१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एअर एसियाको मौका आज सकिँदै

काठमाडौं - मलेसियन एयर कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्कबापतको बक्यौता चुक्ता गर्न दिएको अन्तिम मौका मंगलबार सकिँदैछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयर एसियाले मंगलबार पाँच करोड रुपैयाँ बक्यौता चुक्ता गर्नुपर्छ । कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार मंगलबार बक्यौता रकम नबुझाए बुधबारबाट एयर एसियाको उडान रोकिनेछ।

विमानस्थल कार्यालयलाई एयर एसियाले उडान बन्द गर्ने पत्राचार गरेपछि भदौै २१ गते असोज ९ गतेसम्म बक्यौता चुक्ता गर्न मौका दिएको थियो । प्रवक्ता तिवारीले भने, ‘यो समयसीमा पनि बक्यौता नबुझाए उसको उडान रोकिनेछ ।’ उनका अनुसार बक्यौतासँगै एयर एसियाले विमानस्थललाई पेनाल्टी रकम पनि बुझाउन बाँकी छ । पहिलो चरणमा बक्यौता असुल गरेपछि पेनाल्टी उठाइने उनले बताए । बक्यौता र पेनाल्टी गरेर एयर एसियाले विमानस्थल कार्यालयलाई १८ करोड तिर्नुपर्छ । एयर एसियाले क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सेक्टरमा सातामा चार उडान गर्दै आएको छ । उसले यात्रु अभावको कारण देखाउँदै अक्टोबर १ (असोज १५) देखि एक वर्ष उडान बन्द गर्न निर्णय गरेको छ । तर, प्रक्रिया पूरा गर्दा समय लाग्ने भएपछि अक्टोबर १३ (असोज २७) बाट उडान बन्द गर्ने तयारी गरेको छ।

एयर एसियाले बक्यौता र विलम्ब शुल्क (पेनाल्टी) गरी विमानस्थल कार्यालयलाई ४० करोड रुपैयाँ तिर्न बाँकी थियो । केही समयअघि २२ करोड रुपैयाँ बुझाएको थियो । त्यसपछि पाँच करोड बक्यौता छ । १३ करोड भने पेनाल्टी रहेको विमानस्थल कार्यालयले जनायो । मंगलबार बक्यौता रकम बुझाए त्यसपछि पेनाल्टी उठाउन प्रक्रिया थाल्ने विमानस्थल कार्यालयको योजना छ।

यता एयर एसियाले भने मंगलबार बक्यौता रकम बुझाउने कुनै तयारी नगरेको बुझिएको छ । ‘बक्यौता बुझाउने विषयमा केन्द्रीय कार्यालयसँग छलफल भइरहेको छ,’ एयर एसियाका नेपाल प्रबन्धक निमेष शाक्यले भने, ‘हामी बक्यौता तिर्न तयार छौं ।’ उनले मंगलबार बक्यौता बुझाउनेबारे केही बताएनन् । अक्टोबर १२ सम्म उडान गर्ने उनले बताए । ‘बक्यौता चुक्ता गरेपछि मात्रै उडान बन्द गर्नेछौं,’ शाक्यले भने । पेनाल्टी चुक्ता गर्ने विषयमा भने दुईपक्षीय छलफल भइरहेको उनले बताए । स्रोतका अनुसार एयर एसियाले पेनाल्टी छुट गरिदिन पर्ने अडान राखेको छ । विमानस्थल कार्यालय भने पेनाल्टी छुट गर्न राजी छैन।

विमान कम्पनीले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ), पार्किङ शुल्क, सञ्चार परिवहन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, काउन्टर शुल्कलगायतको रकम विमानस्थल कार्यालयलाई बुझाउनुपर्छ । एयर एसियाले यिनै शीर्षकको रकम नियमित रुपमा बुझाएको थिएन । लामो समय शुल्क नबुझाएपछि विमानस्थल कार्यालयले एयर एसियालाई बारम्बार चेतवानी दिएको थियो।

प्रकाशित: ९ आश्विन २०७५ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App