५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङः ‘एकद्वार प्रणालि’ लागु गर्न खोज्दा चर्कियो विवाद, रोकिए उडान

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान। फाइल तस्बिरः नागरिक

उडानमा एकद्वार प्रणालि लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान रोकिएको छ। उडान गर्ने पाइलटहरुले विहीबारदेखि प्याराग्लाइडिङ उडाएका छैनन।  

प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले तोके अनुसार नै शुल्क लिनुपर्ने र आलोपालो प्रणालि कायम राखिरहनुपर्ने माग राख्दै पाइलटले उडान रोकेका हुन। पाइलटले उडान रोकेपछि पोखराको आकाशमा उड्न चाहेका पाहुना उड्न पाएनन्।

व्यावसायीका अनुसार ना ले झन्डै डेढवर्ष अघि प्याराग्लाइडिङ उडानमा एकरुपता कायम गर्ने भन्दै हरेक आधाघण्टा उडान गर्दा स्वदेशी वा विदेशी जो कोही पाहुनाले पनि १२ हजार रुपैयाँ तिर्नुपर्ने र ना मार्फत नै आलोपालो प्रणालि अनुसार उडान गर्नुपर्ने भन्दै नियम लगाएको थियो। तर, आन्तरिक पर्यटकका लागि त्यो शुल्क महंगो परेको, एकद्वार प्रणालिबाट जाँदा घाटा लागेको भन्दै केही कम्पनिले असहमत जनाईरहेका थिए।  

व्यवस्थित रुपमा संचालन नभएका र प्रवद्र्धनात्मक गतिविधिमा सरिक नहुने कम्पनिले पनि आलोपालो प्रणालि अनुसार उडान गर्न पाएर लाभ लिएको भन्दै केही कम्पनि असन्तुष्ट थिए। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी भइरहँदा विस्थापनको त्रासमा रहेका प्याराग्लाइडिङ व्यावसायीले ना को निर्णय विरुद्ध जान नसकी त्यो बेला आलोपालो प्रणालि नै स्वीकारेको भएपनि अहिले पनि त्यही नियम लागु गर्न खोज्दा विवाद चर्केको व्यावसायीले बताएका छन।  

व्यावसायीका अनुसार एकद्वार प्रणालिबाट संचालन गर्न मूल्य महंगो परेको, प्याराग्लाइडिङ उडानमा ना को एकाधिकार कायम भएको, प्रवद्र्धनात्मक गतिविधिमा सक्रिय नभएको, कार्यालय, कर्मचारी र सवारी व्यवस्थापन गर्न नसक्दा कतिपय कम्पनिको सेवा फितलो भएको गुनासो व्यावसायीको थियो। त्यसपछि २१ वटा कम्पनिले ना को निर्णय नमान्ने बताउँदै लिखित जानकारी दिएका थिए।  

हाल संचालनमा रहेका ५२ मध्ये २१ वटा कम्पनिले छाता संस्थाको निर्णय नमान्ने बताएपछि बुधबार मात्र आफुखुसी शुल्क तोक्न र आफैले संचालन गर्न पाउने गरि खुला गरेको ना का अध्यक्ष सुनिल भट्टराईले बताए। ‘छाता संस्थाले सबैलाई व्यवस्थापन गर्न चाहेको थियो। विगत १६ महिनादेखिकै प्रावधान नियमित गर्दै व्यवस्थापन गर्न चाहेका हौ, तर, २१ वटा कम्पनिले त्यो निर्णय मानेनन,’ भट्टराईले भने, ‘खुला बजार अर्थनीति अनुसार चल्ने, आफ्नो कम्पनिको मुल्य आफै तोक्ने भनेर कम्पनिले भनेपछि छाता संस्थाले पनि त्यही अनुसार खुला गरिदिएको हो। तर, पाइलटले भने पुरानै नियम लागु गर्नुपर्ने भनेर उडान रोकेका हुन्।’

अध्यक्ष भट्टराईका अनुसार छाता संस्थाको निर्णय नमानेपछि अबको मुल्य कम्पनि आफैले तोक्न पाउँछन्। ‘हिजो अप्ठेरो परिस्थिति थियो, विमानस्थलका कारण बिस्थापितको जोखिम थियो। जसले गर्दा हामी एकद्वार प्रणालिबाट संचालन गरेका हौ। मुल्य पनि संस्थाले नै तोकेको हो,’ उनले भने, ‘तर, अहिले त्यो कुरा मान्न सबै कम्पनि तयार भएनन। हाम्रो चाहना अझै ६ महिना व्यवस्थापन गर्ने थियो। तर कम्पनि असहमत भएपछि उनीहरुलाई नै छुट दियौं।’ उनका अनुसार कम्पनि आफैले शुल्क तोक्ने र व्यवस्थापन गर्नेबारे पाइलट असहमत छन्। जसले गर्दा उडान रोकेका हुन्।

‘कम्पनिलाई छुट दिँदा प्रतिश्पर्धा बढ्दै गएर सस्तोमा उडान हुने, उडान शुल्क घट्ने र पाइलटको कमिसन पनि घट्ने, नाफा कमाउने नाउँमा प्रतिश्पर्धा गर्ने भन्दै पाइलट तर्सिएका हुन्। पाइलटको माग पुरानै शुल्क कायम हुनुपर्ने र व्यवस्थापन ना ले नै गर्नुपर्ने भन्ने छ,’ उनले भने, ‘शुल्क महंगो भएकोले आन्तरिक पाहुनाका लागि केही घटाउनबारे हामी सबै सहमत थियौ। तर, शुल्क आफैले तोक्ने भन्नेबारेमा विवाद भयो। त्यसपछि हामीले स्वतन्त्र रुपमा खुला गरिदिँयौ। एकद्वार प्रणालि कायम राख्न संस्थाले चाहेन।’ खुला रुपमा जाँदा अस्वस्थ प्रतिश्पर्धा हुने र त्यसले आगामि दिनमा थप समस्या निम्त्याउन सक्ने भन्ने पाइलटको गुनासो रहेको उनले बताए।  

