२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लम्पी स्किनले गण्डकीमा मात्र ३७ सय बढी पशु मरे

गाई र गोरुको संख्या करिब बराबरी

पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ।  

गण्डकी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी डा. राजेश चौधरीका अनुसार प्रदेशमा अहिलेसम्म ७४ हजार २ सय ९० वटा पशु यो रोगले बिरामी परेका छन्। ती मध्ये ३५ हजार ८ सय ३८ वटा पशु निको भइसकेका छन। बाँकी पशु बिरामी रहेको चौधरीले बताए। ‘यो रोगले अझै पनि पशु बिरामी हुन छाडेका छैनन। संक्रमित मध्ये आधा भने निको भईसकेका छैनन,’ उनले भने, ‘बिरामी मध्ये केहीको अवस्था गम्भिर छ।’  

चौधरीका अनुसार प्रदेशमा अहिलेसम्म १६ सय २१ वटा गाई र १६ सय १६ वटा गोरु लम्पी स्किन रोगले मरेका छन्। त्यस्तै ५० वटा भैंसी र ४ सय ५५ वटा बाच्चाबाच्छी पनि यही रोगले मरेका छन्। ‘लम्पी स्किनले मर्ने गाइ र गोरुको संख्या करिब बराबरी छ। भैंसी भने कमै संख्यामा मरेका छन्। जबकी बाच्चाबाच्छी पनि धेरै नै मरेका छन,’ उनले भने, ‘अझै पनि पशुको ज्यान जान रोकिएको छैन। निको हुने क्रम रहेकोले अब मर्ने पशु कम हुन्छन की भन्ने आशा हो।’

उनका अनुसार पछिल्लो समय पशुमा निको हुने क्रम भने केही बढेको छ। पछिल्लो एकसातामा मात्र झन्डै ४५ सय पशुमा यो रोग देखिएको छ। यो संख्या केही अघिसम्म अझै बढी थियो। ‘थला परेका पशु मरेकोले मृत्यु कम हुन सकेको छैन। तर, बिरामी हुने क्रम भने केही कम हुँदै गएको अनुमान छ,’ उनले भने।  

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाईगोरुको ज्यान गईरहेको छ। उनका अनुसार बिरामी परेको बेला गोरुलाई आरामको साटो जोत्न लगेकोले पनि धेरै मरेका हुन। यो रोग लागेका बिरामी पशुलाई आराम गराउनुपर्नेमा रोपाईमा जोत्न लगेपछि झनै थलिएर धमाधम मरिरहेको उनले बताए। ‘बिरामी भएको बेला पौष्टिक आहार खुवाएर आराम गराउनुपर्ने बेला झनै काममा लगाइएको छ। जोताइमा परेका गोरु मरिरहेका छन,’ उनले भने, ‘कतिपय ठाउँमा त रोपाई नै प्रभावित भएको छ।’

उनका अनुसार सबैभन्दा बढी म्याग्दीमा ७ सय २६ वटा पशुको यही रोगले मृत्यु भयो । त्यस्तै कास्कीमा ६ सय ७० वटा पशु मरेका छन्। अझै पनि हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा समेत यो रोगका बिरामी छन। मनाङमा अझै १८ वटा पशु बिरामी छन्।  २२ वटा पशु निको भईसकेका छन्। 

त्यस्तै मुस्ताङमा २ वटा अझै बिरामी छन्। त्यहाँ ५ वटा पशुको ज्यान गएको थियो। ‘खोप लगाउने क्रम पनि चलिरहेको छ। पशु बिरामी हुने र मृत्यु हुने पनि पूर्णरुपमा रोकिन सकेको छैन,’ उनले भने। उनका अनुसार गण्डकी प्रदेशभित्र अहिलेसम्म १ लाख ७ हजार ८ सय ५१ वटा पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । खोप लगाउने क्रम अझै पनि निरन्तर भईरहेको उनले बताए।  

नेपालमा पछिल्लो तीनवर्षदेखि पशुमा लम्पी स्किनको रोग देखिन थालेको थियो। यो वर्ष बढी क्षति भएको उनले बताए। गत वैशाखदेखि पशुमा यो रोग देखिन थालेकोमा असार लागेपछि झनै प्रकोप फैलिएको सूचना अधिकारी चौधरीले बताए। ‘जतिबेला रोपाईको मारामार सुरु भयो, त्यहीबेला बढी पशु बिरामी परेका छन, त्यसले पनि क्षति थपिएको हो,’ उनले भने।  

निर्देशनालयका सूचना अधिकारी चौधरीका अनुसार यो रोग लागेपछि पशुलाई उच्च ज्वरो आउँछ। शरिरका टाउकोदेखि पुच्छरसम्म छालामा गिर्खा देखिन्छन। गिर्खा फुटेर घाउ नै बन्छ। पशु बिरामी परेपछि दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ। बिरामी पशुको गर्भ तुहिने तथा बाँझोपना पनि देखिन सक्ने उनले बताए। लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट यो रोग पशुमा सर्छ। त्यस्तै संक्रमित पशुको लसपसबाट पनि यो रोग सर्ने गर्छ।  

उनका अनुसार यो रोगको खास उपचार छैन। प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार मात्र गर्ने हो। ‘बिरामीलाई खोप लगाउन मिल्दैन। रोग संक्रमित क्षेत्रका स्वस्थ पशुलाई मात्र खोप लगाइदिने हो,’ उनले भने, ‘ज्वरो आए औषधि खुवाउने, गिर्खा फुटेर घाउ भउमा मल्हम लगाउने र आराम गराउँदै रुची अनुसारको दानापानी खुवाउनु नै उपचार हो।’  

प्रदेश सरकारले रोगको रोगथामका लागि खोप खरिद गर्ने गरि एककरोड रुपैयाँ बजेट छुट्याएको छ। प्रदेशमा करिब नौलाख पशु भएपनि ती सबैलाई अहिले नै यो खोप आवश्यक नपरेको तर, प्रभावित क्षेत्र हेरेर पशुलाई खोप लगाईरहेको उनले बताए। पशु चिकित्सकका अनुसार पशुमा देखिएको यो एकप्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ। पहिला अफ्रिकामा सीमित रहेको यो रोग सन् २०१२ मा मध्यपूर्व, दक्षिण पूर्वी यूरो, रसिया, काजकिस्तान, बंगलादेश, भारत हुँदै नेपाल प्रवेश गरेको थियो।

प्रकाशित: २५ श्रावण २०८० १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App