहल निकै बढेको छ।

अन्नबाली राम्रो उत्पादन हुने यो ठाउँमा अहिले करिब ८० भन्दा बढी पक्की तथा कच्ची घर निर्माण भएका छन्। व्यापार व्यवसाय सञ्चालन गर्नका लागि यहाँको खेतीयोग्य जमिन मासेर घर निर्माण गरिएको स्थानीय धिरेन्द्रकुमार शाहीले बताए। घर निर्माण गर्नका लागि जग्गा खरिद बिक्रीसमेत वृद्धि भएको उनको भनाइ छ। अहिलेसम्म यहाँको करिब दुई बिघा क्षेत्रफल जग्गामा घर निर्माण भएको शाहीले बताए। खोतीयोग्य जमिन मासेर घर निर्माण गर्न थालेपछि यहाँ अन्न उत्पादनमा समेत कमी आएको छ। गाउँपालिकाको प्रमुख केन्द्र बाँफिकोटमा रहे पनि छिन्खेतमा केही कार्यालय रहेका छन्।

यहाँको व्यापार व्यवसाय प्रवद्र्धनमा सहयोग पु-याउनका लागि शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, वन, कृषि, पशु एकाइ कार्यालय छिन्खेतमा स्थापना गरिएको गाउँ कार्यपालिका सदस्य सिता खड्काले बताइन्। कार्यालय स्थापना भएपछि यहाँको बजारमा आर्थिक कारोबार समेत वृद्धि भएको उनको भनाइ छ।

यस्तै जिल्लाको सानीभेरी गाउँपालिकाको सिम्लीमा पनि चहलपहल बढेको छ। गाउँपालिकाको केन्द्र रहेको सिम्ली बजारमा एक वर्षको अवधिमा ४३ वटा नयाँ घर निर्माण भएका छन्। गाउँपालिकाले दिएको जानकारी अनुसार सिम्ली बजारमा मात्र साना ठूला गरी ४३ घर निर्माणका लागि नक्सा पास भइसकेको छ। यहाँका स्थानीयले पनि खेतबारीलाई घडेरीका रुपमा बिक्री गरेर खेतीयोग्य जमिन मासेको बताइएको छ।

पक्की घर निर्माण गरेर होटल तथा पसल सञ्चालन गर्नका लागि व्यापारीले जग्गामा लगानी गरेको स्थानीय धनबहादुर ओलीले बताए। ‘पहिले खासै जग्गा बिक्री हुँदैनथ्यो,’ उनले भने, ‘गाउँपालिका कार्यालय स्थापना भएपछि त यहाँको जग्गा घडेरीका रुपमा बिक्री हुन थालेको छ।’ घडेरीका रुपमा एक सय वर्गमिटरलाई चार लाख रुपैयाँमा बिक्री गर्ने गरेको ओलीले जानकारी दिए।

जग्गा खरिदका लागि रुकुम (पश्चिम)का साथै जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया लगायत जिल्लाबाट समेत व्यापारी आउने गरेको उनले बताए। यो ठाउँ मध्यपहाडी लोकमार्गसँगै जोडिएको छ। त्यस कारण यहाँ जग्गाको कारोबार बढी भएको हो।

धान उत्पादन हुने खेतबारीमा घर निर्माण भएपछि यहाँ अन्न उत्पादनमा कमी आउने कृषि प्राविधिकको भनाइ छ। यकिन तथ्यांक नभए पनि यसअघि उत्पादन हुँदै आएको धानमा धेरै कमी आउने सानीभेरी गाउँपालिकाका कृषि प्राविधिक लोकबहादुर भण्डारीले बताए। महंगोमा जग्गा बिक्री हुने भएपछि किसानले पनि खोतीयोग्य जमिन बिक्री गर्ने गरेको उनको भनाइ छ।

रुकुम (पूर्व)को सिस्ने गाउँपालिकामा पनि समस्या उस्तै छ। यहाँ पनि अन्नबाली राम्रो उत्पादन हुने जमिनमा धमाधम घर निर्माण भइरहेका छन्। आफूलाई दुई छा खानाको लागि आवश्यक पर्ने अन्न उत्पादन हुने खेतबारी समेत नराखेर घर निर्माण गर्ने गरेको स्थानीय शिक्षक लोकमणि केसीले बताए।

जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटमा विशेषगरी घर निर्माणका लागि जग्गा कारोबार धेरै हुने गरेको छ। मध्यपहाडी लोकमार्गको छेउमा पर्ने जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका खेतीयोग्य जमिनमा दिनप्रतिदिन घर निर्माणको कामले तीव्रता पाएको छ। यसले गर्दा यहाँ पनि अन्न उत्पादनमा कमी आउने कृषि प्राविधिकको भनाइ छ।

किसानले खानाका लागि चामलको भर परेका कारण अन्न उत्पादन हुने जग्गा बिक्री गरेको स्थानीय बुद्धिजीवी मदन शाहको भनाइ छ। यसले भविष्यमा यहाँ अन्न अभाव भएर भोकमरी समेत हुनसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। जग्गा बिक्री वितरणमा स्थानीय सरकारले कडाइ गर्नुपर्ने उनको भनाइ छ। यसरी गाउँगाउँमा चहलपल बढे पनि रुकुम (पश्चिम)को सदरमुकाम खलंगामा भने जग्गा कारोबारमा कमी आएको छ। सबै काम आआफ्नो स्थानीय तहबाट हुने गरेकाले जिल्लामा चहलपहल घटेको बताइएको छ। चहलपहल घटेसँगै यहाँको व्यापार व्यवसायमा समेत कमी आएको यहाँका व्यवसायी दशरथ नेपालीले बताए। गत वर्षसम्म राम्रो व्यापार हुने गरेको भए पनि अहिले सबै स्थानीय तहमा बैंक स्थापना हुनुका साथै नागरिकतासमेत शिविरबाट वितरण हुन थालेपछि चहलपहल कम हुन थालेको उनको भनाइ छ।

प्रकाशित: ४ पुस २०७५ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App