उडान रोकेका पाइलटले प्रतिश्पर्धा अनुसार उडान गर्दा समस्या नभएपनि शुल्कमा भने मनपरि हुने भन्दै एकरुपता चाहेको बताउँछन्। पाइलट क्लवका अध्यक्ष दीपक थापाले भने, ‘पाइलटलाई दिने सेवा सुविधा घटाउन पाइदैन, प्रतिश्पर्धाका नाउँमा सुरक्षामा खेलाँची गर्न नपाइने भन्दै उडान रोकेका हौ।’ छाता संस्थामार्फत जाँदा सबैलाई काम पुगेको र शुल्कमा एकरुपता भएको भएपनि अब खुला छाड्दा कम्पनिबीच प्रतिश्पर्धा हुन गई सस्तोमा सेवा दिनुपर्ने र त्यो अवस्थामा पाइलटको आम्दानी घट्ने डर रहेको उनले बताए।  

‘बजारमा मूल्य प्रतिश्पर्धा बढ्नेछ, त्यसले गर्दा कम मूल्यमा उडान गर्न बाध्य भइने र त्यसको कारण आम्दानीमा असर पर्ने त्रास पाइलटको हो,’ उनले भने, ‘प्रतिश्पर्धामा उडान गर्नुपर्ने अवस्थामा कहिलेकाँही हतार गर्दा जोखिम थपिने डर पाइलटलाई छ। त्यसैले छलफलका लागि उडान रोकेका हौं।’

प्याराग्लाइडिङ व्यावसायी सोवित बानियाँले एकाधिकार कायम नराखि स्वतन्त्र रुपमा व्यावसायीलाई उडान गर्न र मुल्य तोकेर प्रतिश्पर्धा गर्न दिनुपर्ने बताउँछन्। बानियाँका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने तयारीसँगै ना ले प्याराग्लाइडिङ उडानमा एकाधिकार राख्दै मुल्य तोकेर आलोपालो प्रणालिमा उडान गर्न बाध्य बनाएको थियो। तर, त्यसमा व्यावसायी सहमत थिएनन। 

‘ना ले नै मुल्य तोक्ने र आलोपालो प्रणालि अनुसार कम्पनिले उडान गर्नुपर्ने अवस्था थियो। म आफैले ल्याएको पाहुनालाई पनि आफ्नै कम्पनिबाट उडान गर्न नपाउने अवस्था थियो,’ बानियाँले भने, ‘किनकी आलोपालो प्रणालि अनुसार उडान गर्नुपर्दा मेरै पाहुना अन्य कम्पनिमार्फत उड्न जानुपर्दथ्यो। त्यसमा केही व्यावसायी असमहत थिए।’

आफ्नो सेवाको मूल्य आफैले तोक्न पाउनुपर्ने केही व्यावसायीको माग रहेको उनले बताए। ‘कमजोर कम्पनिलाई बचाउने निहुँमा ना ले एकाधिकार कायम गरेको थियो। तर, त्यो हामीलाई मान्य थिएन। त्यसैमा विवाद हुँदै जाँदा म आफैले ना को उपाध्यक्षबाट राजीनामा दिएको हुँ,’ उनले भने, ‘एकाधिकार कायम गरेर चल्नै नसक्ने कम्पनिलाई पनि सहज बनाईको थियो।’ आलोपालो प्रणालि अनुसार चल्दै गर्दा पाहुनालाई उडानमा झन्झट आइपरेको, मूल्य बढी परेको, सेवा सुविधा चुस्त नभएको उनले बताए।

‘निस्कृय व्यावसायीलाई बचाउनका लागि हिजो त्यो नियम लागु गरेको भएपनि अहिले स्वतन्त्र र खुला बजार अर्थनीति अनुसार हुनुपर्ने भनेर व्यावसायीले ना को निर्णयप्रति असमहत भएको हौ,’ उनले भने, ‘हिजो भद्रगोल थियो, अब कम्पनिले आफ्नो सेवाको मूल्य आफैले तोकेर शुल्क लिन्छन। त्यो शुल्क सेवाको गुणस्तर अनुसार सस्तो वा महंगो पर्न सक्छ।’

उनका अनुसार एकाधिकार र आलोपालो प्रणालिका कारण सेवा गुणस्तरीय नहुँदा प्याराग्लाइडिङ उडान नै भद्रगोल बन्दै जाँदा उडान संख्या पनि घटेको थियो। ‘गत अक्टोबर–नोभेम्बरमा दिनमा २ सय ५० हाराहारीमा उडान भए। त्यो बेला अझै धेरै उडान हुनुपर्ने हो, तर, व्यवस्थापन फितलो हुँदा चाहेका पाहुना पनि उड्न खोजेनन। ना ले तोकेको मूल्य लिनुपर्दा महंंगो परेको गुनासो पनि आयो,’ उनले भने, ‘अब हामी आफैले मूल्य तोक्छौ।’ उनका अनुसार ना ले एकद्वार प्रणालि लागु गर्नु अघि प्याराग्लाइडिङ उडानको शुल्क आधा घण्टाको ४ हजार रुपैयाँसम्म झरेको थियो। तर, पछि १२ हजार रुपैयाँसम्म पु¥याइएको थियो।  

प्रकाशित: २८ मंसिर २०८० ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App