१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनीमिल सञ्चालनमा नहुँदा किसान मर्कामा

रौतहट– रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स अझै पनि सञ्चालनमा आउन सकेको छैन । उद्योग सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । उखुको मूल्य निर्धारण नभएको र विगत दुई वर्षको करिब २२ करोड रुपैयाँ उद्योगीले किसानलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा उद्योग सञ्चालनमा नआउँदा उखुको तौल कम हुने त्रासले किसानलाई सताउन थालेको छ । अधिकांश किसानको खुँटी उखु खेतमै बिग्रिन थालेको किसानले बताएका छन् ।

सर्लाही, बारा लगायत जिल्लाका चिनीमिल सञ्चालनमा आइसक्दा पनि रौतहटको चिनी उद्योग सञ्चालनमा नआएपछि किसान घाटा लाग्ने त्रासमा छन् । बाराको चिनी उद्योगले रौतहटबाट हरेक दिन दर्जनभन्दा बढी ट्रक उखु लगिरहेको भएपनि रौतहटका किसानको खुँटी उखु खेतमै बिग्रन थालेको छ ।

खुँटी उखु समयमा क्रसिङ नहुँदा किसानलाई धेरै घाटा हुने देखिएको छ । गत साउनमा आएको ठूलो बाढीले कतिपय उखु खेतमै ढलेकाले ढलेको उखु २५ प्रतिशतसम्म सुकिसकेको छ । उद्योग सञ्चालनमा आउन ढिलाइ हुँदै गएपछि थप उखु सुक्ने भएकाले किसानलाई निकै घाटा लाग्ने त्रास बढ्न थालेको छ ।

उद्योग समयमा सञ्चालन नहुने पूर्व अनुमान गरेर नै कतिपय किसानले सस्तोमा खाँडसारी उद्योगलाई उखु बेचेका छन् । रौतहटमा सञ्चालित दर्जनभन्दा बढी खाँडसारी उद्योगले कम्तीमा ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेका छन् । उद्योगमा आएको खराबीले सञ्चालन हुन नसकेको र बिग्रेको पार्टको मर्मत कार्य भइरहेकाले छिटै सञ्चालनमा आउने उद्योग सञ्चालकको भनाइ छ । उद्योगको टर्बाइन र रोलरमा खराबी आएको र भारतको पन्जाबबाट मेकानिक बोलाएर मर्मतको काम भइरहेको स्रोतको दाबी छ ।
उद्योग मर्मत कहिलेसम्म हुने र कहिलेदेखि सञ्चालनमा आउने भन्ने अन्योलमा किसान छन् । केही दिनअघिसम्म उखु उत्पादक संघले पुरानो भुक्तानी नदिएसम्म उद्योग सञ्चालन गर्न नदिने बताइरहेकाले पनि उद्योग सञ्चालनमा ढिलाइ भएको बताइएको छ ।

प्रकाशित: १९ पुस २०७४ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App