१५ माघ २०८१ मंगलबार
image/svg+xml
अर्थ

मौद्रिक नीति थप लचिलो बन्दै जान्छ: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति थप लचिलो हुने बताएका छन्।

शनिबारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय राष्ट्र बैङ्कले मौद्रिक नीति लचिलो बनाउँदै लगेको र आगामी दिनमा थप लचिलो हुँदै जाने बताएका हुन्।

अर्थमन्त्री पौडेलले मौद्रिक नीति राष्ट्र बैङ्कको क्षेत्राधिकार भए पनि पछिल्लो समय राष्ट्र बैङ्कले क्रमशः लचिलो बनाउँदै लगेको उनको भनाइ थियो। उनले मौद्रिक नीति थप लचिलो बनाउन सरकारले राष्ट्र बैङ्कसँग पहल गर्ने स्पष्ट पारे।

‘मौद्रिक नीति पछिल्लो समय राष्ट्र बैङ्कले लचिलो बनाउँदै लगेको छ’ पौडेलले भने ‘आगामी दिनमा थप लचिलो बनाउन सरकारले राष्ट्रबैंक सँग पहल गर्छ।’

अर्थमन्त्री पौडेलले राजनीति बिग्रिए, अर्थतन्त्र पनि बिग्रने र नेपालमा पनि राजनीति बिग्रिएकै कारण अर्थतन्त्र बिग्रिएको धारणा राखे।

‘राजनीति बिग्रिएकै कारण नेपालको अर्थतन्त्र बिग्रिएकाले राजनीतिक स्थिरता भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधारहरू भएका छन्’ पौडेलले भने ‘तर यसैमा चित्त बुझाएर बस्ने अवस्था भने छैन।’ उनले राजस्वमा सुधार हुँदै गएको, ब्याजदर घटेर एकल अङ्कमा झरेको, नीतिगत सुधार गरिएका कारण लगानीको वातावरण तयार हुँदै गएको र निजी क्षेत्रको मनोबल बढेको अर्थमन्त्री पौडेको दाबी छ।

उनले सरकारले विभिन्न २९ वटा कानुन परिमार्जन गरी सुशासन, सेवा प्रवाहमा सुधार र लगानी अभिवृद्धिका लागि वातावरण तयार पारेको पौडेलको दाबी छ।

‘नमिलेका कानुनहरू परिमार्जन गरेर  सरकार तीव्र आर्थिक सुधारमा लागिसकेका कारण निजी क्षेत्रले ढुक्क भएर व्यापार, व्यवसाय गर्दा हुन्छ। सरकार अभिभावकत्व निर्वाह गर्न तयार छ’ पौडेलले भने।

उनले सरकारले राजस्व र करमा भएको बेथिति हटाउने, उद्योगमा की जग्गामा लगानी गर्ने भन्ने उद्योगीको अन्योललाई अन्त्य गर्ने स्पष्ट पारे।

विराटनगर आसपासमा औद्योगिक क्षेत्र निर्माण, औद्योगिक प्रदर्शनीस्थल निर्माणलगायत पूर्वका उद्योगी व्यवसायीहरूले उठाउँदै आएका मागलाई तीनै तहका सरकारबिच समन्वय गरेर समाधान गर्न सरकार तयार रहेको अर्थमन्त्री पौडेलले बताए।

पौडेलले वैकल्पिक वित्त सम्बन्धी कानुन बनाएर विकास निर्माणका कामलाई व्यवस्थित बनाउने स्पष्ट पारे।

प्रकाशित: १२ माघ २०८१ १८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App