१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निर्माण सामग्रीको ‘हब’ बन्दै वीरगन्ज कोरिडोर

वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग तस्बिर : रितेश/ नागरिक

वीरगन्ज - भुकम्पपछिको पुर्ननिर्माण, र्यामिट्यान्सले साँचिन थालेको मानिसहरुको घर बनाउने सपना, देशमा सुरु भएका ठुला योजना र राजनीतिक स्थिरताको संकेतसंगै गति लिन थालेको बिकास निर्माणको कार्यले गर्दा निर्माण सामग्रीको उत्पादन ह्वातै बढेको छ । खास गरी वीरगन्ज औद्योगिक करिडोरनिर्माण सामग्रीको ‘हब’ नै बनेको छ।

करिडोरमा साना ठूला गरी १३ वटा सिमेण्ट उद्योग र त्यति नै सङ्ख्यामा फलामे डण्डी (छड) उद्योग, आधा दर्जन जस्तापाता उद्योग, ग्रिल सामग्रीका दर्जन बढी उद्योग, पिभिसी तथा प्लास्टिकका पाइपदेखी पानी ट्यांकसम्मका २ दर्जन बढी उद्योग, ट्रस बनाउने सामग्री, पेन्ट अन्य निर्माण समग्रीका उद्योगहरुको यहाँ बाहुल्य छ । लगानी परिमाण र सम्भावनाका आधारमा करिडोरलाई निर्माण सामाग्री उत्पादनको क्षेत्रका रुपमा ‘ब्रान्डिङ’ नै गर्न सकिने सरोकारवालाहरुले भनाइ छ।

करिडर मुख्य नाकासँगै जोडिएर रहेकाले कच्चा पदार्थको आयात सहज छ । यो क्षेत्र मुलुकको मध्यभागमा भएकाले बजारको पँहुचर उत्पादनको ढुवानी पनि सहज हुने उद्योगीहरु बताउँछन् । बारा–पर्सा करिडोरमा स्टार सिमेन्ट उद्योग प्रालि, नारायणी सिमेन्ट, जगदम्बा, अम्बे सिमेन्ट, नेपाल शालिमार सिमेन्ट, विश्वकर्मा सिमेन्ट, श्री सिमेन्ट, कृष्णा सिमेन्ट, आरएमसी सिमेन्ट, इन्टरनेशनल सिमेन्टलगायतका सिमेन्ट उद्योग छन् । अरनिको सिमेन्ट उद्योग यसैबिचमा करिडोरमा थपिएको छ । शुभ श्री जगदम्बा सिमेन्टले नयाँ प्रबिधिको सिमेन्ट उद्योगले नयाँ कारखाना थपेर दैनिक ४५ हजार बोरा सिमेन्ट उत्पादन क्षमतालाई दैनिक ८० हजार बोरा उत्पादन क्षमता पुर्याएको छ । अरु उद्योगले पनि आफ्नो क्षमता बिस्तार गर्दैछन्।

प्रतिदिन दुई सय ५० टनदेखि एक हजार ५० टनसम्म सिमेन्ट उत्पादन क्षमता भएका ति दर्जन भर उद्योगले समग्रमा करिब ९ हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्छन् । एउटा सिमेण्ट उद्योगमा २५ देखी ६० करोड रुपैयाँ लगानी भएको अनुमान गरिएको उद्योगीहरु बताउछन् । औसत करिब ४० करोडको हिसाबले सिमेन्ट उद्योगमा मात्र यस करीडोरमा ५ अर्ब भन्दा बढी लगानी रहेको सिमेन्ट उद्योगी बताउँछन्।

