१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पाँच महिनामै ५० प्रतिशत बढ्यो कर्जाको ब्याज

काठमाडौं- निक्षेपको लागत बढेको भन्दै बैंकहरुले पाँच महिनामै ५० प्रतिशतभन्दा बढीले कर्जाको ब्याजदर बढाएका छन्। दसैंअघि ७.५ प्रतिशत रहेको कर्जाको ब्याजदर अहिले ११.५ सम्म पुर्‍याएका छन्। लगानीयोग्य पुँजी अभाव भएपछि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए। निक्षेपको ब्याजदर बढ्दा बैंकको लागत बढो र कर्जाको ब्याज बढाउन उनीहरु बाध्य भए।

निक्षेपको ब्याजदरले बैंकको लागत बढाइकाले कर्जाको ब्याजदर बढाउनुपरेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेलले बिहीबार नागरिकलाई बताए। 'लगानीयोग्य पुँजी पर्याप्त नहुँदा बाध्य भएर निक्षेपको ब्याज बढाउनुपरेको हो,' एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले भने, 'निक्षेपको ब्याजदर बढ्दा बैंकको लागत पनि बढेकाले कर्जाको ब्याजदर पनि बढाउनुपरेको हो।

बैंकहरुले कात्तिकपछि मात्र कर्जाको ब्याजदर बढाउन थालेका हुन्। 'दसैंअघि कर्जाको ब्याजदर बढाउनु उचित देखिएन,' संघका पूर्वअध्यक्ष पौडेलले भने, 'दसैंपछि कर्जाको ब्याजदर बढ्न थालेको हो।'

बैंकहरुले मुद्दती बचत खातामा २–३ प्रतिशत ब्याज दिएका थिए। अहिले त्यस्तो ब्याजदर १२ प्रतिशतसम्म पुगेको छ। यसैगरी, कल बचत खातमा ६ प्रतिशत ब्याज दिइरहेका बैंकले अहिले १२ प्रतिशत पुर्‍याएका छन्। 'मुद्दती र कल बचत खातामा निक्षेपको ब्याजदर शतप्रतिशत बढेको छ,' उनले भने, 'यसबीचमा कर्जाको ब्याजदर ५० प्रतिशतले बढ्नु सामान्य कुरा हो।'

साधारण निक्षेप बचत खाताको ब्याजदर नबढेकाले कर्जाको ब्याज त्यत्ति धेरै नबढेको संघका पूर्वअध्यक्ष पौडेलले बताए। 'साधारण बचतको ब्याजदर बढ्ने हो भने कर्जाको ब्याजदर १६–१७ प्रतिशत पुग्नेछ,' उनले भने, 'साधारण निक्षेपको बचत नबढेकोले अहिलेको अवस्थामा बसेको हो। साधारण बचत निक्षेपको ब्याजदर बढ्ने हो भने कर्जाको ब्याज अझै बढनेछ। अहिलेको ब्याजदरलाई बढी भयो भन्न मिल्दैन।'

लगानीयोग्य पुँजी अभाव बैंकहरुले अहिले पनि खेपिरहेको पनि उनले बताए। 'लगानीयोग्य पुँजी सहज भयो भन्न कुरामा म सहमत छैन,' पूर्वअध्यक्ष पौडेलले भने, 'अहिले पनि अभावै छ।'

तर, संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले लगानीयोग्य पुँजीको अभाव विस्तारै कम हुँदै गएको बताए। 'लगानीयोग्य रकमको अभावका कारण पनि कर्जाको ब्याजदर बढेको हो,' नेपाल बंगालादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले भने, 'निक्षेपको ब्याजदर बढेकाले पनि कर्जाको ब्याजदर बढेको हो। लगानीयोग्य पुँजीको अभाव कम हुँदै गएपछि कर्जाको ब्याजदर पनि घट्ने छ।'

