४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वदेशी महले बजार नपाउँदा किसान पलायन हुने अवस्थामा

स्वदेशी किसानले उत्पादन गरेको महले बजार नपाउँदा किसान पलायन हुने अवस्थामा पुगेका छन्। भारतीय महले नेपाली बजार कब्जा गरेकाले स्वदेशी किसानको मह बिक्री नभएकाले किसान निराश भएका छन्।

भारतीय र विदेशी कम्पनीबाट उत्पादित मह छ्यापछ्याप्ती बिक्री भइरहँदा स्वदेशी मह भने बिक्री हुनै छाडेको गुनासो किसानको छ। किसानले आफूले उत्पादन गरेको मह बिक्री नभएपछि बजारको उचित व्यवस्था, मूल्य र सहजीकरण गरिदिन भन्दै सरकारलाई समेत गुहार्न पुगेका छन्।

जसअन्तर्गत बिहीबार नेपाल मौरीपालक किसान महासंघका प्रतिनिधिहरूले कृषिमन्त्री ज्वालाकुमारी साहलाई भेटी ज्ञापनपत्र समेत बुझाए। त्यतिमात्र होइन, नेपाली महको बिक्री र बजारीकरणमा सरकारले ध्यान नदिए काठमाडौंका सडकमा ल्याएर मह पोख्न बाध्य हुने नेपाल मौरीपालक किसान महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए।

‘मह र मौरीका बारेमा कृषिमन्त्रीलाई समस्या र त्यसका उपाय, राज्यले गर्नुपर्ने काम र उत्पादनको अवस्था लगायतका विषयमा ब्रिफिङ गर्‍यौं। भारतबाट आयातित महले बजार कब्जा गरेकाले नेपालमा उत्पादित मह बिक्री भएन यसले किसान पलायन हुने अवस्थामा पुग्यौं’, उनले भने।

विगत तीन वर्षदेखि नेपालमा उत्पादित मह बिक्री नभएर थन्किएको उनले बताए। हालसम्म करिब चार हजार मेट्रिक टन मह बिक्री नभइ स्टकमा थन्किएको उनी बताउँछन्। बहुराष्ट्रिय कम्पनी डाबरलगायतले बजार विस्तार गर्दा नेपाली किसानले उत्पादन गरेको महलाई पहिलो प्राथमिकता राख्नुपर्ने उनको भनाइ छ।

‘अहिले काठमाडौंलगायतका सहरमा पनि बाहिरको मह आयो। किसानको मह कत्ति पनि बिकेको छैन,’ उनले भने।

नेपाली महको तुलनामा भारतबाट सस्तोमा मह आयात भइरहेको सन्दर्भमा भन्सारमा मह आयातमा ६० प्रतिशत कर लगाउनसमेत किसानले कृषिमन्त्रीसमक्ष माग गरेका छन्। कात्तिकदेखि वैशाखसम्म भारतीय मह आयात पूर्ण प्रतिबन्ध लगाउनुपर्ने किसानको माग छ। कृषिमन्त्रीसमक्ष आफूले राखेका माग सम्बोधन नभए छिट्टै काठमाडौंका सडकमा स्वदेशी मह पोख्न बाध्य हुने पनि पौडेलले बताए।

प्रकाशित: २ वैशाख २०८१ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App