२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुत्केरी भैंसीका लागि सुरक्षा भत्ता,पशुपालनमा आकर्षण बढाइने

बाजुरा- सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि बडिमालिका नगरपालिकाले सुत्केरी भत्ता कार्यक्रम ल्याएको छ। किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दाना पानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धी गर्न सुरक्षा भत्ता कार्यक्रम ल्याएको हो।

किसानहरुले पशु वस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दानापानीको कमिले दुध उत्पादन र पशुको स्वास्थ्य समेत कमजोर हुने हुँदा प्रोत्साहन स्वरुप भत्ता सुविधा दिने नीति लिएको छ। नगर पालिका पशु सेवा शाखाले यो वर्ष भैसीको सुत्केरी भत्ताका लागि ५० हजार रुपैया छुट्याएको छ।

मानव स्वास्थ्यको समेत ख्याल नगर्ने समुदायलाई पशुजन्य बस्तुको सुरक्षामा पनि ध्यान दिन लगाउने गरी प्रोत्सान स्वरुप कार्यक्रम सञ्चालन गर्न लागिएको शाखा प्रमुख शंकर सिंहले बताए। सुविधा बडिमालिका नगरपालिका क्षेत्र भित्रका भैसीपालक किसानलाई मात्र दिईने भएको छ।

उचित पालन पोषण र दाना पानी खुवाउँदा भैसीको सुरक्षा र दुध उत्पादनमा वृद्धि हुने उद्देश्यका साथ सुरक्षा भत्ता कार्यक्रम ल्याएको सिंहको भनाई छ। किसानले घाँसपात बाहेक अन्य पोषण युक्त खानेकुरा नदिने गरेको हुँदा पशुवस्तुको आयु कम हुने, स्वास्थ्य विग्रीएर बेला बेला बिरामी हुने र लगानी खेर जाने समस्या कम गर्न नयाँ अवधारणा ल्याएको नगरपालिकाको भनाई छ।

नगरपालिकाले भैसीका पाडा संरक्षणका लागि पनि प्रोत्सान भत्ता छुट्याएको छ। जन्मीने बित्तिकै पाडा फाल्ने चलन बढेसँगै भैसीको संख्यामा कमी भएको र मासु तथा दुध उत्पादनमा पनि कमी भएको हुँदा पाडा संरक्षणका लागि यो वर्ष ५० हजार रुपैया छुट्याएको छ।

पशु शाखाले यो वर्षकै कार्यक्रममा जिल्ला बाहिरबाट उन्नत जातका भैसी र गाई ल्याउन किसानका लागि ढुवानी खर्च दिने निर्णय गरेको छ। उन्नत जातका दुधालु भैसी र गाई भित्र्याउने लक्ष्य सहीत किसानलाई अनुदान स्वरुप २० हजारका दरले ढुवानी खर्च दिने शाखा प्रमुख शंकर सिंहले बताए। यो वर्ष १० वटा भैसी र ५ वटा गाईका लागि ढुवानी खर्च छुट्याईएको छ।

कृषि र पशुपालन व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम ल्याएर किसानलाई व्यवसायीक बनाउन खोजिएको नगर प्रमुख पदम बडुवालले बताए। तरकारी, दुध, मासुमा नगरपालिकालाई पाँच वर्षमा आत्मनिर्भर बनाउने योजना सहीत कार्यक्रम विनियोजन गरिएको बडुवालले बताए।

प्रकाशित: २७ जेष्ठ २०७५ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App