१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'अझै धेरै काम गर्न बाँकी छ'

उपेन्द्र पौडेल

निर्वतमान प्रमुख कार्यकारी अधिकृत, एनएमबि बैंक

करिब १७ वर्ष एनएमबि बैंक (त्यसबेला नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा समेत गरेर) को प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरेका उपेन्द्र पौडेलले सोमबार (आज)बाट अवकास पाएका छन् । बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव संगालेका पौडेललाई अन्य बैंकमा कार्यकारी प्रमुखको जिम्मेवारी लिइदिन अनुरोध आए पनि उनी अर्को बैंकमा सोही पदमा जाने पक्षमा नभएको बताउँछन् । तर, राज्यले आफ्नो आवश्यकता ठान्यो भने त्यो जिम्मेवारी भने पूरा गर्ने इच्छा भने अझै रहेको उनको भनाइ छ । ‘राज्यले मेरो आवश्यकता महसुस ग¥र्यो भने त्यसबेला सोच्न सकिन्छ,’ उनले भने, ‘अन्यथा व्यक्तिगत पहलमै अगाडि बढ्छु ।’ कुनै बैंकको प्रमुख कार्यकारी अधिकृत नरहे पनि बैंकिङ पहुँच विस्तार गर्ने काममा भने सधै लागि पर्ने पौडेल बताए ।

बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत भइसकेका ५८ वर्षिय पौडेल इमान्दारीता, सम्बन्धित क्षेत्रको ज्ञान, सेन्टिमेन्ट बुझ्न सक्ने र सम्बन्ध बढाउन सकिएको खण्डमा सफलतामा पुग्न सकिने बताउँछन् । आफूले जानेको कुरा सिकाउँदै जाने हो भने छिटो बढुवा (प्रमोसन) हुने उनको बुझाई छ । बैंकिङ क्षेत्रमा ३० वर्ष काम गर्दाको अनुभव, अवकासपछिको सोचाइ, पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजीको अभाव र यसको समस्या समाधान, समग्र बैंकिङ क्षेत्रबारे नागरिकका विष्णु बेल्वासेले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश ः

 

१७ वर्ष काम गरेको संस्थाबाट अवकास हुँदा कस्तो लागेको छ ?

लामो समय काम गरेको संस्थाबाट अवकास हुँदा स्वभाविक रुपमा नरमाइलो महसुस हुन्छ नै । तर, म सन्तोष छु । अझै धेरै गर्न बाँकी नै छ । त्यसका लागि प्लेटफर्म खोजेको छु । एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट अवकास पाइसकेपछि अर्को बैंकमा सिइओ हुन जाने इच्छा छैन । वित्तीय र आर्थिक क्षेत्रमा रहेर राज्यका लागि केही काम गर्ने इच्छा अझै छ । वित्तीय क्षेत्रमा काम गरेको तीन दशकको अनुभव छ । राज्यले सोचोस भन्ने हो । राज्यले सोचेन भने आफैं अगाडि बढ्छु । बैंकिङ पहुँच पु¥याउने काम गर्ने छु । एनएमबि बैंकमा १७ वर्ष काम गरे, नेपाल बैंकर्स संघको अध्यक्ष पनि भए । हालसालै ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी)को नवौं वार्षिक सम्मेलन नेपालमा गराउन सफल भए । यति गरिसकेपछि यो नै उपयुक्त समय ठाने र एनएमबि बैंक छाडेको हुँ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव छ । यसलाई व्यवस्थापन गर्नेतर्फ राष्ट्र बैंकले खासै चासो दिएको छैन । लगानीयोग्य पुँजी अभावको समस्यालाई कसरी समाधान गर्न सकिएला ?

