१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निर्माण अायाेजनाकाे अवस्था बुझ्न अनुगमन

बाजुरा– जिल्ला समन्वय समितिले जिल्लाका नौ वटै स्थानीय तहमा निर्माण भइरहेका आयोजनाको अवस्था बारे अनुगमन गरेको छ । नेतादेखि कार्यकर्ता स्थानीय तह निर्वाचन केन्द्रीत भएपछि विकास निर्माण कार्य प्रभावित बनेको भन्दै समितिले विकास निर्माणको अवस्थाबारे जानकारी लिन अनुगमन गरेको हो।

जिल्लाका सबै स्थानीय तहमा सरोकारवाला निकाय र प्राविधि पठाएर अनुगमन कार्यको थालनी गरिएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताए। अधिकारी पौडेल स्वयं दुर्गम क्षेत्रमा पर्ने स्वामिकार्तिक गाउँपालिकामा पुगेका छन्।

सयौंको संख्यामा निर्माण भइरहेका आयोजनाको काम स्थानीय निर्वाचनले प्रभावित भएको र भइरहेको काममा पनि प्रभावकारीता नदेखिएको गुनासो बढेलगत्तै अनुगमन थालिएको हो। अनुगमनमा जिल्ला समन्वय समितिका कर्मचारी, जिल्ला प्राविधिक कार्यालका प्राविधिक, पत्रकार सहभागी छन्।

दोस्रो चौमासिकसम्म ६० प्रतिशत बजेट खर्च गरिसक्नुपर्ने र निर्माण कार्यसमेत अन्तिम चरणमा पुर्याइसक्नु पर्ने प्रावधान रहेको छ । विगतमा आर्थिक वर्षको अन्तिममा नामको मात्र अनुगमन हुने गरेको थियो।

यो पटक अनिवार्य दुई पटक गर्ने तयारी समन्वय समितिले जनाएको छ। लाखौंको बजेट दुरुपयोग गर्ने गरी आर्थिक वर्षको अन्तिममा सम्झौता गर्ने र काम राम्रो नगरी पैसा भुक्तानी लिने परिपार्टीको अन्त्य गर्न आफूहरु लागि परेको प्राविधिक कार्यालय प्रमुख जंगबहादुर थापाले बताए।

प्राविधिक स्टमेटको आधारमा रकम भुक्तानी गर्न अघिल्लो वर्षबाटै सुरु गरिएको छ। नेताको दबाब आएपनि कुनै मतलब छैन्, काम नगरे आयोजना पास नगर्ने थापाले भने। अनुगमनका लागि ८ वटा टोली खटाईएको छ । प्रत्येक टोलीमा प्राविधिक अनिवार्य सहभागी छन्।

संयुक्त रुपमा गरिएको अनुगमनलाई नै मान्यता दिने समन्वय समितिले बताएको छ। अघिल्ला वर्षमा प्राविधिक आर्थिक प्रलोभन र भन्सुनका कारण काम नभएको पनि भुक्तानी दिने गरेको गुनासो बढेको रैछ, यो पटक म हुन दिन्न, त्यसैले सबैलाई साथमा लिएर मूल्याङ्कन गर्ने र सोही आधारमा पैसा भुक्तानी दिने स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताए ।
जिल्लामा अनुदान, पूर्वाधारण विकास, प्रवद्र्धनात्मक, संसद विकास कोष, निर्वाचन क्षेत्र विशेष कार्यक्रम, शान्ति र खेलकुद मन्त्रालयका गरी अढाइ सय बढी आयोजना निर्माण भईरहेका छन् । ती सबैको टोलीले अनिवार्य अनुगमन गर्नेछ।

सात दिनको अवधीसहित सबै आयोजनामा पुग्ने गरी टोली खटाइएको छ। गाउँमा रहेको टोलीका अनुसार ६० प्रतिशत आयोजनाहरुको काम सुरु भएको, र बाँकी आयोजनाहरुको काम नै सञ्चालन नभएको पाइएको छ।

अधिकांश स्थानीय चुनाव केन्द्रीत भएकोले काम पूरा हुनमा ढिलाई भइरहेको त्रिवेणी नगरपालिकाको टोलीमा सहभागी पत्रकार खडक थापाले बताए। उसोत निर्माण भएका कामको अवस्था सन्तोष जनक रहेको र विगतको तुलनामा पनि सुधार देखिएको छेडेदह गाउँपालिकाको टोलीमा रहेका प्राविधिक जनक रोकायाले बताए।

जिल्ला समन्वय समितिले अर्को अनुगमन अन्तिम किस्ता भुक्तानी पूर्व गर्ने बताएको छ। टोलीले लेक बेशी, गाउँ शहर सबैतिरका आयोजनाको अनुगमन गरेको छ। स्थलगत अनुगमनले दीगो र प्रभावकारी विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: १ वैशाख २०७४ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App