१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुमार्गीको रकम रोक्का नगर

काठमाडौं- सर्वोच्च अदालतले अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्रबैंकका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार कारण देखाऊ आदेशसहितको अन्तरिम आदेश जारी गरेको हो ।राष्ट्रबैंकले व्यवसायी सुमार्गीले स्याटेलाइटको नाममा इन्भेस्टमेन्ट बैंकमा राखेको रकमको स्रोत नखुलेको भन्दै रोक्का गरेको थियो । सर्वोच्चको आदेशपछि उनले उक्त रकम निकाल्न पाउनेछन् ।  
उद्योग विभागले सुमार्गीले विदेशबाट ल्याएको रकमको स्रोत नखुलेकोे भन्दै २०६९ चैत २८ मा रोक्का गर्न राष्ट्रबैंकलाई पत्र पठाएको थियो । सोही पत्रअनुसार राष्ट्रबैंकले रकम रोकेको थियो ।

व्यवसायी अजयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको खातामा विभिन्न बैंकमा रहेको रकम रोक्का नगर्न नेपाल राष्ट्रबैंकका नाममा सर्वोच्चको अन्तरिम आदेश ।

स्याटेलाइट प्रालिको तर्फबाट सुभाषचन्द्र पौडेलले गत आइतबार रकम झिक्न रोकिएको भन्दै राष्ट्रबैंक र इन्भेस्टमेन्ट बैंकलाई विपक्षी बनाई अन्तरिम आदेश माग गरी सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
सर्वोच्चले रकम रोक्ने कानुनी कारण र आधार पारदर्शी रुपमा नदेखिएको भन्दै रकम रोक्का नगर्न÷नगराउन आदेश दिएको हो । ‘रकम रोक्ने कानुनी कारण र आधार पारदर्शी रुपमा देखिएन,’ आदेशमा भनिएको छ । विषयको गाम्भीर्य हेरी दुवै पक्षलाई राखी फागुन २ मा छलफलका लागि आउन आदेश भएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।

खातामा रहेको पैसा रोकिँदा उद्योगलाई क्षति व्यहोर्न परिरहेको देखिन आउँदा, सम्पत्ति शुद्धीकरण र राज्यका अधिकार प्राप्त निकायबाट अनुसन्धान भइरहेको आदेशमा उल्लेख छ ।‘राज्यका कुनै पनि अधिकार प्राप्त निकायलाई बाधाअड्चन नहुने गरी र प्रस्तुत रकम र सोबाट हुने लाभसमेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको बखत भुक्तानी दिनू–दिलाउनू,’ आदेशमा भनिएको छ, ‘अर्को आदेश नभएसम्मका लागि खाता सञ्चालनमा अवरोध नगर्नू–नगराउनू ।’पौडेलले निवेदनमार्फत कर्जाका रुपमा भित्र्याएको रकम उपयोग गर्न नपाउँदा उद्योग धराशयी हुनसक्ने भन्दै खातामा रहेको रकम सञ्चालनका लागि माग दाबी गरेका थिए ।

‘उद्योगले १ अर्ब १५ करोड बढी घाटा व्यहोरी बन्द हुने जोखिम छ । त्यसो हुन गएमा दुर्गममा बस्ने लाखौं ग्राहक, कामदार, कर्मचारी, लगानीकर्तासमेत डुब्ने र देशको अर्थतन्त्रमा प्रतिकूल असर पर्न जानेछ,’ रिट निवेदनमा भनिएको छ, ‘उद्योगले ऋणबापत प्राप्त गरेको रकममध्ये ७० प्रतिशत रकम बैंकबाट भुक्तानी लिइसकेको र सानो अंश रकम भुक्तानीमा अनावश्यक निर्देशन माग्ने संदिग्ध रहेको स्पष्ट देखिन्छ ।’

व्यापारी सुमार्गीले विभिन्न विदेशी मुलुकका कम्पनीबाट अहिलेसम्म १२ अर्ब रुपैयाँभन्दा बढी रकम नेपालमा ल्याएका छन् । यसमध्ये सबैभन्दा बढी रकम कर छुट हुने मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डबाट ल्याएका हुन् ।उनले ल्याएको रकमको वैधताबारे सर्वत्र आलोचना भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान गरेका छन् । यी दुवै निकायले अहिलेसम्म अनुसन्धानको निचोड सार्वजनिक गरेका छैनन् ।

सुमार्गीले साइप्रसको एरवेल सर्भिसेज प्रालिका नामबाट पटकपटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक रकम ल्याएका छन् । उनले ब्रिटिस भर्जिन आइल्यान्डसको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट पनि रकम ल्याएका छन् । इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दोबाट पनि  सुमार्गी आफैले नेपालको बैंकखातामा रकम जम्मा गरेका छन् ।
सुमार्गीको कम्पनीले अदालतमा पेस गरेको कागजातमा पनि विभिन्न विदेशी कम्पनीबाट नेपालमा लगानीका लागि अर्बौं रकम ल्याएको उल्लेख गरिएको छ ।सुमार्गीले ल्याएको अधिकांश रकम कर छुट दिने मुलुकहरुबाट हो । यी मुलुकमा सम्पत्ति र करबारे छानबिन हु“दैन । कतिपयले अन्य मुलुकमा अवैध रकम स्थानान्तरण गर्न यी मुलुकमा कागजी कम्पनी खोल्ने गर्छन् ।

सुमार्गीले ल्याएको रकममध्ये राष्ट्रबैंक र सम्बन्धित बैंकका अधिकारीको स्वीकृतिमा करिब साढे ८ अर्ब रुपैया“ प्रयोग गरिसकेका छन् । बा“की रकम भने नेपाल इन्भेस्टमेन्ट र नबिल बैंकमा रोकिएको छ । यसबाहेक सुमार्गीले थप ११ अर्ब रुपैया“ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) का रुपमा ल्याउने भन्दै उद्योग विभागमा प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावको प्रक्रिया भने अघि बढेको छैन ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ल्याउन सरकारले उद्योग विभाग, उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड र प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ ।सुमार्गीले नेपाल ल्याएको र ल्याउन लागेको रकमबारे आलोचना भएपछि केही दिनअघि उनले पत्रकार सम्मेलन गर्दै आफूले अवैध काम नगरेको र सबै प्रक्रिया पु¥याएर विदेशी लगानी ल्याएको बताएका थिए ।    
 

प्रकाशित: २४ माघ २०७४ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App