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव छ । यस्तो अभावको समस्या सामाधान गर्न राष्ट्र बैंकले गम्भीर रुपमा सोच्नुपर्छ । समस्या आएपछि मात्रै सोच्ने गरिन्छ । समस्यालाई टार्ने हिसाबले मात्रै काम गर्नु हुँदैन । लामो समयको योजना बनाएर काम गर्नुपर्छ । सन् २०२०÷०३० सम्म कस्तो रणनीति अपनाउनुपर्छ भन्ने तयारी पहिलेदेखि नै गरियो भने समस्या आउँदैन । तरलताको अभाव हटाउन राष्ट्र बैंकले नयाँ उपकरण ल्याउनु पथ्र्यो । त्यस्तो उपकरण ल्याउन सकेको देखिएन । नयाँ उपकरणमा ध्यान दिनुपथ्र्यो । तर, त्यतातिर ध्यान दिइएन् । लगानीयोग्य पुँजी अभावको समस्या आउनै दिनु हुँदैनथ्यो । लगानीयोग्य पुँजीको अभाव हुनै नदिनका लागि त्यही किसिमको उपकरण ल्याउनुपथ्र्यो । तर, त्यसो गर्न नसकिएका कारण लगानीयोग्य पुँजीको अभाव खेप्नु परेको हो । यस्तो समस्या समाधान गर्ने हो भने राष्ट्र बैंकको सर्कुलर नै परिवर्तन गर्नुपर्छ ।

वित्तीय विकास रणनीति नै तयार गरेर अगाडि बढ्नुपर्छ भन्न खोज्नु भएको हो ?

हो,  फाइनान्सियल डेभलपमेन्ट स्टाटेजी बनाउनुपर्छ । सन् २०२० वा २०३० सम्ममा यो वा त्यो गर्छौ भन्ने तयारीका साथ काम गर्नुपर्छ । कुन विषयलाई प्राथमिकता दिनुपर्ने हो, त्यसलाई बढी प्राथमिकता दिनुपर्छ ।

भूकम्पपछि वित्तीय क्षेत्रमा स्थायित्व आउन लागेको समयमा पुनः लगानीयोग्य पुँजीको अभावको सामना बैंकिङ क्षेत्रले खेप्नु परेको छ । यसले बैंकिङ क्षेत्रमा उथलपुथल नै ल्यायो भनिन्छ नि ?

भूकम्पपछि बैंकिङ क्षेत्रमा स्थायित्व आएको थियो । तर, त्यसलाई लगानीयोग्य पुँजीले केही खल्बलाउने काम ग¥यो । वित्तीय क्षेत्रको पहुँच विस्तारमा ध्यान दिइएको छैन ।

राष्ट्र बैंकले विपन्न वर्गमा लगानी गर्नुपर्ने पाँच प्रतिशत कर्जामध्ये दुई प्रतिशत बैंक आफैंंले प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने नीति ल्याएपछि वित्तीय पहुँच विस्तारमा अझै असर परेको छ भनिन्छ नि ?

अझै वित्तीय पहुँच बढाउन सकिएको छैन । पहुँच विस्तारमा ध्यान दिनुपर्छ । माइक्रोफाइनान्सले गाउँमा गएर वित्तीय पहुँच पु¥याउने काम गरेका छन् । तर, राष्ट्र बैंकले तिनीहरुको घाँटी निमोठ्ने काम गरेको छ ।

विपन्न वर्गमा लगानी गर्नुपर्ने पाँच प्रतिशत कर्जामध्ये दुई प्रतिशत बैंक आफैंंले लगानी गर्नुपर्ने नीति केन्द्रीय बैंक ल्याएको छ । यसले बैंकहरुलाई समस्या थपेको छ । यसअघि पाँच प्रतिशत नै विपन्न वर्गमा लघुवित्त संस्थामार्फत ऋण प्रवाह हुन्थ्यो । विपन्न वर्गमा ऋण लगानी गर्न भनेर नै केन्द्रीय बैंकले लघुवित्तको स्थापना गर्न स्वीकृति दिएको हो । अहिले विपन्न वर्गमा बैंक आफैंंले दुई प्रतिशत लगानी गर्न भनेको छ । विपन्न वर्गमा गएर लगानी गर्न बैंकले अलग्गै डिपार्टमेन्ट (विभाग) खडा गर्नुपर्ने हुन्छ । अलग्गै विभाग खडा गर्दा बैंकलाई थप खर्च लाग्छ । बैंकहरुलाई दुई–चार वर्षको समय दिएको भए पनि हुन्थ्यो । त्यो पनि दिइएन ।

