१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टेलिकमका केही सेवा पुरानै मूल्यमा

काठमाडौं - नेपाल सरकारले मोबाइल डाटासहित इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाए पनि नेपाल टेलिकमले केही विशेष प्याकेजलाई पुरानै मूल्यमा दिने घोषणा गरेको छ । उपभोक्ताको रुचि र मागलाई सम्बोधन गर्दै केही अफरहरूमा सरकारको कर नलगाएको टेलिकमले जनाएको छ।

‘सरकारले इन्टरनेटमा पनि दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरे पनि केही प्याकेजलाई पुरानै दरमा दिएका छौं,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले नागरिकसँग भनिन्, ‘हामी सकेसम्म इन्टरनेटको मूल्य नबढोस् भन्ने चाहन्छौं ।’ग्राहकले अध्यधिक रुचाएका प्याकेजलाई पुरानै मूल्यमा दिने घोषणा गरेको हो । समर अफर अन्तर्गत एडिएसएल भोलुम बेस्ड प्याकेजसहित कम्तीमा सातवटा प्याकलाई सुहलियत दरमा दिएको बैद्यले बताइन्।

विकेन्ड प्याक
यो जिएसएम र पोस्टपेड मोबाइल विकेन्ड प्याक अफर प्रयोग गर्न सकिने छ । विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिन्छ । यो प्याक जुनसुकै दिन किन्न मिले पनि प्रयोग गर्न भने शुक्रबार, शनिबार र आइतबार मात्र मिल्ने टेलिकमले जनाएको छ । यो प्याक एक सय रुपैयाँमा पाइन्छ र सात दिनसम्म यसको समयावधि हुन्छ।

नाइट टाइम अनलिमिटेड डाटा प्याक
टेलिकमले नाइट डाटा प्याकमा अनलिमिटेड अफर पनि उपलब्ध भएको जनाएको छ । यस अफर अन्तर्गत १५ रुपैयाँमा एक रातका लागि, ८५ रुपैयाँमा सात रातका लागि र दुई सय ४० रुपैयाँमा ३० रातका लागि अनलिमिटेड डाटा उपलब्ध हुन्छ । प्रत्येक रात एक जिबी डाटा थ्रिजी÷फोरजीको गतिमा छ र त्यसपछि दुई सय ५६ केबिपिएसको गतिमा हुने टेलिकमले जनाएको छ।

कर्पोरेट युजर ग्रुप (सियुजी) प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकका लागि कन्भज्ड सियुजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी दुई सय, चार सय, सात सय, एक हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेज उपलब्ध गराएको  छ।

जिएसएम थ्रिजी - फोरजी, वान जिबी वान डे प्याक
यस प्याकअन्तर्गत जिएसएम थ्रिजी र फोरजी प्रयोगकर्ताले प्रतिदिन चलाउन एक जिबी प्याक उपलब्ध छ । प्याक अन्तर्गत ४५ रुपैयाँमा एक दिनका लागि एक जिबी, दुई सय ५० रुपैयाँमा सात दिनका लागि सात जिबी र आठ सय ५० रुपैयाँमा २८ दिनका लागि २८ जिबी डाटा प्याक उपलब्ध छ ।यस अन्तर्गत बोनसको रुपमा प्रत्येक दिन २० मिनेट चलाउन मिल्ने गरी डाटा स्ट्रिमिङ प्याक पनि उपलब्ध हुनेछ । स्ट्रिमिङ प्याक बढीमा चार सय एमबी चलाउन पाइने छ । सो प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ ।  

इन्डिया अफर डेली एन्ड विक्ली प्याक
नेपालबाट भारतमा कल गर्न टेलिकमले सस्तो दरको प्याकेज उपलब्ध गराएको छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थली प्याक गरी तीन प्रकारको प्याक अफर ल्याएको छ।

डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिनेछ । सो प्याक एक दिनका लागि मात्र उपलब्ध हुनेछ।
त्यसैगरी, विक्ली प्याक अन्तर्गत एक सय ५० रुपैयाँमा ६५ मिनेट र मन्थली प्याक अन्तर्गत पाँच सय रुपैयाँमा दुई सय २५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । प्याकबाट प्रतिमिनेट दुई रुपैयाँ २२ पैसासम्मको सस्तो दरमा भारतमा कल गर्न सकिने टेलिकमले जनाएको छ।

भिडियो एन्ड टिभी स्ट्रिमिङ आवरली प्याक
यो प्याक प्रयोग गरी वाउ टाइम टिभी एप्समार्फत टिभी हेर्न सकिनेछ । यस अन्तर्गत २० रुपैयाँमा एक घन्टाका लागि चार सय एमबी, ३५ रुपैयाँमा दुई घन्टाका लागि आठ एमबी र ५० रुपैयाँमा तीन घन्टाका लागि १२ सय एमबी डाटा उपलब्ध हुनेछ । सो प्याक जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ।

 

प्रकाशित: १० श्रावण २०७५ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App