भारतबाट कच्चा पदार्थको रुपमा आयात हुने फलाम ल्याउन यहाँ रेलबाट एउटै खेपमा अढाई हजार टन ढुवानी गर्ने सुबिधा भएको सुक्खा बन्दरगाह र रक्सोलमा त्यसै गरी रेल्वेबाट खेप ल्याएर भित्र्याउन वीरगन्ज भन्सार नाका रहेका छन् । यस कारणले फलाम उद्योगका लागि देशकैसबभन्दा सुगम ठाउँ बन्न गएको छ वीरगन्ज करिडोर । जगदम्बा स्टिल, नारायणी रोलिङ मिल्स, हामा आइरन, अशोका स्टील, बन्दना रोलिङ, शाखः स्टीललगायतका साना ठूला गरी एक दर्जन फलामे डण्डी उद्योगहरु यहाँ छन् । यी उद्योगहरुको उत्पादन क्षमता दैनिक एक सय टनदेखि ८ सय टनसम्म छ । उत्पादन क्षमताअनुसार उद्योगमा लगानी आकार पनि फरक–फरक छ । फलामें डण्डी उद्योगमा लगानीको आकार सिमेन्ट उद्योगको भन्दा ठुलो छ।

ठुला अन्तराष्ट्रिय ब्राण्डका पेन्ट उद्योगदेखी ग्रील, पाइप र सधारण जालीसम्मका निर्माण सामग्री यहाँ बन्छ । वीरगन्ज करिडोरका बिभिन्न किसिमका निर्माण सामाग्री उत्पादक उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको प्रदेश २ को उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा सिमेन्ट उद्योगी अशोक बैद्य बताउछन् । ‘सही अर्थमा देशको निर्माण सामग्रीको हब नै हो यो करिडोर,’देशको ब्यपार घाटा कम गर्न र आयात प्रतिस्थापित गर्न यहाँ अलिकति सरकारको ध्यान पुग्न जरुरी छ,’ उनले भने ।

सिमेन्ट उद्योगका चुनौति
कच्चा पदार्थ आपुर्तीका पछिल्लोसमय असहजता भएपछि यहाँका सिमेन्ट उद्योगलाई भने चुनौति आइ परेको छ । भारतीय रेलवेले यसअघि क्लिङ्कर अनलोड हुँदै आएको सिमावर्ती रक्सोलका लागि लोडिङ रोकेपछि सिमेन्ट उद्योगको कच्चा पदार्थ किलिंकर त्यहाँ आउन २०७४ पुस ७ देखी बन्द भयो । अहिले १ सय २५ किलोमीटर टाढा रहेको भारतकै नारायणपुरबाट क्लिंकर ढुवानी गर्न सिमेन्ट उद्योगी बाध्य भएका छन् । ढुवानीमा बढेको लागतले सिमेण्ट उत्पादनमा महँगो भएको उद्योगी बताउँछन्।

‘क्लिंकर आयातमा समस्याले गर्दा यति धेरै लगानी भएको यहाँको सिमेन्ट उद्योग धरापमा छन्,’ बैद्यले भने, ‘यही समस्याले गर्दा हेर्दा हेर्दै सिमेन्टको मुल्य बोरामा सय रुपैया बढेर गयो, सिमेन्ट उद्योगीको समस्या त हुदै हो, आम सिमेन्ट उपभोक्ता र लगानी कर्ताल बैंकहरुको लगानीको सूरक्षाको सवाल पनि हो यो।’

देशको बिकास निर्माणको सबभन्दा ढुलो साझेदारको रुपमा निर्माण सामग्रीको औद्योगिक हब बनि रहेको वीरगन्ज करिडोरका सिमेन्ट उद्योग जोगाउन सरकार कैप्राथमिकता हुनु पर्नेमा समस्याप्रति सरकारी दतारुकता नदेखिएको उद्योगीबताउछन् । ‘अर्बौ रुपैयाँको लगानी भएका यहाँका सिमेण्ट उद्योगले कच्चा पदार्थको आपूर्तिमा गम्भीरसमस्या झेलिरहेका छन्,’ वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् श्री सिमेण्ट्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवाले भने ‘यस असहजताबाट निकासको विकल्पमा सरकार गम्भिर देखिएको छैन,’। नारायणी सिमेन्ट इण्डस्ट्रिजका प्रसिडेन्ट वर्कस उमेशचन्द ठाकुरले स्वदेशी खानीको सद्उपयोग खानी अगोट्ने प्रबृतिको कारण हुन नसकेकोले यसको ब्यवस्थापनमा जोड दिनुपर्ने बताउँछन् ।



 

प्रकाशित: १० जेष्ठ २०७५ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App