५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

एकैदिन जम्बो चिनियाँ टोलिले गर्यो पोखरामा प्याराग्लाइडिङ

प्यराग्लाईडिङ गर्न पुगेका चिनियाँ पर्यटकको टोली ।

चीनबाट आएको जम्बो टोलीले एकैदिन पोखरामा प्याराग्लाईडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका छन। सामुहिक रुपमा नेपाल घुम्न आएका चिनियाँ टोलीले सामुहिक रुपमा प्याराग्लाइडिङ गरेपछि पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका हुन।

चीनबाट १८१ जनाको टोली नेपाल घुम्न आएका थिए। काठमाडौं ओर्लिएर पोखराको ओपन स्काई टुर्स एण्ड एक्सिपिडिसन प्रालि मार्फत पोखरा घुम्न आएका उनीहरु अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पुगेर बास बसेका थिए। घान्द्रुकबाट पोखरा आईपुगेका उनीहरुले पोखरामा सामुहिक रुपमा प्याराग्लाईडिङ गरेका हुन्। पोखरा आएकामध्ये मंगलबार ८७ जनाले प्याराग्लाइडिङ गरेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए।

चिनीया टोली पोखरा मान्द्रेढुंगाबाट उडेर फेवातालको सिरान क्षेत्र पामेमा झरेका थिए। सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि प्याराग्लाइडिङ गरेका थिए। चिनियाँ टोलिलाई नेपाल हवाई खेलकुद संस्था ‘ना’को अगुवाईमा पोखरा पर्यटन परिषद, होटल संघ पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) गण्डकी, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्ज (नाट्टा) गण्डकी लगायतका संघसंस्थाको आयोजनामा स्वागत कार्यक्रम राखिएको थियो। 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले चिनीयाँ जम्बो टोलीको आगमनले पोखरेली पर्यटनमा आशा जगाएको बताए। चिनियाँँ पर्यटकलाई स्वागत तथा पोखरेली पर्यटन व्यवसायीलाई बधाई दिदै उनले भने, ‘यसले सकारात्मक सन्देश दिएको छ। कोभिड पछिको मन्दि चलिरहँदा तपाईंहरुलाई राहत पनि दिएको छ।’ पोखराबाट नजिक रहेको सराङकोट र तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङको उडान भर्न रोक लगाइएपछि पहिलो पटक प्याराग्लाईडिङ गरेका उनले भने, ‘अहिलेको भन्दा पहिलेकै ठाउँबाट प्याराग्लाईडिङ गर्दा मज्जा हुने रहेछ।’  

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईले चिनियाँ जम्बो टोलीको आगमनले आफूहरुमा उत्साह भरेको बताए। ‘कोभिडको मारले हाम्रो व्यवसाय थलिएको थियो,’ उनले भने, ‘अहिलेको मन्दिले त झन् आहत बनाएका बेला चिनियाँ जम्बो टोलीले एकै दिन प्याराग्लाईडिङ गर्दा हामीलाई राहत मिलेको छ। यसले हामीलाई उत्साहित बनाएको छ।’

प्याराग्लाईडिङ गरेपछि बोल्दै चिनियाँ टोलीका टोली नेता लि जोङले पोखराको सुन्दरताले आफूहरुलाई लोभ्याएको बताए। उनले भने, ‘प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता साँच्चिकै मनमोहक छ। यसले हामीलाई स्वर्गमा पु¥याएको अनुभूति गरायो।’

सो अवसरमा ‘ना’को टोलीले मान्द्रेढुंगास्थित प्याराग्लाईडिङको टेकअफ गर्ने क्षेत्र साँघुरो भएकाले त्यसको बिस्तारमा भूमिका खेलिदिन मुख्यमन्त्री अधिकारीलाई आग्रह गरेका थिए। ‘पुराना चार ठाउँबाट बिस्थापित गरेर अहिले एकठाउँमा सिमित् गरिएको छ। यो सानो ठाउँमा ठूला मात्रामा प्याराग्लाईडिङ गर्न आए भने ठाउँ अभाव हुने अवस्था हुन्छ। त्यसैले यसलाई ठूलो बनाउन नेपाल नागरिक उड्डयन प्राधिरकण (क्यान) सँग पटकपटक आग्रह गर्दापनि सुनुवाई भएको छैन। यसमा मुख्यमन्त्री ज्यूले पनि पहल गरिदिनु पर्यो,’उनीहरुको भनाई थियो।

प्रकाशित: ६ वैशाख २०८० ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App