१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नाका जोड्ने सडक फेरि अवरुद्ध

रसुवा–खोपाङभीरमा झरेको पहिरो ।   तस्बिरः नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण फेरि अवरुद्ध भएको छ। 

धुन्चे स्याफ्रु सडक खण्डको खोपाङभीरमा सोमबार बेलुका पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । यस स्थानमा बाढीले क्षति पुर्याउँदा करिब दुई हप्तासम्म सवारीसाधन सञ्चालन हुन सकेको थिएन । गत सोमबार ब्लास्टिङ गरेर सडक खुलाएको थियो। 

धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी र पहिरोका कारण सडकमा क्षति पुगेपछि करिब एक महिनासम्म कारोबार ठप्प भएको थियो । पहिरो पन्छाउने कार्य मंगलबार बिहानैदेखि सुरु भए पनि ठूलो पहिरो भएका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 

बुधबार बिहानबाट ठूलो क्षमताको स्काभेटर र लोडरको प्रयोग गरिने उनले बताए । ‘साना क्षमताका सवारीसाधन प्रयोग गरेर पहिरो पन्छाउन सकिने अवस्थाको छैन,’ प्रजिअ पौडेलले भने, ‘यसका लागि दक्ष जनशक्तिको समेत प्रयोग गर्छौं।’

बुधबार साँझसम्ममा बाटो खुलाउनका लागि प्रयास गर्ने उनले बताए । बाढीपहिरोले क्षति गरेको सडक मर्मत गरेसँगै गत मंगलबारदेखि नाकामा सवारीसाधन सञ्चालन सुरु भएको थियो । पाँच दिनमा करिब १० करोड राजस्व संकलन भएको थियो। 

चाडपर्वका लागि आवश्यक सामग्री आयात सुरु भएका कारण सडक खुलाउन जोड दिनुपर्ने व्यापारी पुरुषोत्तम पौडेलले बताए । चीनसँग जोड्ने अन्य नाका सञ्चालनमा नआएका कारण पनि छिटो सडक सुचारु गराउन आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ । भूकम्प र पहिरोका कारण बन्द भएको तातोपानी नाका खुलाउने प्रयास पनि भइरहेको छ। 

अन्य नाका सञ्चालन नभएका कारण सडक मार्गबाट हुने व्यापार यही नाकाबाट भइरहेको छ । भोट प्रवेश गर्ने छोटो दूरी भएका कारण तत्कालीन भोटका राजा स्रङचङ गम्पो र नेपालका राजा अशंवर्माको पालादेखि नै व्यापारिक कारोबार सुरु भएको पाइन्छ । परम्परादेखि नै कारोबार भइरहने नाकामा २०७१ मंसिरदेखि भने नियमित कारोबार भइरहेको छ। 

प्रकाशित: २७ भाद्र २०७५ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App