१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

माडी भित्रिँदै विदेशी पर्यटक

पर्यटकलाई स्वागतमा खटिएका अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका सञ्चालक। तस्बिर : सविता/नागरिक

चितवन - माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ  र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ । वन्यजन्तु र मानिसबीचको द्वन्द्वले चिनिएको माडी अहिले पर्या–पर्यटनले चिनिन थालेको छ । होमस्टे निर्माण भएसँगै आन्तरिक पर्यटकको आगमन बढेको माडीमा विदेशी पर्यटक पनि आउने क्रम सुरु हुँदैछ।

माडी नगरपालिका–८, शिवद्वारमा पुन मगर समुदायले ०७२ पुस १२ गतेदेखि होमस्टे सञ्चालन गरेका छन् । शिवद्वारमा अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ११ वटा घरमा चलाइएको छ । एक घरले दुईवटा कोठाको होमस्टे बनाएका छन् । होमस्टे सुरु गर्दा जंगलले घेरिएको र वन्यजन्तुको त्रास भएको ठाउँमा पाहुना आउँदैनन् कि भन्ने डर भएको होमस्टे सञ्चालक समिति अध्यक्ष मोहनबहादुर पुन मगरले बताए।

भरतपुरबाट टाढा, निकुञ्ज पार गरेर होमस्टेमा बस्न पाहुना आउँछन् कि आउँदैनन् भन्ने द्विविधामा नै सुरु गरेको उनी बताउँछन् । वन्यजन्तु, वनजंगल, प्राकृतिक सुन्दरता र संस्कृति हेर्न पाहुना आउँदा होमस्टे चलेको छ । ‘नौ हजार जति पर्यटक आइसके,’ उनी भन्छन्, ‘विदेशी पर्यटक करिब दुई सय आएका छन् ।’ होमस्टे सुरु भएदेखि करिब ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एउटा घरले बढीमा ३६ हजार रुपैयाँसम्म मासिक आम्दानी गरेका छन्।

मासिक सरदरमा २२ हजार रुपैयाँ एउटा घरको आम्दानी भएको अध्यक्ष मगरले बताए । गाउँमा आम्दानी भित्रिएसँगै होमस्टेले शिवद्वार गाउँ चिनिएको छ । स्थानीय बाहिरबाट आएका पाहुनासँग बोल्न सक्ने, आफ्नो कुरा राख्नसक्ने र समयको महत्व बुझ्न सक्ने भएको उनी बताउँछन् । पाहुनाको सत्कार गर्ने र आर्थिक आम्दानी गर्न कुखुरा, हाँस घरमै पाल्ने, खेतीपाती लगाउने काममा समेत स्थानीय व्यस्त हुन्छन् । हरेक साता सामूहिक रुपमा गाउँ सफा गर्ने गरिन्छ।

यस वर्ष ६ सयदेखि एक हजार विदेशी पर्यटक माडी आउँदै छन् । सेप्टेम्बर २५ देखि डिसेम्बर २५ सम्मको तीन महिनाको अवधिमा १४ वटा समूह आउने मिति निश्चित गरिएको छ । ‘दसैंको दिनमा पनि पर्यटक आउने बुकिङ भइसकेको छ,’ अध्यक्ष मगरले सुनाए । एउटा टिममा १५ जनासम्म हुने जानकारी आएको उनले बताए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र अस्ट्रेलियन ट्राभल एजेन्सी इन्टर पीटको सहकार्यमा विदेशी पर्यटक माडीमा आउन लागेका हुन्।

