४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वित्तीय विवरणपछि मात्रै आइपिओ

काठमाडौ– जलविद्युत् कम्पनीहरुले एकपछि अर्को गर्दै साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाबारे नागरिकले थाहा पाउने गरी सूचना दिन उनीहरुलाई निर्देशन दिएको छ । 

विभिन्न १६ वटा जलविद्युत् कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरिरहेका बेला बोर्डले आयोजनामा लगानी भएको रकमको नाफा के कति समयमा हुने हो र त्यसको आधार के हुने भन्ने जानकारी विवरणपत्रको मुखपृष्ठमा प्रस्ट देखिने गरी राख्न निर्देशन दिएको हो । 

आर्थिक रुपमा समस्यामा रहेका जलविद्युत् कम्पनीले समेत नागरिकलाई गुमराहमा राखेर साधारण सेयर जारी गर्ने प्रवृत्ति बढेपछि बोर्डले जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत, विद्युत् उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधिका बारेमा प्रस्ट जानकारी दिन भनेको हो । 

बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार जलविद्युत् कम्पनीले सञ्चालन अवधि तीन वर्ष बितिसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष नबितेको हकमा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रतिसेयर खुद सम्पत्ति, प्रतिसेयर आम्दानीबारे जानकारी दिन भनेको हो । 

जलविद्युत् कम्पनीहरुले स्थानीय प्रभावितलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत साधारण सेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएपछि जलविद्युत् कम्पनीले सेयर बिक्री गर्ने परिपाटी बढेको छ । 

 

प्रकाशित: १८ पुस २०७४ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App