१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय महिला उद्यमी मेलामा अवलोकनकर्ताको चाप

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला अवलोकन गर्दै ।तस्बिर : अर्जुन तामाङ/नागरिक

काठमाडौं – तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा अवलोकनकर्ताको भीड लागेको छ । महिला उद्यमी महासंघ नेपालले ललितपुरको हेरिटेज भेन्यु गार्डेनमा आयोजना गरेको मेलामा स्वदेशी तथा विदेशी अवलोकनकर्ताको चाप बढेको हो। 

मेलाको तेस्रो दिन शनिबार निजी तथा सरकारी कार्यालयका प्रतिनिधसमेत अवलोकनका लागि पुगेको महासंघकी महासचिव दर्शना श्रेष्ठले बताइन्।‘यो वर्षको मेला फरक ठाउँमा आयोजना गरे पनि सहभागिताको दृष्टिकोणले उत्साह छ । ललितपुरमा मेला गर्दा भिजिटर कम हुन्छ कि जस्तो लागेको थियो, वास्तवमा त्यो भएन,’ उनले भनिन्, ‘विदेशीहरु पनि उत्तिकै मात्रामा मेला अवलोकन तथा आफूलाई मनपर्ने हस्तकलाको सामान किन्न आएको देखेँ ।

जसलाई आवश्यक थियो, उनीहरु मेलामा आएका छन् ।’सोमबारसम्म चल्ने मेलामा स्वदेशी, सार्क र युरोपेली मुलुकका ५० भन्दा बढी महिला उद्यमी सहभागी भएको महासचिव श्रेष्ठले बताइन् । उनका अनुसार शनिबार १० हजार दर्शकले मेला अवलोकन गरेका छन्।

महासंघकी कोषाध्यक्ष हजुरी विष्टले ग्रामीण क्षेत्रका महिला उद्यमीको कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि मेला आयोजना गरेकाले यस वर्ष थप प्रभावकारी भएको बताइन् । ‘मेलामा मेचीदेखि महाकालीसम्मका महिलाको सीप, कला, क्षमता र कुशलता प्रस्तुत गरेका छौं । विशेष गरी ग्रामीण महिलाको आर्थिक सुधार र वृद्धिसँग जोडिएकाले यो मेला हाम्रो प्रोजेक्ट नै हो,’ उनले भनिन्, ‘मेलामा महासंघको ३० वटा जिल्लाका प्रतिनिधि र महिला विभागको १० जिल्लाका उद्यमीसमेत सहभागी छन् ।’मेलामा हस्तकलाका सामान, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरमा बुन्ने सामान, हाते कागजका वस्तु, काठजन्य वस्तु, खानेकुराको परिकार, गरगहना, सजावटका सामग्री मुख्य आकर्षणका रुपमा छन्।

यस्ता वस्तुको आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्नुका साथै प्रचारप्रसार, महिला उद्यमीकोे श्रम, सीप र लगानीको पहिचान गर्ने लक्ष्य राखेर मेला आयोजना गरिएको हो । मेलामा अन्तर्राष्ट्रिय महिला उद्यमी र नेपाली महिला उद्यमीबीच बिटुबी मिटिङ समेत हुने आयोजकले जनाएको छ ।स्कटल्यान्ड, नेदरल्यान्ड, फिनल्यान्ड, जर्मनी, चीन, भारत, बंगलादेश लगायतका आयातकर्ताले शनिबार मेला भ्रमण गरेका छन् । मेला करिब ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

प्रकाशित: ११ चैत्र २०७४ ००:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App