१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दुई करोडभन्दा बढीको लिची बिक्री

लिची बिक्रीका लागि दिक्तेल आउँदै गरेका कुभिन्डेका युवा। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको रावाबेंसी गाउँपालिकाका किसानले लिची बिक्रीबाट दुई करोडभन्दा बढी रकम भित्र्याएका छन्।

आर्थिक वर्ष ०७४/७५ मा रावाबेंसी गाउँपालिका–१ कुभिन्डे र रावाबेंसी गाउँपालिका–२ खार्पाका किसानले लिची बिक्रीवापत दुई करोड १० लाख बराबरको रकम भिœयाएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ।

कुभिन्डे र खार्पाका किसानको बगानमा यस वर्ष उत्पादन भएको एक हजार चार सय ८७ मेट्रिक टन लिची बिक्रीबाट करोडभन्दा बढी रकम भित्रिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका बागवानी विकास अधिकृत कौशलकुमार यादवले बताए।

यस आर्थिक वर्ष कुभिन्डे र खार्पामा मात्र एक हजार चार सय ८७ मेट्रिक टन लिची उत्पादन भए पनि गाउँमा खपत भएपछि करिब ६ सय मेट्रिक टन लिची बजार पुगेको अनुमान गरिएको छ । उक्त ६ सय मेट्रिक टन लिचीको मूल्य दुई करोडभन्दा बढी हुने कृषि विकास कार्यालयले जनाएको छ।

लिचीलाई प्रतिदानाका हिसाबले बिक्री गरिने भएकाले ४० देखि ४५ दानालाई एक केजी मानेर प्रतिकेजी ३५ रुपैयाँले मूल्य निर्धारण गर्दा रावाबेंसी गाउँपालिकाबाट सो मात्राको लिची बाहिरिएको हो । ‘एक हजार चार सय ८७ मेट्रिक टन लिची उत्पादन भए पनि सबै लिची बजारमा पुग्दैन,’ अधिकृत यादवले भने, ‘आन्तरिक खपतपछि करिब ६ सय मेट्रिक टन लिची बजार मात्र बजारमा पुग्छ।

हाल जिल्लाको चार सय हेक्टर क्षेत्रफलमा लिची खेती लगाइएकामा यस आवमा रावाबेंसी गाउँपालिकाबाट मात्र एक सय ७५ हेक्टरमा एक हजार चार सय ८७ मेट्रिक टन लिची उत्पादन भएको हो।

जिल्लामा हाल रावाबेंसी गाउँपालिकामा मात्र लिची उत्पादन हुने भएकाले सो गाउँपालिकाका स्थानीयले लिचीबाट राम्रो आम्दानी गर्दैआएका छन् । उत्पादित लिची दिक्तेल, बाक्सिला, ऐसेलुखर्क बजारमा खपत हुने गरेको छ । रावाबेँसी गाउँपालिकामा उत्पादित लिची उदयपुरको गाईघाट, कटारी, सप्तरी, ओखलढुंगा र सोलुखुम्बूसम्म पुग्ने गरेको यादवले बताए । कोसेलीकारुपमा काठ्माण्डौं, धरान, बिराटनगर लगायतका ठाउँमा पनि लिची पुग्ने गरेको छ । कुभिन्डे, हौंचुर र खार्पामा उत्पादन हुने लिची गाउँकै स्थानीयले ठेगेर बजार पु¥याउने गरेका छन् । बोटमा कम्तीमा १२० रुपैयाँमा एक सय वटाका दरले ठेग्न पाइने लिची बजारमा पु¥याएपछि प्रतिवटा कम्तीमा दुई रुपैयाँका दरले बिक्री हुन्छ । एक जनाले एक पटकमा हजारभन्दा बढि लिची दाना बजार पु-याउन सकिने कुभिन्डेकी रिता मगरले बताईन् । कतिपय लिची कृषक आफैले पनि डोकोमा बोकेर लिची बजार पु¥याउने गरेका छन् । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एक पटक राम्रो आम्दानी लिने गरेका छन् । जिल्लाका स्थानीय बजारमा जेठ पहिलो सातादेखि नै लिची बजारमा आउने गरेको छ।

रावाबेँसी गाउँपालिका–३ लामीडाँडा, रावाबेँसी गाउँपालिका–६ हौंचुर, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा समेत लिची उत्पादन हुने गरेको छ । लिचीको उत्पादनलाई मध्यनजर गर्दै कुभिन्डेको दम्कुलाई लिचीको पकेट क्षेत्रकारुपमा बिकास गर्न लागिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए । ‘कुभिन्डेको दम्कु लिची उत्पादनका लागि राम्रो ठाउँ हो,’ गाउँपालिका प्रमुख निरौलाले भने, ‘किसानको संबृद्धिका लागि दम्कुलाई पकेट क्षेत्रकारुपमा बिकास गर्ने कार्यक्रम अघि सारिसकेका छौँ।’

जिल्लाको याम्खा, दोर्पाचिउरीडाँडा, नेर्पा, खाल्ले, डुम्रेधारापानी, पाथेका, लामीडाँडा, राजापानी, विजयखर्क, हलेसी लगायतका ठाउँमा समेत लिची खेती लगाइएको छ । जिल्लाको सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, च्यास्मीटार, डिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन्।

प्रकाशित: २१ भाद्र २०७५ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App