२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

१७ जनाको गिरोहविरुद्ध मुद्दा

अवैध हुन्डी, क्रिप्टोकरेन्सी र विभिन्न डिजिटल प्लेटफर्मबाट झन्डै तीन खर्ब रूपैयाँको कारोबार गरेको अभियोगमा १७ जनाको समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ। जसमा विवादित व्यवसायी विमल पोद्दारसमेत छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्तविरुद्ध दुई खर्ब ८६ अर्ब चार करोड २५ लाख आठ हजार ७५४ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

सिआइबीले मंसिर ६ गते हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२८, बागबजारस्थित घरबाट ४८ वर्षीय रूपेश श्रेष्ठलाई पक्राउ गरेको थियो। श्रेष्ठको साथबाट बरामद मोबाइल र रजिस्टरहरूको जाँच गर्दै जाँदा व्यवसायी पोद्दारसहित १७ जना यो धन्दामा रहेको खुलेको सिआइबीले जनाएको छ।

अन्य अभियुक्तहरूमा काठमाडौं–११, थापाथलीका ३५ वर्षीय आशीष अग्रवाल, बागलुङ नगरपालिका–७ घर भई टोखा नगरपालिका–१०, सामाखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जिसी, हेटौंडा उपमहानगरपालिका–१२ का ४९ वर्षीय कुमार परियार, झापा गौरादह नगरपालिका–४ का ४५ वर्षीय झनिन्द्रप्रसाद खतिवडा छन्। श्रेष्ठसहित अग्रवाल, जिसी, परियार र खतिवडा गरी पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। व्यवसायी पोद्दारसहित १२ अभियुक्त फरार रहेको सिआइबीले जनाएको छ। 

फरार अभियुक्तहरूमा काठमाडौं–२८, बागबजारका ४४ वर्षीय दिपेश श्रेष्ठ, काठमाडौं–३१ का अंशुल श्रेष्ठ, रचना शर्मा (रूपेश श्रेष्ठकी पत्नी), नुवाकोटको विदुर नगरपालिका–४ का शरद भट्टराई, धादिङको गल्छी गाउँपालिका–२ का वीरेन्द्र मगर, दाङको बबई गाउँपालिका–६ का बिगलसिंह शर्मा, सिन्धुलीको कमलामाई नगरपालिका–६ का ओमकुमार श्रेष्ठ, स्याङजाको पुतलीबजार नगरपालिका–४ का दीपक शर्मा, रामेछापको उमाकुण्ड गाउँपालिका–१ का वाङदेन फुन्सोक लामा, नवलपुर देवचुली नगरपालिका–१० का गोविन्दप्रसाद श्रेष्ठ र रामेछापको मन्थली नगरपालिका–१० का रुदे तामाङ छन्।

उनीहरूमध्ये व्यवसायी पोद्दार, दिपेश र अंशुल अमेरिकामा रहेको प्रहरीले जनाएको छ। दिपेश रूपेशका भाइ हुन्। यो समूहले अमेरिकादेखि नेपालसम्म र नेपालदेखि भारतसम्म अन्तरदेशीय सञ्जाल बनाएर नेपाल सरकारको राजस्वमा हानि पुग्नेगरी बैंकिङ प्रणाली छलेर हुन्डी, क्रिप्टोकरेन्सी र ‘क्यासएप’ बाट रकम स्थानान्तरणको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरी अनुसन्धानले रूपेशले मात्रै झन्डै दुई खर्बको कारोबार गरेको देखाएको छ। उनले क्रिप्टोकरेन्सीका विभिन्न वालेटहरूबाट मात्रै एक खर्ब ७१ अर्ब ६२ करोड १६ लाख ९८ हजार रूपैयाँभन्दा बढीको कारोबार गरेका छन्। यस्तै उनको साथबाट बरामद २ वटा ‘जोन रोवर्ट’ र ‘र्‍यान बेकर’ नामका दुई रजिस्टरमा दुई अर्ब २६ करोड रूपैयाँभन्दा बढीको कारोबार गरेको देखिन्छ। उनले ‘क्यासएप’बाट पनि १४ अर्ब ७४ करोड ३२ लाख रूपैयाँभन्दा बढीको कारोबार गरेको अभियोजनपत्रमा उल्लेख छ।

यस्तै आशीषले क्रिप्टोकरेन्सीका विभिन्न वालेटबाट ९६ अर्बभन्दा बढी र क्यासएपबाट एक अर्ब १४ करोड ९८ लाख रूपैयाँभन्दा बढीको कारोबार गरेको अनुसन्धानले देखाएको छ। पक्राउ अन्य अभियुक्तले पनि करोडौंको दरमा अवैध कारोबार गरेको पाइएको छ।

प्रकाशित: १० माघ २०८० ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App