१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ठेकेदारले काम छाडेपछि सडक विस्तार अलपत्र

काम छाडेपछि अलपत्र परेको लामोसाँघु–जिरी सडक । तस्बिर : रमेश

दोलखा – ४ महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ। 

सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचौरबाट शुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोट सम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ। 

दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले तीन महिना यता काम छाडेका कारण अलपत्र परेको हो । खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर रहेको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले भदौ देखि नै काम रोकेको हो । ३९ करोडको लागतमा बन्न लागेको यो खण्ड भारतीय कम्पनी सिमाञ्चल, र नेपाली कम्पनीहरू गौरी पार्वती र सुनौला खिम्तीले संयुक्त उपक्रममा ठेक्का लिएका हुन्। 

आयोजनाका अधिकारीहरूका अनुसार भदौ देखि काम रोकेका कारण भत्काइएको सडकमा संरचनाहरू अलपत्र परेका छन् । खाल्डा खुल्डी र दायाँबायाँ भत्काइएका संरचनाका कारण सडकमा आउजाउ गर्नेहरूले कष्ट ब्यहोरिरहेका छन् । २०७२ भदौ देखि काम शुरु भएको आयोजनाको काम ठेकेदारले छाडेका कारण अलपत्र पर्दा कामको समयतालिका समेत पछि धकेलिएको छ । यस अघि स्थानीय चुनावमा समेत करिब ३ महिना काम प्रभावित भएको थियो। 

पहिलो खण्डमा ठेकेदारले काम छाडेका कारण समस्या भएको आयोजना प्रमुख केदार नेपालले जानकारी दिए । ‘पहिलो खण्डमा काम ठप्प भएपछि ठेकेदार कम्पनीलाई पटक पटक पत्राचार गरिरहेका छौं’ – नेपालले भने ‘केही दिन भित्र सम्पर्कमा आउँछु भनेका छन्’। 

पहिलो खण्डमा ५० प्रतिशत मात्र काम सम्पन्न भएको उनले जानकारी दिए । काम सम्पन्न नभएका कारण गत भदौमा यो खण्डको ठेकेदारको म्याद एक वर्ष थप भएको थियो। 

उक्त एक वर्षको म्याद भेटाउन हाल सम्म ८० प्रतिशत काम सक्नुपर्ने भएपनि नसकेका कारण समयतालिकामा असर परेको आयोजनाले जनाएको छ । भूकम्प र नाकाबन्दीका कारण समेत काममा असर गरेको उनले बताए। दोश्रो प्याकेजको मुडेदेखि दोलखा सदरमुकाम चरिकोट सम्मको खण्डको काममा केही सुस्तता देखिएपनि काम भने सन्तोषजनक रहेको नेपालले जानकारी दिए । ३० किलोमिटर खण्डको यो सडक भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकर माली सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । दोश्रो खण्डको भने म्याद थप गर्नुनपर्ने आयोजनाले जनाएको छ। 

‘भुक्तानी नपाएपछि रोकेको हुँ’
पहिलो खण्डको ठेक्का लिएको नेपाली कम्पनी सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारीले आयोजनाले आफ्नो ४ करोड भुक्तानी रोकेका कारण काम ठप्प पारेको दाबी गरे । ‘ईष्टमेट र परिमाण भन्दा बढी काम लगाएको ४ करोड रुपैयाँ जेठदेखि नदिएका कारण बाध्य भएर काम रोक्नुपरेको हो’ भण्डारीले भने । उनले ह्युम पाईप र ग्याबिन वाल बडी बिछ्याएको रकम नपाएको दाबी गरे। 

यस्तै खाडीचौर देखि ९ किलो र सिलढुङ्गा क्षेत्रमा गएका ठूलठूला पहिरो नियन्त्रणका लागि स्टमेट र बजेट विनियोजन नगरेका कारण समेत काम गर्न नसकेको उनको दाबी थियो। 

प्रकाशित: १३ पुस २०७४ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App