पर्यटकको टोली लुम्बिनी, पोखरा घुमेपछि माडी आउने तराई भू–परिधि कार्यक्रम चितवनका कार्यक्रम संयोजक प्रेम पौडेलले बताए । पर्यटकका लागि तीन दिनको प्याकेज बनाइएको छ । होमस्टेमा बस्ने, स्थानीय संस्कृति हेर्ने, गाउँघरको जीवन अवलोकन गर्ने, माडीका पर्यटकीय क्षेत्र अवलोकन र चितवन निकुञ्जको सफारी गर्ने प्याकेज बनाइएको छ । माडीमा पहिलो पटक बुकिङ गरेर औपचारिक रुपमा विदेशी पर्यटक आउन लागेको उनी बताउँछन् ।
१४ वटा समुूह बाहेकका अरु पर्यटकबीचको खाली समयमा आउने गरी बुकिङ गर्ने तयारी ट्राभल एजेन्सीले गर्न लागेको पौडेल बताउँछन् । विदेशी पर्यटकलाई नै लक्षित गरेर होमस्टेमा ‘सोलार वाटर हिटिङ सिस्टम’को प्रयोग गरिएको छ । पानी शुद्धीकरण गरेर प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । मास्टर वेडको प्रयोग, बाथरुममा टायल राख्ने, एकै रङका पर्दाको प्रयोग गरी होमस्टेलाई एकरुपता दिइएको छ । पर्यटकले हिँडेर प्रकृतिको आनन्द लिन सकुन् भनेर माछा पोखरीसँगै करिब तीन किलोमिटर ड्याम बनाइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बघौडा समितिका अध्यक्ष प्रभुप्रसाद महतो यसअघि विदेशी पर्यटक माडी आए पनि सौराहा हुँदै पुग्ने गरेको बताउँछन् । पहिलो पटक माडीमा सिधै पर्यटक आउनु माडीको पर्या–पर्यटनका लागि महŒवपूर्ण कार्य भएको उनले बताए । ‘जंगल नै जंगलले घेरिएको माडीमा जनावरको चाप पनि धेरै छ,’ उनी भन्छन्, ‘जसलाई पर्या–पर्यटनमार्फत माडीले अवसरका रुपमा सदुपयोग गर्न सक्नुपर्छ ।’ सौराहाबाट पर्यटक आउने र माडी घुमेर बस्न सौराहा नै पुग्ने प्रचलनको समेत अन्य हुन सुरु भएको उनले बताए।

यसअघि व्यक्तिको सम्पर्कमा माडी पुगेर व्यक्तिगत घरमा पर्यटक बस्ने गर्दथे । होमस्टेका कारण माडीमा आन्तरिक पर्यटनको विकास राम्रो भएको उनले बताए । जसको आधारबाट बाह्य पर्यटक भित्र्याउन सकिन्छ । वन्यजन्तु, संस्कृति र कृषिमा आधारित पर्यटक माडीमा ल्याउन सकिने सम्भावना प्रशस्त रहेको छ । माडी नगरपालिकाले अहिले धार्मिक र कृषिमा आधारित पर्यटनलाई प्राथमिकता दिएको छ।

नेपालको सय नयाँ गन्तव्यमा राख्न माडीलाई पनि प्रस्ताव गरिएको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन्। केही पर्यटक अध्ययन तथा अनुसन्धानका लागि माडी आउने गरेका छन् । माडीको वैकुण्ठ ताल, सोमेश्वरगढी, बाल्मिकी आश्रम, शनि मन्दिरलगायत पर्यटकीय स्थल, माछापालन, वन, वन्यजन्तु र स्थानीय संस्कृति हेरेर पर्यटकले रमाइलो गर्न सक्छन् । माडी नगरपालिकामा पर्या–पर्यटनका विकासका लागि होमस्टे थपिने मेयर ढकाल बताउँछन्।

नगरपालिकाको सहयोगमा वडा नम्बर १ को वनकट्टामा बोटे समुदायको, वडा नम्बर ३ को बघौडामा थारु समुदायको र वडा नम्बर ९ मा राई समुदायको होमस्टे बनाइने तयारी गरिएको छ । जहाँ साँस्कृतिक तथा सामुदायिक भवन बनाउन नगरपालिकाले सहयोग गर्नेछ । होमस्टे चलाउन आवश्यकता परे नगरपालिकाले चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको मेयर ढकालले जानकारी दिए । होमस्टेमार्फत पर्यटकलाई माडी चिनाउने, पर्यटकीय पूर्वाधारमा जोड दिने मेयर ढकाल बताउँछन्।

प्रकाशित: ९ आश्विन २०७५ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App