१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अझै पूरा भएन पक्की पुलको सपना

धादिङको थाक्रेमा अलपत्र अवस्थामा रहेको पक्की पुल।तस्बिर : सरिता/नागरिक

धादिङ – ढलान गरेर छाडिएको पुल, चारैतिर गाडिएका रड र यत्रतत्र छरिएका फर्मा । धादिङको थाक्रे गाउँपालिकाको महादेवबेंसीस्थित महेश खोलामा निर्माण सुरु गरिएको अलपत्र पुल हो यो । ६ वर्षअघि निर्माण सुरु गरिएको पुल अहिले अलपत्र अवस्थामा रहेका छ।

पुल बन्ला र सहज होला भनेर बसेका स्थानीयको आशा निराशामा परिणत भएको थाक्रेका रामचन्द्र रुपाखेतीले बताए । ‘मोटरेबल पुल बन्ने आशैआशमा बसेका छौं,’ रुपाखेतीले भने, ‘अलपत्र पुलको संरचना हेरेरै चित्त बुझाउनु पर्ने अवस्था आएको छ।’ 

   आर्थिक वर्ष २०६८÷६९ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित इसान कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । तर पुल निर्माण कार्य भने अलपत्र अवस्थामा रहेको छ । २५ मिटर लम्बाइको उक्त पक्की मोटरेबल पुल एक करोड ३० लाख रुपैयाँ लागतमा निर्माण गर्न ६ वर्षअघि ठेक्का सम्झौता भएको थियो । अहिले पुल ढलानका लागि राखिएका फर्मासमेत बाढीले बगाएको छ भने अन्य सामग्री अलपत्र परेका छन्।

पुलको ढलान कार्य सम्पन्न भइसकेको छ भने दायाँबायाँ बार लगाउन बाँकी छ। पुल निर्माणका लागि ल्याइएका फर्मा पनि बाढीले बगाएको छ भने बाँकी भएका पनि अलपत्र छन् । पुलको ९० प्रतिशत काम सकिसकेको छ तर पुल सुचारुका लागि कसैले पनि वास्ता गरेका छैनन् । पुलको काम नसकिँदा दायाँबायाँको बाटोको टेन्डरको कामसमेत रोकिएको स्थानीयले बताए । बन्दै गरेको पक्की पुलको नजिकै झोलुंगे पुल भएपनि जीर्ण बन्दै गएपछि स्थानीय थप समस्यामा परेका छन्।

पुल तरेर पुग्ने गोगनपुर, कल्लेरीलगायत क्षेत्र तरकारीको पकेट क्षेत्रको रुपमा चिनिन्छ । पुल नभएका कारण धादिङको गोगनपानी, कल्लेरी महादेवबेंसी, नुवाकोटको दुईपिपललगायत दर्जनौं स्थानमा उत्पादित कृषिजन्य वस्तु वर्षायाममा बिक्रीका लागि बजारसम्म ल्याउन असहज भएको स्थानीयको भनाइ छ।

पुल नभएकै कारण लगाएको तरकारी बाली त्यत्तिकै खेर जाने गरेको गोगनपानीका किसान कान्छी थापाले बताइन् । ‘मोटरेबल पुल बनेपछि तरकारी मोटरमा लगेर आम्दानी लिने स्थानीयको आशा निराशामा परिणत भयो,’ थापाले भनिन्, ‘अलपत्र पुल हेरेरै चित्त बुझाउनु पर्ने अवस्था छ ।’ यस क्षेत्रमा दैनिक दुई–तीन सय टन तरकारी उत्पादन हुने गर्छ । बोकेर बजारसम्म लैजान कठिन हुने
निर्माणधीन पक्की मोटरेबल पुल बन्न नसक्दा स्थानीय समस्यामा परेका छन् । ठेकदार कम्पनी इसान कन्स्ट्रक्सनका ठेकेदारले नै पैसा खाएर भागेको स्थानीयले आरोप लगाएका छन् । पुल बनाउनका लागि भारतबाट कामदार ल्याइएको थियो तर कामदारलाई समेत पैसा नदिइ ठेकेदार फरार भएपछि स्थानीय आफैंले पैसा उठाएर कामदारलाई तलब दिएका थिए । पुल निर्माणका लागि बालुवा, सिमेन्ट, रडलगायत सामग्री ल्याइएको पसलमा समेत पैसा तिर्न बाँकी रहेको स्थानीयले बताए।

  ठेकेदार फरार भए पनि सडक विभागले इसान कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखेको छ । ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै निर्माण नहुँदा स्थानीयमा निरासा छाएको छ । पुल नभएका कारण स्थानीयलाई  वर्षायाममा आवतजावत गर्न समेत समस्या हुने गरेको छ।

स्थानीयले पटकपटक पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गर्दै आइरहेका छन् । पुल निर्माण गर्ने ठेकेदार र कम्पनीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय सरोकारवाला निकाय र सांसदलाई आग्रह गरेका छन् । एक महिनाअघि धादिङका सांसद, स्थानीयको टोलीले सडक विभागको कार्यालयमा पुल निर्माणका लागि दबाब दिएका थिए।


 

प्रकाशित: ३० चैत्र २०७४ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App