५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

'एनसेलको सेयर बिक्रीमा कर छल्ने नियत'

आजियाटाले एनसेलमा आफ्नो स्वामित्व रहेको ८० प्रतिशत सेयर बिक्री गर्दा अरापदर्शी कारोबार गरेको छ। नेपालका नियामक निकायलाई थाहा नदिई कर छल्ने ध्येयले न्यून मूल्यमा सेयर बिक्री गरेको हो। सन् २०१६ को एनसेल किनबेचमा पुँजीगत लाभकर छल गर्ने प्रयास भएकोमा अहिले पनि अपारदर्शी ढंगले सेयर किनबेच गरेर राजस्व छल्न खोजेको सरोकारवालाले बताएका छन्।

विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको जनाएको छ। आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बेचेको हो। आजियाटा समूहको स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको हो। आजियाटाको सेन्टस् किटस् एन्ड नेभिसमा रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको ८० प्रतिशत सेयर दुई महिनाअघि दर्ता भएको कम्पनीले खरिद गरेको छ। एक अमेरिकी डलरमा खोलिएको बेलायतको कम्पनी स्पेक्ट्रालाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बिक्री गरेको हो।

सन् २०१६ मा आजियाटाले एनसेलमा रहेको रेनोल्ड्स होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको थियो। सात वर्षमा खरिद मूल्यको ४.६५ मूल्य अर्थात् ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री हुनुले कर छल्न प्रस्ट नियत देखिएको छ। कर छल्ने उद्देश्यले अरापदर्शी कारोबार गरेको दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीले बताए। ‘आइपिओ जारी गरेको भए पनि आफ्नो लगानी उठाउन सक्थ्यो,’ ती अधिकारीले भने, ‘लाटो हिसाबले पनि यति सस्तोमा कम्पनी बिक्री हुनै सक्दैन।’ दूरसञ्चार प्राधिकरणलाई सूचना नदिनुले पनि नियत राम्रो नभएको ती अधिकारीले बताए।

सन् २०१६ मा आजियाटाले एनसेलमा रहेको रेनोल्ड्स होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको थियो। 

एलसेल आजियाटाले घुमाउरो शैलीमा नेपाल सरकारलाई प्राप्त हुने करमा हानि पुर्‍याउने नियत देखिएको नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल बताउँछन्। खनाल एनसेल आजियाटाले अस्वाभाविक मूल्य र ग्रान्ड डिजाइनअनुसार नै सेयर बिक्री गरेको जस्तो देखिएको बताउँछन्। ‘एक वर्षकै करिब ६ अर्ब ६१ करोड नाफा गरिरहेको संस्थाले ५ करोड अमेरिकी डलरमा सेयर बिक्री गर्नुमा कुनै न कुनै भित्री स्वार्थ राखेर बेचेको हो कि भन्ने प्रशस्त शंका गर्न सकिने अवस्था छ,’ उनले भने, ‘एनसेल आजियाटाले वास्तविक मूल्यभन्दा पनि निकै कम मूल्यमा सेयर बिक्री गरेको देखिन्छ।’

एनसेल आजियाटा नेपालमा दर्ता भएको कम्पनी रहेको र उसले नेपालको कानुन मान्नुपर्ने खनालले बताए। एनसेलले कर निर्धारण गर्ने विभिन्न प्रक्रिया पनि पूरा नगरेको पूर्ववरिष्ठ निर्देशक खनालले दाबी गरे। उनले एनसेल आजियाटाले आफूले कमाएको लाभांश युकेमा पठाउन पनि राष्ट्रबैंकको पूर्वस्वीकृति अनिवार्य आवश्यकता पर्ने भएकाले पनि भविष्यमा पनि सहज वातावरण नहुने बताए। कानुनअनुसार नचलेको खण्डमा कम्पनीको लाइसेन्स पनि रद्द पनि हुन सक्ने अवस्था हुने उनले बताए। एनसेल आजियाटाले जसरी सहज ढंगले विदेशी कम्पनीलाई सेयर बेचेको छ। सोहीअनुसार नै मुनाफा लैजान पनि सहज नहुने उनको तर्क छ।

दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर एनसेल आजियाटाले भने सो प्रावधानलाई उल्लंघन गर्दै विदेशी भूमिमा नै सेयर बिक्री गरेको छ। 

सन् २०१६ को कारोबारमा कर छल्ने प्रयास भएकोमा अदालतको आदेशपछि एनसेलले पुँजीगत लाभकर, जरिवाना र ब्याजबापत करिब ६२ अर्ब रूपैयाँ तिरेको थियो। सन् २०१६ मा टेलियासोनेराले आजियाटालाई एनसेल बेच्दा पनि पुँजीगत लाभकर छल्न विदेशमै कारोबार भएको थियो। 

मुद्दा विभिन्न निकाय हुँदै सर्वोच्च अदालत पुगेपछि र सर्वोच्चले कर तिर्नुपर्ने आदेश दिएपछि मात्र कर तिरेको थियो।

नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई सुइँकोसमेत नदिई सेयर किनबेच भएको छ। अहिले किनबेच भएको मूल्य पत्याउन सकिने अवस्था छैन। एनसेलको सेयर किनबेचबारे औपचारिक जानकारी मागेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।‘प्राधिकरणलाई औपचारिक जानकारी प्राप्त भएको छैन,’ खनालले भने, ‘अनुमति लिएर मात्र कारोबार गर्न पत्राचार गरेका छौं।’ किनबेच भएको भए पनि कानुनअनुसार डिडिए गरेर कर निर्धारण हुने उनले बताए। दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर एनसेल आजियाटाले भने सो प्रावधानलाई उल्लंघन गर्दै विदेशी भूमिमा नै सेयर बिक्री गरेको छ। 

अहिले सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युकेका लगानीकर्ता सतिशलाल आचार्य हुन्। उनी सिंगापुरमा रहेका नेपाली मूलका व्यवसायी हुन्।

नेपाल सरकारका एक पूर्वसचिव एनसेल आजियाटाले पुँजीगत कर छल्नकै लागि नेपालका नियामकीय निकायलाई खबर नगरीकनै विदेशमा नै सेयरबिक्री गरेको आरोप लगाउँछन्।

‘प्रत्यक्ष वैदेशिक लगानीमा आएको एनसेल आजियाटाले नेपालको नियामकीय निकायलाई खबर नगरीकनै सेयर बिक्री गर्नुको भित्री उद्देश्य बिक्रीबापतको पुँजीगत लाभकर तिर्न नखोज्नु नै हो,’ ती पूर्वसचिवले भने, ‘यो निर्णयबाट नेपालले प्राप्त गर्ने ठुलो राजस्व गुम्ने देखिन्छ।’ 

एनसेलले गत शुक्रबार एक प्रेस विज्ञप्त जारी गरेर स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको जनाएको छ। अहिले सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युकेका लगानीकर्ता सतिशलाल आचार्य हुन्। उनी सिंगापुरमा रहेका नेपाली मूलका व्यवसायी हुन्।

‘एनसेलको सेयर होल्डिङका लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ। दूरसञ्चार क्षेत्रको मेरो बृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौं ग्राहकलाई विभिन्न परिष्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं,’ आचार्यले भने, ‘एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तन देखि हामी खुसी छौँ र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रूपमा अघि बढाउन हामी तत्पर छौँ।  

आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरू घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाइनेछ, जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवाप्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भनेका छन्।

प्रकाशित: १८ मंसिर २०८० ००:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App