४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सञ्चालन नहुँदै भत्कियो सिँचाइ कुलो

सञ्चालन हुन नपाउँदै चिरा परेको तिला–३ को सिँचाइ कुलो । तस्बिर : डिबी बुढा

जुम्ला – तिला गाउँपालिका–३ स्थित सिँचाइ कुलो सञ्चालन नहँुदै भत्किएको छ । पानी ल्याउन नपाउँदै कुलो भत्किएपछि स्थानीयको सिँचाइ गर्ने धोको अधुरै रहेको छ । निर्माण समितिले कुलो निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माणस्थलमा पशुवस्तु छाडा छोड्नाले कुलो निकै जीर्ण बनेको हो । स्याउ र धान रोप्ने प्रयोजनका लागि निर्माण भएको कुलो चिरा परेको छ । मुहानदेखि पानी छाड्ने बित्तिकै चुहिएर ट्यांकीसम्म पुग्ने अवस्था देखिँदैन । 

एक सय २० मिटर सो कुलोमा ६ लाख रुपैयाँको इस्टिमेट गरिएको छ । स्थानीयको माग बमोजिम सिँचाइ कुलो निर्माण गर्न लागिए पनि निर्माण समितिको लापरबाहीका कारण सिँचाइ सपना पूरा हुन नसक्ने भएको कुडारी–५ का वडाध्यक्ष कालीबहादुर बुढाले बताए । उनले कमसल सामग्रीको प्रयोग गरेर राज्यको ढुकुटी दुरुपयोग नगर्न सुझाए । यो कुलोमा लगाइएको लगानी बालुवामा पानी भएको औल्याउँदै उनले भने, ‘अब निर्माण समितिले श्रमदान गरेर कुलोको स्तरान्नति गर्न जरुरी छ । योजना छनोटदेखि काम सुरु गर्दा स्थानीयमा देखिएको उत्साह निराशामा बदलिएको छ ।

कर्णाली रोजगार अन्तर्गत बनेको सिँचाइ कुलोको भुक्तानी नदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्देशन दिएका छन् । उनले अहिले बनेको पूरै खण्ड भत्काएर फेरि सिँचाइ कुलो निर्माण गर्न सुझाएका हुन् । उनले भने, ‘राज्यले जनताको विकासको लागि विनियोजन गरेको बजेटमाथि कसैले खेलवाड गर्ने अधिकार छैन ।’ एक साताभित्रमा कुलोको स्तरोन्नति नभए निर्माण समितिका जिम्मेवार व्यक्तिलाई अख्तियारको जिम्मा लगाउने चेतावनी दिए । ‘विकासे कार्यमा ठग्ने पनि हद हुन्छ,’ उनले भने, ‘लक्षित वर्गका आशा टुट्ने गरी निर्माण गरिएको यो कुलोको भुक्तानी रोकिन्छ ।’ 

प्रमुख जिल्ला अधिकारी सापकोटाले निर्माण समितिलाई तत्काल कुडारी प्रहरी चौकीमा बोलाएका छन् । विकासे काममा ठगेको स्वीकार नगरे जेल हाल्ने बताए । उनले भने, ‘सिँचाइ कुलो आफ्नै लगानीमा निर्माण गरेका हौं भनेर ढाँटे । पछि खोतल्दै जाँदा कर्णाली रोजगारको पैसाले बनेको रहेछ ।’ अगुवा व्यक्तिले विपन्न कामदारको श्रम शोषण गरेको भन्दै ज्याला अनुसारको काम गर्न निर्देशन दिए । कर्णाली रोजगारका इन्जिनियर लेखनाथ उपाध्यायलाई उनले तत्काल कुलो भत्काएर पुनर्निर्माण गर्न निर्माण समितिलाई भन्न निर्देशन दिए । कुलोको अवस्था नसुधारी भुक्तानी दिए अख्तियारमा उभ्याउने बताए । 

स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले दुर्गममा अनुगमन टोली नपुग्ने भन्दै काममा ढिलासुस्ती र गुणस्तर कायम गर्न नसकिएको बताए । उनले भने, ‘विकास निर्माणका कार्यक्रम न्यूनतम मापदण्ड पूरा नगरी बनाइएको पाइए भुक्तानी रोक्का हुन्छ ।’ 

कर्णाली रोजगारका इन्जिनियर लेखनाथ उपाध्यायले कमसल सामग्रीले निर्माण भएका संरचना आफूहरुलाई अमान्य हुने बताए । इस्टिमेट अनुसार नबनेका संरचनाको जिम्मा निर्माण समिति आफैंले लिनुपर्ने भन्दै उनले थपे, ‘अब विकासमा देखिएको विकृति अन्त्य गर्न लाग्छु । कुडारीमा बनेको सिँचाइ कुलो स्थानीय प्रशासन र पत्रकारको रोहबरमा भत्काउन लगाएर पुनर्निर्माण कार्य अघि बढाउने उनले बताए । 

प्रकाशित: १९ जेष्ठ २०७४ ०५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App