उत्पादन क्षेत्रमा जाने कर्जाभन्दा अनुत्पादक क्षेत्रको कर्जाको ब्याजदर बढेको जानकारी उनले दिए । 'अनुत्पादक क्षेत्रको कर्जाको ब्याज सात प्रतिशतबाट ११ प्रतिशतमा पुगेको छ,'  उपाध्यक्ष ढुंगानाले भने, 'अनुत्पादक क्षेत्रलाई डिस्करेज गर्न बैंकले त्यस्तो कर्जाको ब्याजदर बढाएका हुन्।' उत्पादनमूलक क्षेत्रको कर्जा सात प्रतिशतबाट नौ प्रतिशत पुर्‍याएको पनि उनले बताए। 'उत्पादनमूलक क्षेत्रको कर्जाको ब्याजदर सरदर २–३ प्रतिशतले मात्रै बढेको छ,' उनले भने।

निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर बढाउनुपरेको बैंकरहरुले बताएका छन्। बैंकहरुले उच्च दरमा निक्षेप लिएर कम ब्याजमा कर्जा लगानी गर्दा नोक्सानी हुने भएकाले तुरुन्तै एकपछि अर्को गर्दै कर्जाको ब्याज बढाएका हुन्।

महँगो ब्याजदरमा निक्षेप लिएका कारणले पनि बैंकहरु कर्जाको ब्याज बढाउन बाध्य भएको बैंकरहरुको भनाइ छ।

बैंकहरुले पहिले नै सम्झौता भइसकेका उद्योगलाई समेत पत्र पठाएर कर्जाको ब्याजदर बढाएको जानकारी दिन थालेका छन्।

जसका कारण ठूलो पुँजीमा निर्माण भइरहेका औद्योगिक परियोजना अघि बढ्न नसक्ने अवस्था आएको भन्दै उद्योगी, व्यवसायीले यसबाट लगानी घट्ने, रोजगारीका अवसर संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने चेतावनी दिन थालेका छन्।

उद्योगीहरु बैंकले आफ्नो गल्तीको सजाय ऋणीलाई दिएर आफू नाफामात्र कमाउन लागेकोले यसबाट चाँडै अर्थतन्त्रमा बिचलन आउने बताउँछन्। उद्योगीहरु वित्तीय मध्यस्थकर्ता मात्रैको नाफा बढिरहने तर उद्योगको नाफा नबढ्ने अवस्था आउँदा देशमा उत्पादनशील अर्थतन्त्र निर्माण नहुने बताउँछन्।

अघिल्लो वैशाखमा आएको भूकम्प र त्यसपछिको तराई–मधेस आन्दोलनका बेला बैंकिङ प्रणालीमा प्रशस्त रकम थियो। बचतकर्ताले सुरक्षित हुन बैंकमा लगेर पैसा जम्मा गरेका कारण बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी  थियो। त्यसबेला बैंकहरुले बचत खातामा एकदेखि १.५ प्रतिशतसम्म ब्याज दिएका थिए। कर्जाको माग नभएकाले ६ देखि सात प्रतिशत ब्याजमा बैंकहरु कर्जा लगानी गर्थे।

तर, अहिले परिस्थिति उल्टिएको छ। लगानीयोग्य पुँजीको अभाव बैंकलाई छ। यस्तो अवस्थामा ब्याजदर बढाएर उनीहरु निक्षेप तान्ने होडमा छन्। महँगो ब्याजमा लिएको निक्षेप महँगै दरमा लगानी गर्नुपर्दा कर्जाको ब्याजदर बढेको बैंकरहरुको दाबी छ।

ऋणीहरु भने बढ्दा छिटोछिटो ब्याज बढाउने बैंकले घट्दा घटाउन आनाकानी गर्ने बताउँछन्।

पछिल्लो समय जति कर्जा प्रवाह बढी भयो त्यो अनुपातमा निक्षेप भने बढेको देखिएको छैन। यसको मार गाडी किन्ने, ऋण लिएर घर बनाउनेदेखि लिएर ऋण लिएर उद्योग चलाउनेसम्मलाई परेको छ। हिजो कम ब्याजमा कर्जा लिएकाहरु आज बढी ब्याज तिर्न बाध्य छन्। 

सुरुमा नयाँ कर्जाको योजनामा मात्र बढेको ब्याजदर विस्तारै पुरानोमा पनि बढेको छ।

प्रकाशित: २० फाल्गुन २०७३ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App