१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनआइसी एसियाको सात करोड फिर्ता

काठमाडौं- एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी स्थानान्तरण गरिएको ४५ करोड रुपैयाँमध्ये सात करोड रुपैयाँ फिर्ता भएको छ।

बाँकी रकममध्ये ११ करोडबाहेक अरु रकम स्थानान्तरण हुनबाट जोगिएको राष्ट्र बैंकका अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एनआइसी एसिया बैंकको विभिन्न देशमा रहेको खाताबाट स्थानान्तरण गरिएको रकम फर्काउने क्रम जारी रहेको नागरिकलाई बताए । ‘स्थानान्तरण भएको ४५ करोडमध्ये सात करोड आइसकेको छ,’ मंगलबार नागरिकसँग शिवाकोटीले भने, ‘बाँकी रकम फर्काउने क्रममा छ ।’ उनका अनुसार ४५ करोडमध्ये करिब ११ करोड रुपैयाँ विदेशी बैंकले स्थानान्तरण गरिसकेकाले के कस्तो अवस्थामा छ अहिले नै भन्न सकिँदैन । अरु सबै रकम सुरक्षित छ ।’

राष्ट्र बैंकका अनुसार ह्याकरहरुले ४५ करोड रुपैयाँ स्विफ्ट गर्न निर्देशन पठाए पनि ११ करोडभन्दा बढी रकम स्थानान्तरण नभइसकेकाले जोगिएको छ । ११ करोड रुपैयाँ भने स्थानान्तरण भई ह्याकरहरुले भुक्तानी लिइसकेको आशंका छ । भुक्तानी भइसकेको रकम फिर्ता हुनेमा शंका छ ।

एनआइसी बैंकले भने पुरानो सर्भर डाउन गरेका कारण कति रकम चेरियो भन्नेबारेमा अझै स्पष्ट आंकडा आउन नसकेको जानकारी दिएको छ । पुरानोलाई बन्द गरेर सोमबारबाट नयाँ सर्भरबाट कारोबार भएकाले कति रकम सारियो अझै यकिन तथ्यांक आइनसकेको एनआइसी एसिया बैंकका सहायक प्रमुुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले बताए । ‘पुरानो सर्भर डाउन गरेर नयाँ सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘त्यसैले कति रकम विदेश पठाइयो भन्न सकिरहेका छैनौं ।’ बैंकको रकम बिमा हुने भएकाले यसले सर्वसाधारण ग्राहकलाई कुनै असर पर्ने छैन ।

बैंकबाट तिहारको मौका छोपेर सफ्टवेयर ह्याक गरी रकम  स्थानान्तरण गरिएको थियो । विदेशी बैंकले कसैलाई सारिएको रकम भुक्तानी दिइसकेको अवस्थामा भने फिर्ता ल्याउन गाह्रो हुन सक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । ह्याकरले विदेशका ६ बैंकमा एनआइसी एसियाबाट रकम स्थानान्तरण गरेको राष्ट्र बैंकको भनाइ छ ।

‘तिहारमा सर्भर डाउन भयो भनेर बसेका बेला ह्याक भएको रहेछ,’ न्यौपानेले भने, ‘राष्ट्र बैंक र विभिन्न देशका बैंकलाई तत्काल जानकारी गराइयो ।’ यसले धेरै क्षति हुन पाएन ।

घटनालगत्तै राष्ट्र बैंकसँगको समन्वयमा काम गरेकाले सबै पैसा स्थानान्तरण हुनबाट रोक्ने काम भएको केन्द्रीय बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

यो घटनापछि राष्ट्र बैंकले स्विफ्ट ह्याकको विषयमा सोमबार  सबै २८ वाणिज्य बैंकका सूचना प्रविधि विभागका प्रमुखहरुलाई बोलाएर सुरक्षित कारोबार कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । बैंकमा प्रयोग भएको प्रविधिलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेबारे पनि छलफल भएको डेपुटी गभर्नर शिवाकोटीले बताए ।

स्विफ्ट प्रणालीको प्रयोग आन्तरिकभन्दा पनि विभिन्न देशका बैंकहरुबीच रकम स्थानान्तरणमा हुने गर्छ । हाल दुई सय देशका ११ हजार संस्थाले स्विफ्ट प्रणाली प्रयोग गर्छन् ।

विदेशबाट स्वदेशमा रकम ल्याउन वा स्वदेशबाट विदेशमा पैसा पठाउन ‘स्विफ्ट’ भनिने बैंकहरुको विश्वव्यापी प्रणालीको प्रयोग गरिन्छ ।

नेपालमा विशेष गरी कामदारहरुले रेमिट्ेन्स पठाउन र व्यापारीहरुले आफ्नो व्यावसायिक लेनदेन गर्न यो प्रणाली अन्तर्गत कारोबार गर्छन् ।

एनआइसी एशियामा ह्याक भएसँगै बैंकर्स एशोसिएशनले पनि सदस्य बैंकहरुलाई यसमा सर्तकता अपनाउन भनेको छ । हाल नेपालका अधिकांश वाणिज्य बैंकहरुले यो प्रणालीको प्रयोग गरेका छन् ।

सफ्टवेयर प्रणाली ह्याक गरेर कसरी कारोबार भयो भन्ने विषयमा अनुसन्धान गर्न एउटा समिति गठन गर्ने निर्णय भएको छ । समितिले चाँडै अनुसन्धान सुरु गर्दैछ ।

 

 

 

 

प्रकाशित: ८ कार्तिक २०७४ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App