नीति ल्याउनेबित्तिकै कार्यान्वयन गर भन्नु भर्खर जन्मेका बच्चालाई दौड भनेजस्तै हो । जुन उद्देश्यका लागि खोलिएका लघुवित्तलाई त्यो काम गर्न नदिनु र काम गर्दै नगरेका बैंकलाई लगानी गर भन्नु उचित होइन । बैंकहरुले विपन्न वर्गमा गएर काम गर्नका लागि संरचना तयार गर्नुपर्छ । दक्ष जनशक्तिको खाँचो त्यत्तिकै छ । बैंकहरुले नजिकका शाखा कार्यालयमा त्यस्तो संरचना तयार गर्नुपर्छ । बैंकका केन्द्रीय कार्यालयमा मात्र त्यस्तो संरचना तयार गरेर पनि त भएन । केन्द्रीय बैंकले नीति ल्याइसकेपछि मान्दैनौं भन्न त मिल्दैन । गाउँमा जाने संस्कृतिको विकास माइक्रोफाइनान्सले मात्र गरेका छन् । वित्तीय क्षेत्रलाई डिजिटलाइजेसन गर्नुपर्छ । त्यतातिर जानबाट चुकेका छौं ।

तपाईंको बैंकिङ क्षेत्रमा लामो अनुभव छ । बैंकिङ क्षेत्रमा साच्चिकै सुधार आएको हो ?

८० को दशकसम्म स्वदेशी सरकारी स्वामित्वका बैंकहरु नै सञ्चालनमा आएका थिए । ती बैंकलाई सुधार गर्ने कार्यक्रम नै सरकारले ल्यायो । त्यसपछि निजी क्षेत्रका बैंक आए । ती बैंक व्यावसायिक रुपमा सञ्चालन हुन थाले । विदेशी साझेदारका नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपकर्ताको अधिकारका कुरा गर्न थाले । निजी क्षेत्रका बैंकले नाफा मात्रै कमाउने र सेयर मूल्यमात्र माथि लैजाने कुरा गरेका थिए । तर, विदेशी साझेदारका बैंक आएपछि नाफा कमाउने र सेयर मूल्य मात्र बढाउने कुरा राम्रो होइन भन्न थाले ।

बैंक चलाउनेले नै कर्जा लिने परम्पराले विकृति निम्तिएको थियो । विदेशी साझेदारका बैंक आएपछि त्यस्तो विकृति अन्त्य भयो । उदारीकरण आएपछि  वित्तीय पहुँच बढाउने काम भयो । बैंक सञ्चालन गर्नेले मात्र फाइदा लिने काम बन्द भए । २०५८ सालमा संस्थागत सुशासन आएपछि बैंकिङ क्षेत्र राम्रो हुन थाल्यो । २०५८ सालभन्दा अगाडि मात्रै बैंकिङ समस्या थिए । त्यसभन्दा अघि गल्ती गर्नेलाई मात्र कारबाही नगरेर सबैलाई कारबाही गरिन्थ्यो । तर, अहिले जसले गल्ति ग¥यो त्यसैलाई कारबाही गर्न थालिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा धेरै सुधार आएको छ ।

तपाईंकै अगुवाइमा ‘ग’ वर्गको मर्चेन्ट बैंकलाई ‘क’ वर्गको वाणिज्य बैंकमा स्तरोन्नति गर्ने काम भयो । त्यो के कठिन कार्य थिएन ?

साच्चै नै कठिन काम थियो । विकास बैंकमा स्तरोन्नति नगरी एकैपटक वाणिज्य बैंकमा स्तरोन्नति गर्ने कुरा गरियो । एकैपटक दुई स्टेप अगाडि गएर काम गरियो । स्तरोन्नति गर्दा राम्रो संस्कारमा काम गरेका कर्मचारीलाई ल्याउने काम गरियो । स्ट्यान्डर्ड चार्टर्डमा काम गरेका कर्मचारीलाई ल्याइयो । सुनिल केसीलाई ल्याएकै कारण मैले छाडेपछि सिइओ बाहिरबाट ल्याउनु परेन् । राम्रो संस्कारमा काम गर्नेलाई सिकाइयो भने माथि जान सकिन्छ  । राम्रो काम गर्नेलाई ठाउँ दिन सकिए मात्र संस्थालाई माथि उठाउन सकिन्छ भन्नेतिर लागियो ।

