१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘अफसिजन’लाई भारतीय पाहुनाको राहत

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। लेकसाइड सहित पोखरा आसपासका होटलमा यो बेला अधिकांश पाहुना भारतीय छन। फाइल तस्बिरः नागरिक

लेकसाइडस्थित ल्याण्डमार्क होटलमा यो बेला बसोबास गर्ने मध्ये धेरैजसो भारतीय पाहुना छन्। तेश्रो मुलुकका र आन्तरिक पाहुना निकै नै कम छन। होटलको अकुपेन्सी करिब २० प्रतिशत रहँदा अधिकांश पाहुना भारतीय रहेको संचालक बताउँछन। भारतीय पाहुनाकै भरमा अहिले जेनतेन व्यावसाय धानिएको व्यावसायीको भनाई छ।  

त्यस्तै अर्काे होटल पोखरा भिलेजमा पनि आधा पाहुना भारतीय छन्। केहीदिन अघिसम्म करिब ४० प्रतिशत अकुपेन्सी रहँदा होटलका आधा पाहुना भारतीय थिए। बाँकी आन्तरिक र फाट्टफुट्ट तेश्रो मुलुकका पाहुना थिए । अहिले पनि होटलमा भारतीयकै वर्चश्व छ।

व्यावसायीका अनुसार एकसाता अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत हाराहारी थियो। अहिले घटेर २० प्रतिशतमा झरिसकेको छ। तर, जे जति पाहुना होटलमा छन्, ती मध्ये अधिकांश भारतीय पाहुना रहेको व्यावसायी बताउँछन्। ‘यो बेला भारतीय पाहुना नहुँदा हुन् त व्यावसाय टिकाउन पनि सकिने अवस्था हुने थिएन,’ ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डे भन्छन, ‘वर्षायामले गर्दा आन्तरिक पाहुना पनि आएका छैनन। तेश्रो मुलुकका पाहुनाको आगमन झनै छैन । जे जति पाहुना छन, ती सबै भारतीय हुन्।’  

उनका अनुसार अघिल्लो सातासम्म भारतीय पाहुनाको आगमन पोखरामा राम्रो थियो, तर, अहिले भने भारतीयको आगमन पनि केही कमजोर बनिसकेको छ। ‘यो बेला नेपाली पाहुनाको समय नै होईन। जसोतसो २० प्रतिशत अकुपेन्सी हुँदा अधिकांश भारतीय छन। पर्यटनमा खास यो बेलाको समय अफसिजन हो,’ पाण्डेले भने, ‘व्यावसाय चलायमान बनाउनका लागि भारतीयको योगदान रहेको छ। यो बेला भारतीय पाहुना पनि नहुँदा हुन् त झनै सकस हुने थियो।’ 

उनका अनुसार यो बेला पोखरा घुम्न आउनेमा भारतीय पाहुनामध्ये पनि व्यावसायी र कर्मचारी लगायतका छन्। विद्यालयको बिदा नभएकोले पारिवारिक भ्रमण निकै नै कम रहेको उनले बताए। अघिल्लो महिनासम्म भारतीयकै पारिवारिक र सामूहिक भ्रमण बढी थियो।

होटल पोखरा भिलेजका संचालक हरि शर्मा पनि भारतीय पाहुनाकै भरमा थेगिएको बताउँछन। शर्माले पनि एकसाता अघिसम्म होटलको अकुपेन्सी करिब ४० प्रतिशत रहँदा आधा पाहुना भारतीय रहेको बताए। अहिले होटलको अकुपेन्सी २० प्रतिशत हाराहारीमा रहँदा पनि आधाजति पाहुना भारतीय नै रहेको उनले बताए। ‘स्थलमार्गको झन्झट र वर्षायामका कारण यो बेला आन्तरिक पाहुना कम छन्। भारतीय पाहुनाकै कारण पर्यटन क्षेत्र अडिएको छ, वर्षायाम सकिएपछि बल्ल आन्तरिक पाहुना आउनेछन,’ उनले भने। होटल संघ गण्डकीका अध्यक्ष समेत रहेका शर्माले पोखरामा मात्र सबैतिरका पाहुना अहिले भारतीय रहेको बताए।  

