२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मकैमा दाना लागेन

मकैको घोगामा दाना नलागेको देखाउँदै बन्जरियाका किसान नमी साह । तस्बिर : उपेन्द्र/बारा

बारा- मकैको घोगामा दाना नलागेपछि मकै बाली लगाएका किसान समस्या परेका छन् । मकैको बीउ, जोताइ, सिँँचाइ, मलखादका लागि  प्रतिकट्ठा दुई हजार रुपैयाँभन्दा बढी खर्च गरेका किसान अन्तिममा घोगामा दाना नलागेपछि किसान चिन्तित बनेका छन्।  

फेटा, सिम्रौनगढ, प्रस्टोका बेलहिया, इनर्वा, मटियरिया, बन्जरिया, निजगढ, कोहल्बीलगायत गाउँका किसानले कात्तिक र असोजमा मकै छरेका थिए । ‘बढी उत्पादन होला भनेर यो सिजनमा मकै बालीमा धेरै मेहनत गरेको थिए,’ बन्जरीयाका किसान नमी साह भने, ‘तर, मकैको घोगामा दाना नलाग्दा लगानी डुबेको छ ।’ १५ कट्ठामा मकै छर्दा ३० हजार जति खर्च भयो । अहिले घोगामा दाना नलाग्दा ऋणमा डुब्नु परेको साहले बताए।

‘खेतमा लगाइएको मकैबाट प्रतिकट्ठा तीन क्विन्टलसम्म उत्पादन हुने आश गरेको थिए,’ साहले भने, ‘दाना नलागेर ९० हजार रुपैयाँ नोक्सानी भएको छ ।’ साहले बजारमा अन्य कम्पनीको बीउभन्दा महंगोमा पाइएको भारतीय पायनियर कम्पनीको ३५२२ जातको मकै छरेका थिए । महंगोमा खरीद गरेर ल्याएको मकैको घोगामा दाना किन लागेन भनेर सोध्दा डिलर सञ्चालकले कुनै जवाफ नदिएको गुनासो साहको छ।

मकैखेतीमा लगाएको लगानीसमेत डुबेपछि साह जस्तै अन्य किसान पनि समस्यामा परेका छन् । मकैको घोगामा दाना नलागेका किसानको पहिचान गरी राहत उपलब्ध गराउनु पर्ने माग किसानले गरेका छन् । घोगामा दाना नलागेको खबर पाएपनि पीडितको समस्या समाधान गर्न जिल्ला कृषि विकास कार्यालयले चासो देखाएको  छैन।

जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले किसानले खेतमा छरेको मकैको घोगामा दाना नलागेको उजुरी दिनहुँ आउने गरेको बताए । करिब चार हजार हेक्टर क्षेत्रफलमा लगाएको मकैको घोगामा दाना नलाग्ने समस्या देखिएको छ । बीउ उत्पादन गर्ने कम्पनीले सूचीकृत गराएको भन्दा फरक जातको बीउ बिक्री गरेको पाइएको छ । देशभरमा बढी मकै उत्पादन हुने जिल्लामध्ये बारा पनि एक भएकाले मकैको घोगामा दाना नलागेपछि मकै उत्पादनमा समेत कमी आउने साहले बताए।

उनले मकैको घोगामा दाना नलाग्दा धेरै किसान समस्यामा परेकाले सरकारले क्षतिपूर्ति दिने व्यवस्था मिलाउन जिल्ला कृषि विकास कार्यालय बाराले पहल गर्ने बताए । ‘कात्तिक महिनामा लगाइएको प्रायः सबै जातको मकैको घोगामा दाना लागेको छैन,’ साहले भने, ‘वैज्ञानिकले अनुसन्धान गरेपछि मात्र दाना नलाग्नुको कारण पत्ता लाग्ने छ ।’ड्रेगन, एनएमएच १२४७, एचएचएम ७३१, एनएमएच ७१३ र पायोनिर कम्पनीका हाइब्रिड मकैमा दाना नलागेको कृषि प्राविधिकको भनाइ छ।

१० डिग्रीभन्दा कम र ३५ डिग्रीभन्दा बढी तापक्रम भएका बेला हुर्केको मकैको घोगामा दाना लाग्दैन । यस वर्षको चिसो १० डिग्रीभन्दा कम पुगेकोले मकै बालीमा समस्या देखिएको वरिष्ठ कृषि विकास अधिकृत साहले बताए ।किसानले लगाएको चार हजार हेक्टर क्षेत्रफलको मकैको बोटमा दाना नलाग्दा तीन लाख ६० हजार क्विन्टल मकै उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक रहेको छ।


 

प्रकाशित: ११ चैत्र २०७४ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App