२०२० सम्म हरेक कुनामा एनएमबि बैंकको उपस्थिति पु¥याउने उद्देश्य राखेर अगाडि बढ्यौं । मर्जरको अवधारणा पनि त्यही रणनीतिका आधारमा ल्याइएको हो । बजारको पहुँच बढाउन र पँुजी आधार बढाउन पूर्वाञ्चल क्षेत्रमा बर्चस्व कायम गर्न सफल पाथीभरा विकास बैंक, पश्चिमाञ्चल क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भृकुटी विकास बैंक र पुँजीगत आधार बलियो रहेको राष्ट्रिय स्तरको प्रुडेन्सियल फाइनान्स कम्पनी र क्लिन इनर्जी डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गरियो । बैंकले २०२० सम्म लिएको लक्ष्य पूरा गर्न शाखारहित बैंकिङ सेवा, मोबाइल बैंकिङ जस्ता नयाँ प्रविधिबाट सेवा दिँदै जाने योजना बनाएका थियौं । यसैबीच एफएमओसँगको सहकार्य गरेर हिड्ने सम्झौता भयो ।

यति गरिसकेपछि नयाँ पुस्तालाई हस्तान्तरण गर्दा फरक पर्दैन भन्ने लागेर नै मैले छाड्ने मनस्थिति बनाएको हुँ । नयाँ कुरा ल्याउनुपर्छ । उमेरले परिपक्व हुँदा पनि आफ्नो कमजोरी बुझेका हुँदैनौं । नयाँ प्रविधिलाई बुझ्न सकेका हुँदैनौं । टप लेवलमा पुग्न पनि नयाँ सोच आवश्यक पर्छ ।

बैंकिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

सुरुमा सोल्टी होटलमा जागिर खान पुगे । त्यहाँ ६ वर्ष बिताए । बीचमा एक सरकारी बैंकमा करारको जागिर खाने मौका पाए । साढे १० बजे घाम ताप्ने । केही समयपछि खाजा खान जाने गथ्र्यौं । खाजा खाइसकेपछि कोही अफिस आउथे भने कोही त्यतैबाट घरतिर लाग्थे । त्यस्तो संस्कारमा काम गर्दा बिग्रिने सम्भावना देखेर फेरि सोल्टी होटलमै जागिर खान गए । त्यसपछि स्ट्यान्डर्ड चार्टर्डमा जागिर खान थाले । चार्टर्डमा कार्पेट सेक्टर हेर्थे । जर्मनीमा त्यसबेला नेपालबाट निकै ठूलो मात्रामा कार्पेट जान्थ्यो ।

एकपटक जर्मनीमा नेपालको कार्पेट प्रदर्शनी भयो । त्यो प्रदर्शनीमा जाँदा त्यहाँका बैंकरलाई भेट्ने मौका पाए । त्यतिबेला तिब्बतीयन ग्रुपले कार्पेट निर्यात गर्ने गर्थे । उनीहरुलाई लोसारमा ग्रेटिङ कार्ड पठाउने काम गर्थे र उनीहरुको सेन्टिमेन्ट जित्ने प्रयास पनि गरे । पछि बिराटनगरमा सरुवा गरियो । त्यहाँ मारवाडी समुदायको सेन्टिमेन्ट जित्ने काम गरियो । त्यसैको परिणाम एक वर्षमा दोब्बर गर्नुपर्ने व्यापार एक वर्षमै चार गुणा बढी भयो । त्यसले हौसला मिल्यो । त्यही गु्रपसँगको संगतले पछि मर्चेन्ट बैंकको सिइओ भइयो । पछि एनएमबि बैंकको सिइओ भएर काम गरियो । मारवाडी कम्युनिटीको सेन्टिमेन्ट बुझेकै कारण यो स्थितिमा पुगियो । म सन्तोष छु  । अझै धेरै गर्न बाँकी छ । राम्रो अवसरको खोजीमा छु ।

प्रकाशित: ३० फाल्गुन २०७३ ०३:५८ सोमबार

धेरै काम गर्न बाँकी