१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'विकास मुद्दामा पक्ष-विपक्ष बाँडिँदैनौं'

काठमाडौं- आर्थिक विकासका मुद्दामा पक्ष–विपक्ष नहुने भन्दै प्रमुख राजनीतिक दलका नेताले आर्थिक मुद्दामा एकजुट हुने प्रतिबद्धता जनाएका छन्। राजधानीमा बिहीबार सुरु 'नेपाल लगानी सम्मेलन–२०१७' बीच प्रमुख दलका नेताले विदेशी लगानीकर्तासमक्ष आर्थिक समृद्धिमा आफूहरु एकताबद्ध रहेको सन्देश दिएका हुन्।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन मन्तव्यमा राजनीतिक मुद्दा एकतिर राखेर देशको आर्थिक विकास र लगानीका विषयमा एकताबद्ध भएको उद्घोष गरे।

प्रधानमन्त्री दाहालले विगतमा राम्रा–नराम्रा जे–जस्ता अनुभव भए पनि अब देशको आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर अघि बढ्न सरकार तयार रहेको बताए। दिगो शान्तिका लागि आर्थिक समृद्धि जरुरी रहेको उनले औंल्याए।

'आर्थिक विकासबिना दिगो शान्ति हुन सक्दैन', प्रधानमन्त्री दाहालले भने, 'नेपालको आर्थिक विकासमा सघाउन स्वदेशी, विदेशी लगानीकर्तालाई आग्रह गछु।'

'देशविकासमा प्रतिपक्ष भन्ने हुँदैन', सम्मेलनमा नेता ओलीले भने, 'नेकपा एमाले प्रतिपक्ष भएर पनि विकासको काममा सरकारसँग ऐक्यबद्ध छ।' लगानीका लागि सुरक्षित वातावरण दिन आफू तयार रहेको उनले बताए।

त्यस्तै, नेपाली कांग्रेस सभापति देउवाले देशमा शान्ति सम्झौतापछि संविधान पनि जारी भइसकेकाले अब राजनीतिक स्थिरता कायम हुने बताए। उनले विदेशी लगानीकर्तालाई ढुक्कसाथ नेपाल आउन आग्रह पनि गरे।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले यो सम्मेलन आयोजना गर्दैगर्दा राजनीतिक नेताले समृद्ध नेपालको परिकल्पना गरिरहेको बताए। 'तपाईंले लगानी गर्ने विभिन्न क्षेत्र हामीले तयार गरेर राखेका छौं', मन्त्री जोशीले भने, 'सबै राजनीतिक दल समग्र विकासमा एकताबद्ध छौं।'

उनले अब नेपालमा ठूला लगानी हुने र अबको १० वर्षमा कुनै पनि नेपाली युवा विदेश काम गर्न जान नपर्ने दाबीसमेत उनले गरे।

कार्यक्रमका सहभागी भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपाल लगानीका लागि उपयुक्त ठाउँ रहेको बताए। उनले ऊर्जा, कृषि, पर्यटन, सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको स्विकारे।

'नेपालको कनेक्टिभिटी विस्तार गर्न भारत तयार छ', सम्मेलनलाई सम्बोधन गर्दै जेट्लीले भने, 'कृषि, शैक्षिक, मेडिकल, इन्जिनियरिङ लगायत क्षेत्रमा सहयोग गर्न भारत तयार छ।' नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको पनि उनले उल्लेख गरे।

वित्तमन्त्री जेट्लीले नेपालमा संस्कृति तथा धार्मिक पर्यटन क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै नेपालसँग आर्थिक सम्बन्ध मात्र नभई विभिन्न सम्बन्ध रहेको औंल्याए। 'भारत र नेपालबीच आर्थिक सम्बन्ध मात्र छैन', जेट्लीले भने, 'ऐतिहासिक, धार्मिक, सामाजिक, भाषागत सम्बन्ध र समानता पनि छ।'

प्रमुख वक्ताका रुपमा रहेका पूर्वअर्थमन्त्री रामशरण महतले नेपाल निजी र विदेशी लगानीका लागि खुला रहेको बताए। 'नेपाल लगानीका लागि उपयुक्त थलो हो', महतले भने, 'सबै हिसाबले लगानीको प्रतिफल आउँछ।'

सस्तो श्रम, हजारौं इन्जिनियर, उपयुक्त वातावरण, कृषिमा उच्च प्रतिफल, ठूलो सम्भावना भएको जलविद्युत्जस्ता विषयले नेपालमा लगानीको सुरक्षित वातावरण रहेको उनले विश्वस्त पारे।

नेपालका लागि विश्वका ठूला अर्थतन्त्र तथा जनसंख्या भएका देश भारत र चीन ठूला बजार रहेकाले त्यसलाई प्रयोग गर्न सकिने महतको भनाइ थियो। कार्वनरहित उत्पादन भएको 'हिमालयज ब्रान्ड' प्रयोग गरेर बजार विस्तार गर्ने उपयुक्त मौका नेपालसँग रहेको उनले सुनाए।

'सार्वजनिक क्षेत्रको भन्दा निजी क्षेत्रको वृद्धि राम्रो देखिएको छ', अर्थमन्त्री महराले भने, 'कुनै शंकाबिना नेपालमा लगानी गर्न अनुरोध छ।' उनले संविधान घोषणापछि देश आर्थिक सुधारमा लागेको उनले बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विदेशी लगानीका विभिन्न परियोजना नेपालमा सञ्चालनमा रहेको बताए।

सरकारले २५ वर्षपछि बिहीबार र शुक्रबार दुईदिने सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा २५ देशका २ सय ५० भन्दा बढी विदेशी लगानीकर्ताे सहभागी छन्।

उद्योग मन्त्रालय, लगानी बोर्ड र योजना आयोगको संयुक्त सहकार्यमा भएको उक्त सम्मेलनमा मुख्य रुपमा आठ क्षेत्रमा लगानी गर्न आह्वान गरिँदै छ। सम्भावनाका मुख्य आठ क्षेत्रमै केन्द्रित प्रस्तुति र छलफल सम्मेलनमा गरिनेछ। विदेशी लगानी आउन सक्ने भनेर छनोट गरिएका क्षेत्रमा कृषि, बैंकिङ तथा फाइनान्स, ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उत्पादनमूलक क्षेत्र, खनिज तथा खानी, पर्यटन र यातायात क्षेत्र छन्।

प्रकाशित: २० फाल्गुन २०७३ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App