१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शिक्षण पेसा छाडेर च्याउखेती

. टनेलमा नै आएका ग्राहकका लागि च्याउ जोख्दै दिलमान । तस्बिर : नागरिक

नुवाकोट – २०७२ को वैशाखमा आएको विनाशकारी भूकम्पबाट विस्तापित भएर साल्मे, भाल्चे, लच्याङबाट विदुरको सिम्बुटार झरेर बनाइएका बाक्ला टहराहरु । टहराबाट तप्पतप्प झर्ने शीतसँगै साल्मेका दिलमान तामाङकोे जागरिला हात । उमेरले ६० लागिसकेका तामाङको हिम्मत र जागरले फक्रिरहेका कन्य जातका च्याउले भने झै लाग्छ, नगरे के हुन्न र ?

सिरु उम्रिरहेको दुई रोपनी बाझो जग्गा भाडामा लिएर उनले च्याउखेती सुरु गरेका हुन् । मासिक चार हजार रुपैयाँ जग्गाधनीलाई दिनुपर्ने उनी बताउँछन् । तामाङले दुई लाख ६३ हजार रुपैयाँ लगानी गरी ६ वटा टनेलमा च्याउ लगाएका छन् । च्याउका टनेल देखाउँदै तामाङ भन्छन्, ‘हामी दुईजना बुढाबुढीको हेरचाहमा च्याउखेती राम्रो भएको छ । लगानी पनि उठिसक्यो ।’

२२ वर्षसम्म शिक्षण गरेका उनलाई अवकाशपछि दिन कटाउने मानो पचाउने केही रोजीरोटी गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो । ‘कृषि विकास कार्यालयबाट च्याउखेती सम्बन्धी सातदिने तालिम लिने अवसर पाए,’ तालिम लिँदा च्याउ फलिसकेको आभास भएको बताँउदै तामाङ भन्छन्, ‘जहाँ इच्छा त्यही उपाय भनेझै भयो । च्याउँ खेतीलाई व्यावसायिक रुपमा अघि बढाउनका लागि हेटौंडामा लिएको २१ दिने केन्द्रीय स्तरको तालिमले साथ दियो ।’ कन्यसँगै गोब्रे र सित्ता जातको च्याउ उत्पादन गर्ने सिप उनीसँग छ ।

दैनिक टनेलबाटै १५ देखि २० किलो सम्म च्याउ बिक्री भइरहेको छ । जिल्लाको बट्टार, विदुर, त्रिशुली, बेत्रावती, राइसिङ, हात्तिगौडा, बेत्रावती कालिकास्थानमा रहेको तरकारी पसल र घरघरसम्म आफैं च्याउ पुराउने गरेको तामाङले बताए । ‘व्यापारी टनेलमै आउँछन् । आफैंले बजार पु¥याउनुभन्दा केही सस्तोमा नै दिन्छु,’ उनले भने, ‘आफैं बजार पुर्याउदा बढी फाइदा हुन्छ । उनले टनेलबाटै प्रतिकिलो एक सय ६५ देखि एक सय ७० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् भने बजार पु¥याउदा प्रतिकिलो एक सय ८० देखि एक सय ९० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । लगानी उठिसकेकाले च्याउखेतीको यो पहिलो चरणमा नै डेढ लाख रुपैयाँ बचत हुने उनको अनुमान छ ।

जिल्ला कृषि विकास कार्यालयले तालिम दिएर ठूलो गुन लगाएको उनी सम्झन्छन् । ‘मलाई अरु कुनै संघसस्था र सरकारी पक्षले सहयोग नगरे पनि कुनै गुनासो छैन,’ उनले भने । कसैसँग हात फैलाउन नपरोस भनेर व्यवसाय सुरु गरेकाले जेजति आम्दानी छ त्यतिमा नै सन्तुष्टि लिनुपर्ने तामाङको भनाइ छ । सानै व्यवसाय गर्न सके पनि सजिलै जीवन चलाउन सकिन्छ भन्ने सन्देश तामाङको मिहेनतले दिएको छ ।

हाटबाजारबाट ९० किलो च्याउ बिक्री
नुवाकोटको सदरमुकाम विदुरमा रहेको इलम प्रशिक्षण केन्द्रमा हरेक सोमबार हाटबजार लाग्छ । माघ ८ गतेदेखि लाग्न थालेको हाटबजारमा उनले उत्पादन गरेको च्याउ सुपथ मूल्यमा उपभोक्तामाझ पु¥याउने मौका उनले पाएका छन् ।

हाटबजार सञ्चालन भएपछि उनलाई च्याउ बिक्री गर्न सहज भएको छ । ‘माघको सुरुमा सबै टनेलको च्याउ टिप्न योग्य भयो । त्यसबेला बजार पाउन अलि कठिन प¥यो,’ उनी भन्छन्, ‘हाटबजार सञ्चालनमा नआएको भए मलाई ३० हजार रुपैयाँ जति घाटा लाग्थ्यो । तीन घन्टामा ९० किलो च्याउ बेचेर सकियो ।’आफूलाई र पेसा च्याउ खेतीलाई चर्चामा हाटबजारले ल्याएको उनी बताउँछन् । कृषि विकास कार्यालय नुवाकोटले हाटबजारको सुरुवात र व्यवस्थापन गरिरहेको छ । हाटबजारले दिलमान तामाङ जस्तै जिल्लामा रहेका कृषकको कृषि सामग्रीको बजार व्यवस्थापन गर्न सहज भइरहेको छ ।



 

प्रकाशित: ६ फाल्गुन २०७४ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App