ड्यामसाइडमा रहेको होटल बज्र इनका संचालक बच्चुराम तिवारीका अनुसार भारतीय पाहुनाको आकार ठूलो भएपनि ती पाहुना सस्ता छन्। त्यस्तै पोखरामा होटल संख्या थपिएकोले प्रतिश्पर्धा बढ्दै जाँदा पाहुनाले सस्तोमा सेवा पाएका छन्। व्यावसायिक प्रतिश्पर्धाका कारण अहिले व्यावसायीले भारतीय पाहुनाबाट बढी लाभ लिन नपाएको तिवारी बताउँछन्। ‘हुन त यो बेला भारतीय पाहुनाकै आकार बढी छ। तर, अधिकांश भारतीय पाहुनाले सस्तोमा सेवा लिँदा व्यावसायिक लाभ कम छ,’ तिवारी भन्छन, ‘सस्तोमा सेवा दिनु व्यावसायीकै समस्या हो।’  

तिवारीका अनुसार यो बेला भारतमा चर्काे गर्मि हुँदा भारतीय पाहुना गर्मि छल्नकै लागि पोखरा आउँछन्। त्यसले गर्दा पनि केहीदिन अघिसम्म पोखराका होटलमा भारतीयको चाप थियो। ‘अहिले वर्षाका कारण भारतीय पाहुना पनि कम भएका हुन्। जुन–जुलाई पनि भारतीयका लागि अफसिजन मानिन्छ,’ उनले भने, ‘वर्षायाम सुरु हुनु अघिसम्म पोखरामा भारतीयको आगमन उत्साहजनक नै थियो, त्यसले व्यावसायमा ठूलो योगदान दिएको थियो।’

तिवारीका अनुसार यो बेला भारतीय पाहुना भित्रिएपनि अधिक पाहुना आफैले खानेकुराको बन्दोबस्ती गरेर आउने गरेका छन्। होटलमा बस्ने, तर, खाना आफै पकाएर खाने गर्दा व्यावसायीले ती पाहुनाबाट उत्तिसारो लाभ लिन सकेका छैनन। व्यावसायीले खानेकुराको बन्दोबस्ती सहित आउने भारतीय पाहुनालाई ‘किचन ग्रुप’ भन्ने गरेका छन्। यतिसम्मकी खानेकुरादेखि भाडाकुँडासम्म ती पर्यटक आफैले लिएर आउँछन्। त्यस्ता पाहुनाले होटलमा सुतेबापत कोठाको मात्र शुल्क तिर्छन, खानपिनको मूल्य तिर्दैेनन।

‘किचन ग्रुपबाट उत्तिसारो फाइदा छैनन । खानपिनका लागि सबै सामाग्री आफै लिएर आउँछन । यहाँका होटलमा बास मात्र बस्ने हुन, त्यसले गर्दा सेवा सस्तो भएको छ,’ उनले भने, ‘यस्तै पाहुनाबाट पनि व्यावसायीले धेरथोर लाभ त लिएका छन। तर, व्यावसायीले यस्तो सेवाबाट उचित लाभ पाउन सकेका छैनन।’ 

उनका अनुसार यो बेला भारतीय पाहुना बाहेक अरु कमै छन। चिनियाँ पाहुना अपेक्षा गरे अनुसार अझै भित्रिएका छैनन। कोभिड संक्रमण कमजोर भएपनि चिनियाँ पाहुनाको आगमन कमजोर छ। ‘सस्तोमा सेवा दिएर भएपनि व्यावसाय थेग्ने बाटोमा मात्र व्यावसायी छन,’ उनले भने, ‘त्यही पनि खर्च धान्ने आधार बनेको छ। कम मूल्य लिएर भएपनि व्यावसाय धान्ने आधार भारतीय पाहुना बनेका छन।’  

पोखरासँगको सहज पहुँचका कारण स्थलमार्गबाट नेपाल भित्रिने भारतीय बढीजसो पोखरा आउँछन्। हवाईमार्गबाट भित्रिने भारतीय मध्ये निकै नै कम आकारमा मात्र पोखरा आउँछन्। स्थलमार्गबाट सिधै पोखरा आउन सकिने भएकोले पनि सहज छ। तर, कति आकारमा भारतीय पाहुना स्थलमार्गबाट पोखरा भित्रिन्छन भन्ने यकिन तथ्यांक कसैसँग छैन।  

प्रकाशित: १२ असार २०८० १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App