४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा रेडपाण्डा संरक्षणमा दुई करोड खर्च गरिँदै

ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ। जिल्ला परियोजना सल्लाहकार समितिमा आइतबार मञ्चका कार्यक्रम संयोजक रमेश राईले उक्त जानकारी गराएका हुन्।

रेडपाण्डा नेटवर्कको सहयोगमा मञ्चले ४१ वटा कार्यक्रम सञ्चालन गर्दा उक्त खर्च गर्ने भएको छ। राईका अनुसार यो अवधिमा एक करोड ९२ लाख ५५ हजार आठ सय ३३ रूपैयाँ खर्च हुने छ। यो कर्मचारीको तलब, कार्यालय सञ्चालनसहितको सबै रकम हो। उक्त रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवद्र्धन शीर्षकमा हुने कार्यक्रम सञ्चालनका क्रममा खर्चिने हिमाली संरक्षण मञ्चले जनाएको छ।

मञ्चले रेडपान्डाको सम्भावित वासस्थान भएका जिल्लाका सबै क्षेत्रमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। मञ्चले फुङलिङ नगरपालिकासहितका निकायसँगको सहकार्यमा आउँदो असोज ५ गते रेडपाण्डा म्याराथनसमेत गर्ने गरी बजेट विनियोजन गरेको छ।

यस्तै वन अभिभावकका लागि पुनर्ताजकी तालिम, रेडपाण्डा अनुगमन ब्लकको पुनः रेखाङ्कन, रेडपाण्डाको नियमित अनुगमन, सामुदायिक वनमा चोरी–सिकारी तथा चोरी–निकासी न्यूनीकरण अनुगमन, कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण खरिद, रेडपाण्डा बुलेटिन प्रकाशनसहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले सञ्चालन गर्ने भएको छ।

रेडपाण्डाका प्रमुख वासस्थान भएका क्षेत्रका विद्यालयमा रेडपाण्डा तथा वातावरण संरक्षणसम्बन्धी स्थानीय पाठ्यक्रम सञ्चालन, रेडपाण्डा संरक्षण पुरस्कार, रेडपाण्डा संरक्षण सचेतना बोर्ड स्थापना, रेडपाण्डा संरक्षण सचेतना कार्यक्रम, रेडपाण्डा संरक्षणसम्बन्धी वृत्तचित्र निर्माण, रेडपाण्डा संरक्षण शिक्षाका लागि पोस्टर र पम्प्लेट छपाइ, रेडपाण्डाको आहार प्रजातिका बिरुवा उत्पादनका लागि नर्सरी निर्माण, वृक्षरोपण, पानीपोखरी निर्माण, कुकुरका लागि रेबिजविरुद्धको भ्याक्सिन र बन्ध्याकरण अभियान, सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नवीकरणसहितका कार्यक्रमसमेत सञ्चालन हुने भएका छन्।

यस वर्ष पाथीभरा क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुलसमेत निर्माण गरिने भएको छ। संरक्षण सिकाइमा नयाँपन दिन उक्त कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक राईले बताए। अल्लो कपडा बुनाइ, कटाइ, सिलाइ र प्रविधि हस्तान्तरणसहितका कार्यक्रम हिमाली संरक्षण मञ्चले अघि सारेको छ। गोठमा बस्नेका लागि सोलार सेट वितरण, रेडपाण्डाको वासस्थान व्यवस्थापन तथा बेसलाइन सर्वे, हिमालयन हाब्रे सेन्टरको थप व्यवस्थापन, हाब्रे संरक्षण केन्द्रको अध्ययन तथा अवलोकनमा आउनेलाई लक्षित गरी बाह्य कक्ष निर्माणसहितका कार्यक्रम सञ्चालन गर्ने हिमाली संरक्षण मञ्चले जनाएको छ।

सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गरी अघि बढ्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । शेर्पाले संरक्षण आफैंमा चुनौतीको विषय भए पनि समन्वय गरेर काम गर्नु साझा दायित्व हुने बताए।  

प्रकाशित: ३ भाद्र २०८१ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App