१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

काठमाडौं – अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकको थापाथली र राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाबाट उक्त परिणाममा नयाँ नोट साटिएको हो।

आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट नौ अर्ब १२ कारेड १७ लाख ५० हजारका नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले नागरिकलाई बताए । ‘पछिल्ला दिनमा नयाँ नोट साट्न आउनेको संख्या बढेको छ,’ उनले भने, ‘आइतबार मात्र करिब १५ सयजनाले नयाँ नोट साटेका छन् ।’ अघिल्ला प्रत्येक दिन हजार १२ सयले नयाँ नोट साटेको उप्रेतीले जानकारी दिए।

गत वर्षभन्दा करिब दोब्बर नयाँ नोट साटिने अनुमान गरिएको छ । गत वर्ष दसैंमा १० अर्ब रुपैयाँका नयाँ नोट साटिएको उप्रेतीको भनाइ छ । ‘यो दसैंका लागि १६–१७ अर्ब रुपैयाँको नयाँ नोट वितरण हुने अनुमान गरिएको छ,’ उनले भने, ‘असोज १० गतेसम्म नोट साट्ने व्यवस्था मिलाएका छौं।’

नयाँ नोट साट्न वाणिज्य बैंकलाई २१ करोड, नेपाल बैंक र कृषि विकास बैंकलाई १८–१८ करोड रुपैयाँ दिएको उप्रेतीले बताए।

हाल बजारमा चार खर्ब २९ अर्ब ४९ करोडको नोट रहेको जानकारी पनि उप्रेतीले दिए । शुक्रबारभन्दा आइतबार दुई अर्ब ८३ करोड रुपैयाँले सर्कुलेसन बढेको उनले बताए।

दसैंलाई लक्ष्य गर्दै केन्द्रीय बैंकले गत बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो । यसैगरी, संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायतलाई भने भदौ २१ गतेदेखि ३० गतेसम्म नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकको भनाइ छ।

बिहान १० बजेदेखि दिउँसो ३ः०० बजेसम्म नयाँ नोट साटिने व्यवस्था मिलाइएको छ । ‘बैंकिङ समयमा नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट र अन्य तीन सरकारी स्वामित्वका वाणिज्य बैंकबाट नयाँ नोट सोही समयमा साटिदिने व्यवस्था मिलाइएको छ।’ 

‘राष्ट्र बैंकको थापाथलीबाट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साटिँदै छ,’ उनले भने, ‘नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ।’

केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साटिरहेको छ । ‘सर्वसााधारण नागरिकले सहज रुपमा नयाँ नोट साट्न सकुन् भन्ने उद्देश्यले राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्ने पाउने व्यवस्था मिलाएको हो,’ उप्रेतीले भने, ‘यसले गर्दा विगतमा जस्तो भीडभाड हुने अवस्था छैन।’

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट तथा कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ।

यता, संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई भने सम्बन्धित संस्थाको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट साट्न सक्छन्। 

उपत्यकाबाहिरका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकको भनाइ छ । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई सुकिला नोट साटिदिने व्यवस्था मिलाइएको छ,’ उप्रेतीले भने, ‘उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण गरिएको छ।’

बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट नयाँ नोट साटेर पनि ग्राहकलाई वितरण गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई मात्र नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएबापत अतिरिक्त आम्दानी हुँदैन तर उनीहरुले सम्बन्ध सुधारका लागि नयाँ नोट साटिदिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन्। 

नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दसैंमा सबैभन्दा बढी ५, १०, २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय खाद्यान्न, लत्ताकपडा र यातायात खर्च बढेसँगै साना दरका नोटभन्दा मध्यम खालका नोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन्। 

प्रकाशित: २ आश्विन २०७४ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App